Comments Add Comment

कसले रोक्यो १० देशमा राजदूत पठाउन ?

१३ पुस, काठमाडौं । सार्क सम्मेलनमा काठमाडौं आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लामो समयदेखि नयाँ दिल्लीमा नेपाली राजदूत नपठाएकोमा नेपालका प्रधानमन्त्री र शीर्ष नेताहरुसँगको भेटमा कुटनीतिक असन्तुष्टि प्रकट गरेका थिए ।

mahendra-pandeyनेपाली पक्षले तत्कालै भारतमा राजदूत पठाउने आश्वासन दिए पनि भारत लगायत कुटनीतिक दृष्टिले महत्वपूर्ण मानिने अमेरिका, बेलायत लगायत १० मुलुकमा राजदूत पठाउन अहिलेसम्म कुनै प्रक्रिया नै शुरु भएको छैन ।

सार्क सम्मेलनलगत्तै दश मुलुकमा राजदूत नियुक्ति गरिने भने पनि यसको गृहकार्य समेत शुरु नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । ६ जना सहसचिवलाई राजदूत बनाइसकेपछि बाँकी १० राजदूत राजनीतिक नियुक्तिबाट पठाउने समझदारी कांग्रेस र एमालेले गरेका छन् ।

कांग्रेस एमालेबीच भागबण्डा नमिलेका कारण प्रक्रिया अघि नबढेको स्रोतको दावी छ । तर परराष्ट्रमन्त्री महेन्द्रवहादुर पाण्डे भने प्रधानमन्त्रीसहित शीर्षनेताहरु संविधानमा सहमति जुटाउन व्यस्त भएकाले राजदूत नियुक्तिको एजेण्डाले प्राथमिकता नपाएको बताउँछन् ।

मन्त्री पाण्डेले राजदूत नियुक्तिको मापदण्ड बनाएर आफूले दिइसकेको भन्दै दलहरुले सहमति गरे राजदूत नियुक्तिमा कुनै अड्चन नरहेको बताए । ‘मैले चाहेर मात्र नहुँदो रहेछ’ पाण्डेले भने ।

राजदूत कहाँ खाली ?

भारत, अमेरिका, बेलायत, जर्मनी, इजिप्ट, कतार, श्रीलंका, ब्राजिलमा, बहराइन र ओमानमा राजदूत खाली छन् ।
एमाले र कांग्रेसबीच भागबण्डाको कुरा मिल्नासाथ महिला, जनजाति र मधेशी समेत मिलाएर राजदूत नियुक्त गरिने परराष्ट्र स्रोतले जनाएको छ ।

यसअघि अन्य ६ मुलुकमा राजदूत सिफारिस भइसकेका छन् । बैंककमा खगनाथ अधिकारी, फ्रान्समा अम्बिका लुइँटेल, दक्षिण अफि्रकामा अमृत राई, क्यानाडामा कालिप्रसाद पोखरेल, कुवेतमा यज्ञ हमाल र जेनेभामा दीपक धिताल सिफारिस भएका थिए ।

यीमध्ये केहीको एगि्रमो आएर गइसकेका छन् भने केही एगि्रमोको पर्खाइमा छन् ।

भागबण्डा किन मिलेन ?

स्रोतका अनुसार प्रधानमन्त्रीले भारत, अमेरिका र बेलायतमा कांग्रेसको कोटाबाट नियुक्त गर्न खोजेका छन् । उनले एमालेलाई तीन र कांग्रेसलाई सात राजदूत बाँड्ने प्रस्ताव राखेपछि एमालेले ठाडै अस्वीकार गरेको एमालेका एक नेताले अनलाइनखबरलाई बताए ।

परराष्ट्र मन्त्रालयको जिम्मेवारी एमालेका महेन्द्रवहादुर पाण्डेले लिएको बेला एमालेले आधा-आधा भन्दा तल र्झन नसक्ने स्पष्ट सन्देश प्रधानमन्त्रीलाई दिएको एक एमाले पदाधिकारीले बताए ।

भारत कांग्रेसले पाउने हो भने अमेरिका वा बेलायत आफूले पाउनुपर्ने एमालेले अडान लिएको छ । ‘पाँच-पाँच जना बाँड्ने प्रस्ताव कांग्रेसले नमानेकाले कुरा अघि बढेन’ उनले भने ।

क-कसको दौडधूप ?

राजदूत बन्नका लागि दुबै दलका शीर्षनेताका निवासमा पूर्वप्रशासक, पूर्वसुरक्षा अधिकारी तथा ‘विदेश मामिला विज्ञ’ र आफ्नै कार्यकर्ताको भीड लागेकाले दलहरु आफैं पनि अप्ठेरोमा छन् ।

हरेक बिहान आफूलाई राजदूतका लागि योग्य सावित गर्न बिभिन्न सूत्र लगाउँदै दाबेदारहरु नेताकोमा घरदैलो गरिरहेका छन् ।

स्रोतका अनुसार भारतको राजदूत कांग्रेसले नछाड्ने भएको छ । प्रधानमन्त्री कोइरालाले कांग्रेस नेता दिपकुमार उपाध्यायलाई दिल्लीको दूत बनाउने आश्वासन दिइसकेको बताइएको छ ।

उपाध्याय गत संविधानसभा निर्वाचनमा कपिलबस्तु १ मा पराजित भएका थिए । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई पनि राजदूत बन्न प्रयत्न गरिरहेका छन् ।

कांग्रेस कोटाबाट पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य, पूर्व सचिव उमेशकान्त मैनाली शम्भुराम सिंखडा, पूर्व राजदूत सुरेश चालिसे लगायतले राजदूत बन्नका लागि घरदैलो गरिरहेको बुझिएको छ ।

त्यसो त प्रधानमन्त्रीकी जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, कांग्रेस नेता मधु आचार्य पनि कांग्रेसबाट राजदूतको दाबी गरिरहेका छन् ।

एमालेको कोटाबाट पूर्व सचिव गोविन्द कुसुम, आएनजीओकर्मी अर्जुन कार्की, प्राध्यापक चैतन्य शर्मा, अन्जान शाक्य, नारद वाग्ले लगायतको नाममा छलफल भइरहेको स्रोतले जनाएको छ ।

त्यस्तै ओलीनिकट एमाले नेता कैलाश ढुंगेल, माधव नेपालनिकट रवीन्द्र अधिकारी र झलनाथ खनाल प्रधानमन्त्री हुँदाका विदेश मामिला सल्लाहकार डा. मिलन तुलाधरको नाम पनि छलफलमा छ ।

माओवादी को-को छन् ?

हाल एमाओवादी कोटाका राजदूतहरु चीनमा महेश मास्के, दक्षिण कोरियामा कमानसिंह लामा, बेल्जियममा राममणि पोखरेल र रुसमा रवि सापकोटा छन् ।

एमाले कोटाबाट राजदूत बनेकामा साउदी अरेबियामा उदयराज पाण्डे छन् । कांग्रेसको कोटाबाट भने अहिले कुनै पनि देशमा राजदूत छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment