
८ साउन, काठमाडौं । केही महिना अघिसम्म मार्सी चामलबारे धरै कमलाई थाहा थियो । राजधानीमा यसको खपत त झन् नगन्य थियो ।
तर, अहिले मार्सी चामल खोज्दै राजधानीका पसल तथा डिपार्टमेन्टल स्टोर धाउनेहरु ह्वात्तै बढेका छन् ।
मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईलाई प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई खुवाएपछि शहरमा ‘मार्सी चामल’ एकाएक हिट भयो ।
डा. गोविन्द केसी अनसनमा बसेपछि त उनको पक्षमा भाषण गर्ने जो कोही पनि मार्सी चामललाई छुटाउँदैनन् ।
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डमाथि मार्सी चामलको बिम्ब प्रयोग गरेर समाजिक सञ्जालमा थुप्रै टिप्पणी भएका छन् ।
सञ्चारमाध्यमममा कार्टुनहरु छापिएका छन् । नकारात्मक शैलीमा नै भए पनि मार्सी चामलको गज्जब ब्रान्डिङ हुन गयो । अनि धेरैलाई लाग्यो, आखिर कस्तो हुन्छ त यति चर्चित मार्सी चामलको भात ?
यही कौतहलताको मेटाउन अहिले बजारमा मार्सी चामल खोज्नेहरु प्रशस्तै भेटिन थालेका छन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भने मार्सी चामलको भात बासमती जस्तो मिठो नहुने बताएका छन् ।
पसलदेखि डिमार्टमेन्ट स्टोरसम्म खोजी
बजारमा मार्सी चामलको बहस भएपछि भाटभटेनी सपुर मार्केटले जुम्लाबाट मार्सी चामल मगाएको छ । भाटभटेनीको किराना विभागकी पुष्पा थापाका अनुसार करिब १० टन मार्सी चामल काठमाडौं आइपुग्दैछ ।
मार्सी चामल खोज्दै आउने ग्राहकको संख्या अत्यधिक भएपछि जुम्लाबाटै मगाइएको बताउँछिन् उनी। ‘नियमित ग्राहकबाटै धेरै माग भएपछि भाटभटेनीलाई मार्सी चामल नराखी सुखै भएन’ उनले भनिन् ।
उनकाअनुसार हाल मार्सी चामलको मूल्य २१५ रुपैयाँ प्रतिकेजी छ ।
बिग मार्टले भने पहिलेदेखि नै मार्सी चामल बेच्दै आएको छ । बिग मार्टका खरिद प्रवन्धक मिलन बुढाथोकी पछिल्लो समयमा खुद्रा रुपमा मार्सी चामल खोज्नेहरु निकै बढेको बताउँछन् ।
एकैपटक ठूलो परिमाणमा लैजानेहरुको संख्या भने ठूलो छैन । ‘यो चामल स्वास्थ्यलाई बढी माया गर्नेहरुले किन्ने गरेका थिए । अहिले भने जसले पनि एक-दुई केजी लगिरहेका छन्,’ बुढाथोकीले भने ।
मूल्य बढ्ने अवस्था
पछिल्ला दिनमा खुद्रा ग्राहकहरुको चासो मार्सी चामलमा बढेपछि अब मूल्य पनि बढ्न थालेको छ । बिगमार्टमा २१० रुपैयाँ देखि २३५ रुपैयाँ प्रतिकेजीसम्म फरक-फरक किसिमका मार्सी चामलहरु बिक्री हुन्छन् । यो चामलको माग बढेकाले अब मूल्य यो भन्दा महंगिन सुरु गरेको उनले बताए ।
बिगमार्टमा २१० रुपैयाँ देखि २३५ रुपैयाँ प्रतिकेजीसम्म फरक-फरक किसिमका मार्सी चामलहरु बिक्री हुन्छन् । यो चामलको माग बढेकाले अब मूल्य यो भन्दा महंगिन सुरु गरेको उनले बताए ।
ठूला मार्टहरुमा मात्रै हैन, खुद्रा पसलहरुमा पनि मार्सी चामल खोज्नेहरुको संख्या ठूलै छ । तर, जूम्लाबाट मगाएर बेच्न सजिलो छैन ।
केही अर्ग्यानिक उत्पादन बेच्ने खुद्रा पसलहरुले पनि मार्सी चामल बेचिरहेका छन् ।
तर, महंगो हुने भएकाले ठूलो परिमाणमा बिक्री नहुने भएकाले खुद्रा पसलहरुमा मार्सी राख्न नसकिएको खुद्रा ब्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले बताए ।
‘मार्सी धानको चामल पहिल्यैदेखि धनाढ्यले खाने भनेर चर्चा हुन्थ्यो । स्वादिलो र सस्तो हुने अरु चामलको प्रयोगमा ब्यापकता आएपछि मार्सी बिक्नै छाड्यो’ उनी भन्छन्, ‘अहिले चर्चाका कारण खोज्न आउनेहरु छन् ।’
बजारमा अहिले जीरा मसिनो, बास्मति, पोखरेली, मन्सुली लगायतका चामलको माग बढी हुन्छ । एकाएक ब्रान्डिङ भएको मार्सीको धान उत्पादन जुम्लामा निकै सीमित मात्रामा हुन्छ ।
मार्सी चामलको विशेषता
मार्सी चामल पौष्टिकताले भरिपूर्ण मानिन्छ । जुम्ला लगायतको उच्च भूभागमा झण्डै ८ महिना समय लिएर उत्पादन हुने धान हो, मार्सी । यो रातो चामलको विभिन्न प्रजातिमध्ये एक हो ।
अत्यधिक चिसो हुने क्षेत्रमा फल्ने भएकाले यो प्रांगारिक रुपमै उत्पादन हुन्छ । बीउ राखेको समयदेखि गणना गर्ने हो भने किसानले १० महिना मिहिनेत गरेपछि मार्सी धान भित्र्याउन सक्छन् ।
यो धानको चामलमा फाइबरको मात्र बढी हुने भएकाले सुगर र प्रेसरका बिरामीका लागि यो उपयोगी मानिन्छ । आइरन, स्टार्च लगायतका पौष्टिक तत्व पनि सन्तुलित मात्रामा हुन्छ ।
स्वादका हिसावले पनि स्वास्थ्यका हिसाबले यो निकै महत्वपूर्ण मानिने बिगमार्टका बिक्री प्रवन्धक बुढाथोकी बताउँछन् ।
यसको भात ढिँडोजस्तै आडिलो खान्कीमा पनि गनिन्छ । ढुवानी भाडा महंगो हुने भएकाले जुम्ला र काठमाडौंमा यसको मूल्य किलोमै सय रुपैयाँ भन्दा बढी फरक पर्ने दाबी विक्रेताहरुको छ । बिचौलियाहरुका कारण पनि काठमाडौंमा मार्सी चामलको मूल्यमा एकपरुपता छैन ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4