१३ माघ, काठमाडौं । कांग्रेस र एमाले मिश्रित निर्वाचन प्रणालीकै पक्षमा उभिएपछि प्रचण्ड नेतृत्वको मोर्चामा रहेका केही साना दलहरु सत्तारुढ मोर्चामा प्रवेश गर्न थालेका छन् ।
हरिचरण शाह नेतृत्वको जनता दल औपचारिकरुपमा मंगलबारै कांग्रेस एमाले नेतृत्वको १० दलीय मोर्चामा सामेल भएको छ । अब दुई स्वतन्त्र सभासद बाहेक ११ दल भएका छन् ।
प्रचण्डको संविधानसभाभित्रको १९ दलीय मोर्चामा एक दल घटेको छ । शाहले आफूसँगै कम्तिमा ५ वटा अन्य साना पार्टी पनि कांग्रेस एमालेको मोर्चामा आउने दाबी गरेका छन् ।
‘संविधानसभामा हामी साना दलको अर्को मोर्चा पनि छ, हामी छलफल गरेर प्रश्नावली समितिमा सहभागी हुन तयार छौं’ साहले भने ।
कांग्रेस एमालेले निर्वाचन प्रणाली प्रत्यक्ष गर्ने भनेर ९ बुँदे सहमति गरेका कारण आफूहरु एमाओवादी नेतृत्वको मोर्चामा सामेल हुनु परेको केही दिनअघि समाजवादी दलका प्रेमबहादुर सिंहले पत्रकारलाई बताएका थिए ।
मिश्रित निर्वाचन प्रणालीमा कांग्रेस एमाले फर्किएकाले साना दलहरु अब यही मोर्चामा आउने परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताए ।
अब साना दलहरुसँग प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले अलग-अलग वार्ता गर्ने उनले जानकारी दिए ।
सहमतिका लागि वार्ता जारी राख्दै प्रश्नावली समितिमार्फत बहुमतीय प्रक्रिया पनि सँगै लैजान कांग्रेस एमालेलाई राप्रपा नेपाल र नेपाल मजदुर किसान पार्टीले पनि आग्रह गरिसकेका छन् ।
यी दुबै दल कांग्रेस एमालेको मोर्चामा भने छैनन् । तर, अब कांग्रेस एमालेले प्रचण्ड मोर्चाको १९ दलभित्रबाट केही साना दललाई आफूतिर तान्ने र राप्रपा नेपाल तथा नेमकिपालाई पनि समेट्ने रणनीतिमा छन् ।
एमाले अध्यक्ष ओलीले पार्टीका जनवर्गीय संगठनका नेताहरुलाई मंगलवारै बल्खुमा बोलाएर पार्टीको बचाउमा अभियान चलाउन भन्दै अब आफ्नो पक्षमा संविधानसभाका अधिकांश दल र ५ सय भन्दा बढी सभासद आउने दाबी गरेको बताइएको छ ।