Comments Add Comment

केपी ओली र बाबुरामको लोकप्रियता बढ्यो, प्रचण्ड र बैद्यको घट्यो

१९ माघ, काठमाडौं । नेपाली राजनीतिक दलका शीर्षनेताहरुले जनताको विश्वास जित्न नसकेको एक अध्ययनले देखाएको छ । अनौठो त के छ भने नेपाली माझ गरिएको भनिएको सर्वेक्षणमा नेपालका प्रधानमन्त्री भन्दा भारतका प्रधानमन्त्रीलाई लोकप्रिय देखाइएको छ ।

Politicians popularity meter

‘इन्टरडिसिप्लिनरी इनालिस्टस’ले गरेको अध्ययनमा राष्ट्रपति डा. रामवरण यादव मात्र प्रथम श्रेणीको अंक पाउन सफल भएका छन् । तर, उनले प्रथम श्रेणी टेकेका मात्र छन् । अन्य सबै नेताले ६० अंक पार गर्न सकेनन् ।

कुल ४४ जिल्लाका ३ हजारमा गरिएको अध्ययनमा ५० प्रतिशतसम्म अंक पाएका नेताहरुलाई न बढी, न कम समर्थन भनिएको छ । १०० अंकलाई सबैभन्दा बढी समर्थन र शून्यलाई सबैभन्दा कम समर्थन मापन गरिएको छ ।

अध्ययन अनुसार सबैभन्दा बढी अंक राष्ट्रपतिले पाएका छन् । सर्वेक्षणमा सहभागीले उनलाई ६१ अंक दिएका छन् । उनको लोकप्रियता अघिल्ला वर्षहरुमा भन्दा केही बढेको देखिएको छ । ०६८ चैतमा ५२ अंक पाएका उनले ०६९ चैत्र र ०७० असारमा समान ५५ अंक पाएका थिए । तर, ०७१ असोजमा आइपुग्दा उनले ६१ प्रतिशत मत पाएका छन् ।

राष्ट्रपतिपछि बढी मत पाउने प्रधानमन्त्री सुशील कोइराला छन् । उनले ५८ अंक पाएका छन् । सुशील सरकार अपेक्षाकृत सफल नभएको धेरैका धारणा छ । तर, उनको लोकपि्रयताको ग्राफ भने बढेको अध्ययनले देखाएको छ ।

प्रधानमन्त्री बन्नुअघि ०७० असारमा उनले ४६ अंक मात्र पाएका थिए । तर, असोजमा उनले ५८ अंक पाएका छन् । ०६८ असारमा ४१ प्रतिशत मात्र थियो ।

तेस्रो नम्बरमा कांग्रेसका युवा नेता एवं सभासद गगन थापा छन् । उनको लोकप्रियता पनि बढ्दो छ । उनले सुशील कोइराला समान ५८ अंक पाएका छन् ।

एमाओवादी वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ५१ प्रतिशत समर्थन पाएका छन् । ०६८ असारमा उनको समर्थन ५७ प्रतिशत थियो । तर, घटेर क्रमशः ०६९ चैतमा ५१ र ०७० असारमा ४७ मा झरेको देखाइएकोे छ । तर, भट्टराईको लोकप्रियता फेरि बढेको अध्ययनले देखाएको छ ।

एमाले अध्यक्ष केपी ओली पाँचौं नम्बरमा परेका छन् । उनको समर्थन बढ्दो छ । ०७० असारमा उनले ४२ अंक पाएका थिए, जुन ०७१ असोजमा ४७ पुगेको छ ।

प्रचण्ड र वैद्यको लोकप्रियता घट्दो,  ज्ञानेन्द्रको स्थीर

एमाओवादी अध्यक्ष प्रचण्ड ४० अंकका साथ छैटौं नम्बरमा छन् । ०६३ पुसमा उनी सबैभन्दा बढी लोकप्रिय थिए । त्यसबेला भएको सर्बेक्षणमा उनले ६० अंक पाएका थिए । त्यसपछि सुरु भएको उनको फलडाउन अझै रोकिएको छैन । ०७० असारमा उनले ४१ अंक पाएका थिए । तर ०७१ असोजमा प्रचण्डले ४० अंक मात्रै पाएका छन् ।

सातौं नम्बरमा राप्रपा नेपालका अध्यक्ष कमल थापा छन् । उनको लोकप्रियता ०६४ पुसबाट निरन्तर बढेको अध्ययनले देखाएको छ । त्यसबेला उनको समर्थनमा २३ अंक थियो, जुन ०७१ असोजमा आइपुग्दा ४० पुगेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले ३८ अंक पाएका छन् । दोस्रो जनआन्दोलन सफल भएको केही महिनापछि ०७३ पुसमा उनले २७ अंक पाएका थिए । ०६८ असोजमा जुन ३० पुग्यो । तर, ०६९ मा २८ मा झरेको थियो ।

त्यसपछि उनको समर्थन स्थिर देखिएको छ । उनले ०७० असार र ०७१ असोजको अध्ययनमा समान ३८ अंक पाएका छन् ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले ३३ अंक पाएका छन् । उनको सर्मथन बढेको त छ, तर निकै सुस्त गतिमा रहेको अध्ययनले देखाएको छ । उनले समान फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि ३३ अंक पाएका छन् । ०६४ पुसमा भएको अध्ययनमा भने उनले ३९ अंक पाएका थिए, जतिबेला मधेस आन्दोलन भएको थियो ।

नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यको पनि लोकप्रियता घटेको देखिएको छ । उनले ३१ अंक मात्र पाएका छन्, जुन असार ०७० को भन्दा २ अंकले कम हो । ०६८ असारमा भएको अध्ययनमा भने वैद्यले ३७ अंक पाएको इन्टरडिसिप्लिनरी इनालिस्टसको अध्ययन रिपोर्टमा उल्लेख छ ।

५० अंकभन्दा माथि को-को ?

अध्ययनमा समोवश गरिएका अन्य केही नेताले पनि ५० भन्दा बढी अंक पाएका छन् । जसमा सुवास नेम्वाङले ५५, माधवकुमार नेपालले ५३, झलनाथ खनालले ५१, रामचन्द्र पौडेलले ५० अंक पाएका छन् । एमाले नेता नेपालले ०६३ पुसमा भन्दा १ अंक कम पाएका छन् ।

नेपाली नेताभन्दा मोदी लोकप्रिय

अध्ययनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि समावेश गरिएको थियो । मोदीप्रतिको समर्थन मापन गर्न चाहन्छु भन्दै उत्तरदाताहरुलाई अंक दिन लगाइएको थियो ।

औसतमा मोदीले ६८ अंक पाएका छन्, जुन अध्ययनमा संलग्न नेपाली नेताहरुले पाएको अंक भन्दा बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment