Comments Add Comment

प्रचण्डलाई ओलीको प्रश्न-किन मर्ने, किन टाउको फुटाउने ? (भिडियोसहित)

Kp Sharma Oli

२२ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाओवादी अध्यक्ष प्रचण्डलाई टाउको फुटाउने र मर्ने कुरा छाडेर सहमतिमा आउन आहृवान गरेका छन् ।

प्रेस चौतारी नेपालको सत्रौं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले टाउको फुटाउने, रगत बगाउने र आन्दोलन गर्ने कुरा अब जनताले पत्याउन छाडिसकेको बताए ।

ओलीले भने-‘टाउको फुटाउने धम्की हामीलाई नदिए हुन्छ, आन्दोलनका जनता आउनेवाला छैनन् । किन मर्ने अहिले ? आउनुस् संविधान बनाउँ, चुनाव जित्नुस्, सांसद-मन्त्री हुनुस, सरकार चलाउनुस् ।’

अघिपछि भन्दा एमाओवादीप्रति तुलनात्मक रुपमा नरम र लाक्षणिक ढंगले प्रस्तुत भएका ओलीले आन्दोलन गर्छौं भन्दा जनता र कार्यकर्ताले पत्याउन छाडेपछि प्रचण्डले टाउको फुटाउने शव्द प्रयोग गर्न थालेको बताए ।

उनले एमाओवादीलाई सहमतिका लागि वार्तामा आउन औपचारिक रुपमा आह्वान समेत गरे । ‘सहमति बिना संविधान बन्दैन, हामीले सहमति गर्न खोजिरहेकै छौं, आउनुस्’-ओलीले भने ।

ओलीले उत्तेजित ढंगले प्रस्तुत नहुन प्रचण्डलाई आग्रह गरे । ‘सिटामोल खानुस्, पानी पट्टी लाउनुस्, आवेग र उत्तेजना बन्द गर्नुस्’ ओलीले भने-‘कसैले सिठी फुक्दैमा जनता लाठा लिएर आपसमा भिड्न आउने कल्पना नगरे हुन्छ ।’

संघीयता नबुझ्ने एमालेमा आऊ

एमाले अध्यक्ष ओलीले कार्यकर्ताले आन्दोलन अस्वीकार गरेपछि र जातीय संघीयताको बिरोध गरेपछि प्रचण्डले उनीहरुलाई कांग्रेस एमालेमा जान धम्की दिएको दाबी गरे ।

‘अब आफ्नैलाई मैले भनेको नमान्ने हो भने कांग्रेस एमालेमा जाउ भन्न थालेछन्’ ओलीले भने-‘म त्यहाँभित्र अल्मल्याइएका, तीनका परिवारको रगत र पसिना बगाएका तर केही नपाएकाहरुलाई त्यो पार्टी छाडेर एमालेमा आउन आह्वान गर्छु, तपाईँहरुलाई सुरक्षा, सम्मान र अवसर एमालेले दिनेछ ।’

एमाओवादी अध्यक्ष प्रचण्डले संघीयताबारे नबुझ्ने र पार्टीले लिएको संघीयताको नीतिप्रति असहमत हुनेहरुलाई कांग्रेस एमालेको संज्ञा दिएका थिए ।

छातीमा ड्याम्म हानेपछि झस्केँ

माघ ५ गते विहान प्रचण्डसँग करीव डेढ घण्टा अन्तिम वार्ता गरेका ओलीले त्यसपछि अलग्गै वार्ता गरेका छैनन् । उनले त्यो वार्ता अहिलेसम्मकै सुमधूर रहेको बताए ।

‘माघ ५ गते पुष्पकमल दाहाल र मबीच असाध्यै सुमूधर वार्ता भएर सहमति बनेको हो, सहमति चार दलको बैठकमा मैलेनै पढेर सुनाउँदा उहाँले मेरो भनाई यहि हो भन्नुभएको थियो’ ओलीले भने-‘पछि उहाँले १९ दलमा छलफल गर्छु भन्नुभयो, त्यहाँ त कसले कसलाई हान्ने भन्ने छलफल पो भएछ, राती छातीमा ड्याम ड्याम माइकले हान्दा पो म झस्केँ ।’

ओलीले प्रचण्ड मोर्चामा आबद्ध दलहरुलाई पनि एउटा व्यक्तिको लहड र उत्तेजनाको शिकार नहन आग्रह गरे । उनले सहमति बिना संविधान जारी नहुने आश्वासन दिए ।

अध्यक्ष ओलीले आफूलाई ३० दलीय मोर्चाले मानसिक सन्तुलन गुमेको शंका गर्दै स्वास्थ्य परीक्षण गर्न भनेकोबारे कुनै प्रतिक्रिया दिएनन् ।

उनले कतिपय प्रश्नको जवाफ दिन आवश्यक नहुने भन्दै जनताले नै जवाफ दिइरहेको र भविष्यमा दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment