Comments Add Comment

त्यो अविस्मरणीय रात !

ढाडमा टेकेर टाउकोमा हान्ने योजनाको संघारमा थियौं । कतै केही नभए जस्तो सुनसान, कतै केही हराएजस्तो । पार्टी फौजी योजनाको तयारीमा थियो । कतै राजनीतिक प्रशिक्षण त कतै फौजी प्रशिक्षण । संगठन निर्माण र विस्तारमा तीब्र रुपमा जुटेको अवस्थाले पनि जनतामा कौतुहल छाएको प्रष्ट बुझिन्थ्यो ।

हामी हाम्रो नियमित संगठनात्मक प्रचार, प्रसार, व्यवस्थापन आदिमा जुटेका थियौं । म नवलपरासीको तराई, जहाँ राजनीतिक प्रतिकुलताले गाँजेको ठाउँमा कर्म थलो बनाएकी थिएँ । यहाँ टिक्न र काम गर्न निकै कठिनाइ थियो । त्यसैको वीचबाट अनुकुल परिस्थितिको खोजी गर्दै हामीले हाम्रा गतिविधि सञ्चालन गर्थ्यौं ।

जिल्लाको पहाडि भुभागमा प्रतिरोध सांस्कृतिक परिवारले अभियान सञ्चालन गरेको थियो । जुन सांस्कृतिक परिवार पश्चिमको थियो र टिमको नेतृत्व मोहनलाल चन्द (क.आधार) ले गर्नुभएको थियो । त्यो सांस्कृतिक परिवार लामो समय हाम्रो भूगोलमा काम गरेकाले उहाँहरु प्रत्येकलाई पश्चिम फर्कदा एउटा स्लीपिङ ब्याग र वान पोलर झोला उपहार दिने हाम्रो जिल्ला पार्टीले निर्णय गरेको थियो । किनकि पश्चिममा राम्रो बजार थिएन । उपयुक्त सामान पाउन सकिँदैनथ्यो । त्यो सामान किन्ने र सांस्कृतिक परिवार भएको ठाउँसम्म लैजाने जिम्मा मेरो भागमा परेको थियो ।

मैले फोनको घण्टी बजाएँ, बुटवल भैरव ब्याग हाउसका व्यापारीलाई । सय थान झोला र सय थान स्लिपिङ व्याग नवलपरासीको चोरमारामा पठाइदिन अनुरोध गरे, उहाँले पनि निश्चित समय र सम्बन्धित स्थानमा पठाइदिने आश्वासन दिनुभयोे । म दुश्मनको आँखाको तारो बनेकाले सुरक्षाका कारण मुख्य सडकमा जाने अवस्था थिएन । सम्बन्धित स्थानमा सम्पर्क जोड्दा सामान आएको खवर कतैबाट पाइएन ।

हामी झ्यालबासमा थियौं । साँझ पर्न लाग्दा पनि खबर नआएपछि सुस्मा खनाल र म सामानको खोजी गर्न चोरमारा लाग्यौं । जब हामी चोरमारा पुग्यौं, दुईवटा पोका प्रतिक्षालयको छेउमा पल्टिरहेका थिए । हामी दुई दिदीबहिनी मूर्छा परेर हाँस्न थाल्यौं ।

दिनभर त्यत्रो महङ्गो सामान नत सेनाले लग्यो, न त कुनै पसलेले, न त कोही व्यक्तिले । जुन पसलमा सम्पर्क दिएका थियौं, त्यहाँ नपुर्‍याई गाडीले सडकको छेउमा छाडेर हिँडेकाले कसैले पत्तो नपाएको रहेछ । यो घटनाले कैयौं दिनसम्म हामीलाई रोमाञ्चित बनायो ।

सांस्कृतिक टोली नवलपरासीको पहाडी भूभाग माझगाउँमा थियो । टोलीको विदाइ जिल्ला इञ्चार्ज हरिहर बुढाथोकी ( विन्दु माइला) दाइ र केन्द्रीय सदस्य दिपेन्द्र पुन (क.सिजल) ले गर्नुभएको थियो । विभिन्न सांस्कृतिक गीत र नृत्यसहितको विदाइसँगसँगै तनहुँमा राजनीतिक प्रशिक्षणको आयोजना गरिएको थियो । हामी सबै त्यतै जान हानियौं । दुई

दिनदेखि लगातार झरी परिरहेको थियो । लगातारको पानीले वीचवीचमा पैह्रो, बाढीले खोला सुसाइरहेका थिए । असारको महिना, पहाडी बाटो, हाम्रो निम्ति प्रतिकुलता नै प्रतिकुलता थियो र पनि हामी बिहान खाना खाएर बाटो लागेको टोली निरन्तर हिँडिरहेको थियो । सबै साथीहरु पानीले भिजेर लुगलुग कामिरहेको प्रष्ट देखिन्थ्यो ।

हामी नयाँ नेपालको सुन्दर सपना बोकेर यो यात्रामा निरन्तर लागिरहेका हुन्थ्यौं । कलाकारका साथमा भएकाले प्राकृतिक प्रतिकुलताका वीचमा पनि हाँस्दै रमाउँदै बाटो काटिरहेका हुन्थ्यौं । जब जब खोला तर्न लाग्थ्यौं, मेरो अनुहार मलीन हुन्थ्यो । पानी देखेर असाध्यै डर लाग्थ्यो । नभन्दै साढे चार बजेतिर डेडगाउँको नजिक पुग्न खोला तर्न लाग्दा मलाई खोलाले बगायो । दिपेन्द्र पुन (सिजल) दाइको आन्तरिक दुर्घटनामा एउटा हात गुमेको थियो । उहाँले मलाई बचाउनसक्ने कुरै भएन । जिल्ला इन्चार्ज हरिहर बुढाथोकी (बिन्दु माइला) दाईले मलाई खोलाबाट निकाल्नुभयो ।

म अलास तलास भइसकेकी थिएँ । पानी छदाउने सबै प्रक्रिया पूरा गरेपछि र अलि ठीक भएँ । पुनः रमाइलो गर्दै बाटो लाग्यौं । लखतरान पर्दै साँझ डेडगाउँमा बास बस्यौं ।

भोलिपल्ट पनि पानी परिरहेको थियो । हामीले चियापछि यात्रा बिहानको शुरु गर्‍यौं । खाना खाने समयमा करिब ११ बजेतिर तनहँुको प्रशिक्षण हलमा पुग्यौं । ढाडमा टेकेर टाउकोमा हान्ने नयाँ योजनाका निम्ति तयारी रहन नेतृत्वको सारगर्भित मन्तव्यले हल नै जुरुक–जुरुक भयो ।

गण्डकको प्रायः नेतृत्व पंक्तिको केन्द्रीकरणले जिल्लामा शून्यता छाएको थियो । त्यसैले मुख्य प्रशिक्षण सकिएपछि नेतृत्वको निर्देशनअनुसार नै सुस्मा खनाल, म र पूर्णा भुसाल जिल्ला फर्कियौं । हामीले फरक बाटो अपनाउने निधो गर्‍यौं । किनकि खोलाको बाटो तर्ने आँट थिएन हामीसँग ।

साँझ डेडगाउँमै बास बस्यौं र भोलिपल्ट धवादीको बाटो झर्ने निधो गर्‍यौं । हामी जुन गाउँमा बास बसेका थियौं, त्यही गाउँबाट बाबुराम खनाललाई गिरफ्तार गरेको रहेछ । पूर्णाले त्यो घर चिनाइन् । बाबुराम काकाको हत्या निकै दर्दनाक तरिकाले भएको थियो । मात्र मलाई कुन घरबाट दुष्टहरुको आँखा लागेको थियो, थाहा थिएन ।

एउटा बुढो मान्छेलाई गिरफ्तारपछि खसी काट्न तताएको पानीमा चोपल्ने, निकाल्ने, अनि कुट्ने गर्दै अन्तिममा त्यो छियाछिया परेको शरीर गोली हानी अत्यन्तै क्रुरतापूर्वक ०६१ साल बैसाख २६ गते बाबुराम काकाको आलो रगत बगेको ठाउँमा आइपुगेको रहेछु म ।

त्यतिमात्र होइन, बाबुरामकी छोरी गायत्रीको पनि सोही दिन नवलपरासीकै रजहरको बरटाँडीमा सामुहिक बलात्कार गरी हत्या गरिएको रहेछ । त्यो निरन्तरको झरीमा पनि ममा बाफ उम्लिरहेको थियो । निर्दोष मानिसहरुको हत्या गरेर फुली बढाउने कायरहरु सम्झँदै घृणा जागिरहेको थियो । मानसपटलमा सहयात्री गायत्री खनाल र काका बाबुराम नाचिरहनुभएको थियो ।

काकाले कहिल्यै गायत्री र मलाई फरक देख्नुभएन । सामान किनिदिँदा, खानेकुरा किनिदिँदा आफ्नै सन्तानजस्तो गर्नु भयो । काकाको दाहसंस्कार गरेको ठाउँमा पुग्दा अनायासै आँखाबाट आँशु खसे ।

राजनीतिमा तातेताते गराउनुभएका मेरा गुरु । मेरो साथीका बुवा । मलाई उहाँ कहिल्यै परिवारभन्दा फरक लागेन । उहाँको रगतले लत्पतिएको बाटो छिचोल्दा उहाँप्रतिको सम्मानमा झन बृद्धि हुँदै गयो । बाटो काटिरहँदा म चुपचाप थिएँ । तर, उहाँको सम्झनामा मनभित्र भावनाका छालहरु उर्लिए बाटोभरि ।

काका ! तपाईको हत्याको खबरले विक्षिप्त मेरो मनले हजुरको दाहसंस्कार गरेको स्थलमा आइपुग्दा आफूलाई सम्हाल्न निकै कठिन महशुस ग¥यो ! यातना र हत्याको पनि प्रकृति हुँदोरहेछ, ड्याङ्ग गोली लागेर मर्नु र यातनाले तड्पिई तड्पिई मर्नु । दुष्टहरुको कायरताको सबै प्रकारको परीक्षामा आफूलाई अब्बल दर्जाका रुपमा उभ्याएर सर्वोत्कृष्ट अमर शहिद बन्नुभएकोमा गर्वको शब्द नै भएन मसँग ! श्रद्धाले शीर झुक्यो !

करिब ६ वर्ष अगाडि कव्जा गरिएको लालपूर्जा वितरण अभियानमा जौवारीकी एउटी भीममाया मगरसँग मित लगाएकी थिएँ । त्यतिबेला संगठन निर्माणमा सहज हुने हुनाले मित लगाउने चलन नै थियो । मैले पनि त्यही चलन अपनाएँ ।

राजनीतिक फाइदाका लागि, विशेष गरी सेल्टर लिन सजिलो हुने र संगठनात्मक गतिविधि सञ्चालनामा यस्ता सम्बन्धले सहज तुल्याउने हुनाले यस्ता सम्बन्ध गाँस्ने गरिन्थ्यो । तर, यो ६ बर्षको अन्तरालमा मितिनीसँग कहिल्यै भेट भएको थिएन । यसपटक उहाँको घरमा खाना खाने योजना बनाएर गयौं ।

डेढगाउँबाट हिँडेको साँझ मुन्डेमा मितिनी दाइकोमा बास बस्यौं । मितिनी उच्च शिक्षा अध्ययनका लागि शहर पसेकी रहिछन् । हामीले भोलिपल्ट खाना खाइवरि मोटरबाटो भएर तराई झर्ने योजना बनायौं ।

पानी रोकिएको थिएन । पहाडी भूभाग, मोटरबाटो भए पनि निरन्तरको झरीले गाडी चल्दैनथ्यो । तर, हामीलाई खोला तर्ने झञ्झट नहुने हुनाले हामीले यही बोटो रोज्यौं । दिनभरि हिँडेर साँझ धवादी पुग्यौं ।

लगातारको रुझाइले बिरामीजस्तै बनेका थियौं । त्यसैले पूर्णालाई अलि ठूलो घरमा बास बसाउन आग्रह गर्‍यौं किनकी सुत्नेबेला ओढ्ने पाइएला भनेर । हुन पनि पूर्णाले धवादीमा नै सबैभन्दा ठूलो घर रोजेर लगिन् । साँझ उसिनेको मकै र फर्सीका छिप्पिएका ठूला पातमा नुन र बेसार हालेर उसिनेको खान दिए । बर्षातले होला, दुबै खानेकुरा खान निकै कठिन भयो । तर, माओवादी आदर्शलाई पछ्याएका अनुयायीहरुले जनताले दिएको खानाको सम्मान गर्दै हार्दिकताका साथ खायौं ।

राति परिवारका सबै सदस्यहरुसहित हामी घरको आँटीमा गयौं । हामीलाई दुईवटा गुन्द्री दिइएको थियो । मलाई हप्तांैको झरी र हिँडाइले ज्वरो आइसकेको थियो ।

ओढ्नेविनाको रात निकै कष्टप्रद बन्दै थियो । करिब १० बजेतिर राति सिटामोल खान उठेको त मेरो नजिकै एउटा गुन्द्री र सिरक खाली देखें । उनीहरुले त्यो सिरक आफ्नो छोरालाई राखिदिएका थिए । छोरो दोहोरी गाउन पल्लो गाउँ गएको थियो ।

खाली सिरक देखेपछि मेरो मनले मानेन, साथीहरुलाई सोधें त्यो सिरक ओढेर सुतौं ? दुबै साथी तयार भएनन् । मैले चाहिँ आज तातोमा सुतिहालौं, भोलि गाली गरे सहौंला भनें । उनीहरु तयार भएनन् । मैले सिरक तानेर ओढें ।

त्यसको आधा घण्टापछि पूर्णा पनि मसँगै लुपुक्क टाँस्सिन आइन् । हामी दुबैजना सिरकमा सुत्यौं । सुस्मा चिसोमा । मनले के मान्थ्यो । एकछिन पछि सुस्मा पनि मेरो अभियानमा सहभागी हुन आइन् ।

भोलिपल्ट उठेर परिवारसँग विदा माग्न डराई–डराई जाँदा कसैले केही भनेन । हामी भने निकै ठूलो युद्ध जिते जसरी त्यो परिवारलाई धन्यवाद दिएर बाटो लाग्यौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment