Comments Add Comment

विवाह गर्ने मंसिरमा सुनको भाउ ओरालो लाग्दै

Gold-Shop

१३ मंसिर, काठमाडौं । यस हप्ता सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । आइतबार तोलाको ५१ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुन शुक्रबार ५० हजार ८ सय रुपैयाँमा किनबेच हुन पुग्यो ।

विवाहको मंसिर मासमा ओरालो लागेको सुनले विवाह बन्धनमा बाँधिन लागेका युवा युवतीलाई राहत हुने देखिएको छ ।

गत हप्ता करिव स्थिर रहेको सुनको भाउ यस हप्ता पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसो हुनुमा यूरो बाहेक अन्य मुद्राहरुको तुलनामा डलर मजबुद रहनु प्रमुख कारण रहेको महासंघको ठहर छ ।

डलरको अधिमूल्यन कायम रहेसँगै शेयर बजार उकालो लाग्दा सुनको मागमा लगातार कमी आउन थालेको छ । यद्यपि यो सिजन प्रमुख एशियाली राष्ट्रहरुमा चाडबाड र विवाह सिजन पर्ने हुँदा मागमा सुधार हुनुपर्ने हो ।

सुनसँग प्रायः समानान्तर सम्बन्ध रहने तेलको मूल्य चार वर्षयताकै न्यून बिन्दुमा पुग्नु, तेलको भाउ सुधार गर्न उत्पादन घटाउने सम्बन्धमा ओपेक राष्ट्रहरु सहमतिमा पुग्न नसक्नु लगायतका कारण पनि सुनको मूल्यमा गिरावट देखा परेको व्यवसायी बताउँछन् ।

यो हप्ता अमेरिकी आर्थिक सुचकांक मिश्रति प्रकारको रहेको र रसियाको केन्द्रीय बैंकले रुबलको थप अवमूल्यनबाट जोगिन सुनको स्टक थप बढाएको अवस्थामा पनि सुनको माग नबढेको व्यवसायीको विश्लेषण छ । साथै जापानी केन्द्रीय बैंकले आर्थिक मन्दी न्यूनीकरण गर्न येनको अवमूल्यन गरे गरेको छ । यद्यपि सुनको भाउमा सुधार आउन नसकेको महासंघको ठहर छ ।

साताभरको सुनचाँदीको भाउ

बार सुन(प्रतितोला) चाँदी(प्रतितोला)
आइतबार रु.५१,३०० रु. ७१०
सोमबार रु.५१,२०० रु. ७१०
मंगलबार रु.५१,२०० रु. ७१५
बुधबार रु.५१,२०० रु. ७१५
बिहीबार रु.५१,००० रु. ७०५
शुक्रबार रु.५०,८०० रु. ७००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment