Comments Add Comment

नेपालीको रोजाइमा ‘इन्ट्रि लेभल’ कार

Entry-Levels-Cars
१९ असोज, काठमाडौं । नेपालीहरुको आर्थिक अवस्थामा सुधार हुँदै जान थालेपछि निजी सवारी प्रयोगकर्ताको संख्या बढ्दै जान थालेको छ । आयस्रोत बढी हुनेहरु कार चढ्न थालेका छन भने कम आयस्रोत हुनेहरु मोटरसाइकलमा चित्त बुझाउने गरेका छन् ।

नेपालमा पनि कारका पारखीहरुको संख्या विस्तारै बढ्दै जान थालेको पाइन्छ । पछिल्लो समय नेपाल प्रतिस्पर्धात्मक रुपमा भित्रिएका विभिन्न ब्रान्डका कारहरुले पनि यसलाई पुष्टि गर्छ ।

कारमा सरर हुँकिने रहर कसलाई पो हुँदैन । तर, रहर हुनेहरु सबैले कहाँ कार चढ्न पाउँछन र । नेपालमा मध्यमवर्गी परिवारको बाहुल्यता भएको हुँदा सस्तो ‘इन्ट्रि लेभल कार’ चढ्नेको संख्या उल्लेख्य रहेको पाइन्छ ।

नेपाली बजारमा १४/१५ लाख रुपैयाँदेखि २४/२५ लाख रुपैयाँसम्मका कारलाई इन्टि्र लेभल कारका रुपमा लिइन्छ । यी कारको बिक्री पछिल्ला वर्षहरुमा बढ्दै गइरहेको व्यवसायी बताउँछन् ।

उपभोक्ताको आकर्षण यस्ता कारमा भएपनि कम्पनीहरु पनि सस्तो र सुविधायूक्त कार भित्राउन प्रतिस्पर्धात्मक रुपमा लागेको पाइन्छ । भदौ १८ देखि २३ गतेसम्म सञ्चालित नाडा अटो शोमा प्रर्दशनीमा राखिएका इन्ट्रि लेभल कारले पनि त्यसको पुष्टि गर्छ ।

नेपालमा कार चढ्ने उपभोक्ताको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको वाषिर्क रुपमा यातायात व्यवस्था विभागमा दर्ता भएका सवारीको संख्याले समेत पुष्टी गर्दछ । बागमती अञ्चलमा मात्र आर्थिक वर्ष २०७०/७१ मा ८ हजार ३ सय ९७ कार, जीप र भ्यान दर्ता भएको देखिन्छ ।

यो संख्या अघिल्लो वर्षको तुलनामा २४.५६ प्रतिशतले धेरै हो । आव ०६९/७० मा बागमतीमा ६ हजार ३ सय ३४ कार, जीप, भ्यान दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांकले देखाउँछ । नेपाली बजारमा अधिकांश ब्रान्डका इन्ट्रि लेभलका कार उपलब्ध छन् ।

हुन्डाईको इओएन देखि ग्रान्ड आइ १० सम्म, मारुती सुजुकीको अल्टो देखि एस्टारसम्म, होन्डाको अमेज सिरिज, फोर्डको फिगो सिरिज, टाटाको इन्डिका देखि इन्डिगो, फियाट पुन्टो १.२ पेट्रोल एक्टीभ लगायतका गाडिलाई इन्ट्रि लेभल कारका रुपमा लिइन्छ ।

यी कारको मूल्य नेपाली बजारमा १४ देखि २५ लाख रुपैयाँसम्म रहेको छ । अन्य कम्पनीका पनि यो सेगमेन्टका कारहरु नेपाली बजारमा उपलब्ध रहेका छन् । केही दिन अगाडी डाटचन इन्ट्रि लेभल कारसहित नेपाली बजारमा प्रवेश गरेको छ ।

मोटरसाइकल छाडेर कार चढ्ने अधिकांशले इन्ट्रि लेभल रोज्ने गरेको व्यवसायीहरु बताउँछन् । नेपाली बजारमा पनि यहि सेगमेन्टका गाडिहरुको बिक्री उच्च रहेको छ ।

यस सेगमेन्टका कारको बिक्री बढ्नुमा बैंकले सहज रुपमा सवारी लोन उपलब्ध गराउनु र त्यसको व्याजदर समेत विगतको तुलनामा निक्कै सस्तो हुनु र रेमिट्यान्सको आप्रवाह बढ्नु रहेको छ ।

हाल बैंक तथा वित्तीय संस्थाले सवारी लोन ८ देखि ९ प्रतिशतमै उपलब्ध गराउँदै आएका छन् । यसले पनि मोटरसाइकल चढ्दै आएका र आयस्तर सामान्य भन्दा अलि बढी भएकाहरुले इन्ट्रि लेभलका कार खरिद गर्ने गरेका छन् ।

नेपाली बजारमा बिक्री हुने कारमध्ये इन्ट्रि लेभलका कार ५० देखि ६० प्रतिशत रहने गरेको लक्ष्मी इन्टरकन्टिनेन्टलका निर्देशक अञ्जन श्रेष्ठ बताउँछन् । जबकी महगा कार (एक करोड रुपैयाँ माथिका) चढ्नेको संख्या ५ प्रतिशतभन्दा कम रहेको बताइन्छ ।

इन्टि्र लेभलका कार धेरै बिक्री हुनुमा यसको बिक्री पछिको सेवा राम्रो र स्पेयर पार्टस् सस्तो हुनुलाई नै आधार मानिन्छ । बैंकको लोन सहज हुनु, व्याजदर काम हुनु, सहरी क्षेत्रको सडक फराकिलो हुनु र हरेकमा कार चढ्ने चाहना हुनु, पार्किङ सहज रुपमा गर्न सकिनु, सेवा-सुविधाहरु थपिनु लगायतका कारण इन्ट्रि लेभलका कार धेरैको रोजाइमा पर्न सफल भएको व्यवसायी बताउँछन् ।

कार सीसी मूल्य (रूपैयाँमा)
हुन्डाई इओएन डिलाइट प्लस १६ लाख ५६ हजार
हुन्डाई ग्रान्ड आइटेन २३ लाख ९६ हजार
मारुती सुजुकी अल्टो ८०० १५ लाख ९९ हजार
मारुती सेलेरियो १०० २३ लाख ९९ हजार
मारुती न्यु वागनआर भीएक्सआइ १००० २० लाख ९९ हजार
टाटा इन्डिका एलएस एनए १४०५ १८ लाख ७० हजार
टाटा इन्डिगो इसीएस जीभीएक्स ११९३ २४ लाख २० हजार
फोर्ड फिगो पेट्रोल एलएक्सआइ ११९६ १९ लाख ५० हजार
फोर्ड फिगो डिजल इएक्सआइ १३९९ २४ लाख ९९ हजार
फियाट पुन्टो १.२ पेट्रोल एक्टीभ २३ लाख ७१ हजार ९ सय ९९
डाटचन ‘गो’ १२०० १९ लाख ७० हजार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment