Comments Add Comment

नारायणकाजी निवासमा ट्राफिकका डीआइजी र यातायातका डीजी

kaji-trafic

२५ असार, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआइजी केशवप्रसाद अधिकारी र यातायत व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाल बुधबार बिहानै एमाओवादी नेता नारयाणकाजी श्रेठको निवासमा पुगे ।

निजी गाडी छाडेर सार्वजनिक यातायात चढ्न थालेका एमाओवादी नेता श्रेष्ठमाथि माइक्रोबसका सहचालकले दुव्र्यवहार गरेपछि यसबारे छलफल गर्न अधिकारी र दाहाल ललितपुरको हात्तीवनस्थित श्रेष्ठ निवासमा पुगेका हुन् । सार्वजनिक सवारीमा यात्रा गर्ने सर्वसाधारण यात्रुहरुमाथि सवारीचालक एवं सहचालकहरुले दुव्र्यवहार गर्ने, अपशब्द प्रयोग गर्ने र कतिपय अवस्थामा हातपात समेत गर्ने गरेको भन्दै पूर्वउपप्रधानमन्त्री श्रेष्ठले सरकारी अधिकारीलाई निवासमै बोलाएर गुनासो सुनाए ।

विहान साढे ८ बजेदेखि करिब डेढघण्टा भएको छलफलमा सार्वजनिक सवारी सञ्चालकहरुले गर्न हुने र नहुने कामबारे ट्राफिक प्रहरीले जनचेतनामूलक पर्चा वितरण गर्ने, माइकिङ गर्ने र सार्वजनिकरुपमा देखिने गरी त्यस्ता कुराहरु टाँस्ने अभियान चलाउने डीआइजी अधिकारीले श्रेष्ठलाई आश्वासन दिएका छन् ।

यात्रुहरुले पनि सवारी सञ्चालकहरुसँग कस्तो व्यवहार गर्ने भन्नेबारे चेतनामूलक अभियान चलाउने डीआइजी अधिकारीलाई उधृत गर्दै स्रोतले अनलाइनखबरलाई बतायो ।

यातायात व्यवस्था विभागका महानिर्देशक दाहालले भने सार्वजनिक यातायातमा आफैंले अनुगमन एवं छड्के जाँच गर्ने श्रेष्ठलाई आश्वस्त पारेका छन् । विभागमा एक महिना अघिमात्रै सुरुवा भएर पुगेका युवा उमेरका महानिर्देशक दाहालले सार्वजनिक सवारीलाई व्यवस्थित एवं मर्यादित बनाउन आफू लागि पर्ने छलफलका क्रममा बताएका छन् ।

काठमाडौंको माइतीघरबाट माइक्रो बस चढेर सातदोबाटोतिर जाने क्रममा नेता श्रेष्ठलाई चार दिनअघि माइक्रोबसका सहचालकले अपशब्द प्रयोग गरेका थिए । आफूमाथि दुव्यवहार गर्ने सहचालकलाई श्रेष्ठले सातदोबाटो प्रहरीसमक्ष जिम्मा लगाएका थिए ।

सार्वजनिक यातायातमा आफूलाई जस्तै अन्य यात्रुहरुलाई पनि दुव्र्यवहार गरिने र पशुलाई जस्तै व्यवहार हुने गरेको भन्दै श्रेष्ठले सरकारी अधिकारीहरुलाई निवासमै बोलाएर यसबारे ध्यानाकर्षण गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment