११ माघ, काठमाडौं । विपक्षीहरुको नाराबाजीका वीच संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानका विवादित विषयमा प्रश्नावली बनाउन ‘प्रस्ताव निर्माण समिति’ गठन गरेका छन् ।
आइतबारको बैठक सुरु हुनासाथ एमाओवादी, मधेसवादीसहितका १९ दलका सभासदहरुले नाराबाजी सुरु गरे । तर, नाराबाजीका बीच सभाध्यक्ष नेम्वाङ आफैंले प्रश्नावली समिति गठनको प्रस्ताव पेश गरे ।
कांग्रेसका प्रमुख सचेतकले प्रस्ताव पेश गर्ने कार्यसूचीलाई लिएर दलहरुबीच विवाद देखिएको भन्दै उनले आफूले प्रक्रिया पनि अघि बढ्ने र सहमतिका लागि दलहरुलाई पर्याप्त समय दिन उपाय खोजेको बताए ।
बैठकमा उनले यसअघिको कार्यसूची हटाएको घोषणा गरे । साथै प्रस्ताव समिति गठनको प्रस्ताव आफैंले पेश गरे ।
प्रस्तावलाई विपक्षीको नाराबाजीका बीच समिति गठनको प्रस्ताव बहुमतले पारित गरेको छ । ७३ सदस्यीय समितिमा हाल ४९ जना मात्र छन् । अन्य दलहरुसँग नाम मागिएको छ ।
संविधासभा अध्यक्ष नेम्वाङले आफ्नो प्रतिवद्धता अनुसार दलहरुलाई सहमतिका लागि पाँच दिन समय दिने गरी प्रस्ताव निर्माण समितिको बैठक बस्ने ब्यवस्था मिलाएको जानकारी दिए ।
समितिको समयावधी काम सुरु गरेको ५ दिनको हुनेछ भने कार्यविधि आफैंले बनाउनेछ ।