Comments Add Comment

राष्ट्रिय एथलेटिक्समा आशिष र सीमा उत्कृष्ट

Aashis-Chaudhary-and-sima-tharu

१ चैत, काठमाडौं । एपीएफ क्लबका आशिष चौधरी र सीमाकुमारी थारु ४० औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल एथलेटिक्स संघद्वारा आयोजित प्रतियोगितामा आशिषले ३ स्वर्ण र १ रजत जिते । अन्तिम दिन २ सय मिटर दौड २१.८५ सेकेन्डमा पूरा गर्दै व्यक्तिगत स्वर्ण संख्या ३ पुर्‍याए । त्यसअघि आशिषले १ सय मिटर र ४ सय मिटर दौडमा स्वर्ण तथा ४ गुणा १ सय मिटर रिलेमा टिमसंग मिलेर रजत जितेका थिए । २ सय मिटर दौडमा आर्मीका मीनबहादुर चौधरी दोश्रो र यामसाजन सुनार तेश्रो भए ।

त्यस्तै सीमाले प्रतियोगितामा एक मात्र स्वर्ण जित्ने क्रममा पहिलो दिन शुक्रबार ज्याभ्लिन थ्रोमा ३९.४६ मिटर टाढा फाल्दै आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी थिइन् । उक्त कीर्तिमान प्रतियोगिताकै एक्लो कीर्तिमान हो । उत्कृष्टद्वयलाई नगद १०-१० हजार पुरस्कार प्रदान गरिने छ । कीर्तिमानका लागि सीमाले छुट्टै ५ हजार नगद पुरस्कार पनि पाउने भएकी छन् ।

नेपाल प्रहरीकी केशरी चौधरी प्रतियोगिताकै सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनिन् । केशरीले ४ व्यक्तिगत स्पर्धामा स्वर्ण हात पारिन् । अन्तिम दिन महिलाको हाइजम्पमा केशरीले १.४८ मिटर उचाइ नाघ्दै व्यक्तिगत स्वर्ण चार पुर्‍याएकी हुन् । यअघि केशरीले लङजम्प, टि्रपलजम्प र १ सय मिटर हर्डल्समा स्वर्ण जितेकी थिइन् । हाइजम्पमा एपीएफकी शिला चौधरी दोश्रो र प्रहरीकी वषर्ा भट्टराई तेश्रो भए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको महिलाको २ सय मिटर दौडमा एपीएफकी दिलमाया कार्की पहिलो भइन् । दिलमायाले २६.२० सेकेन्ड समय खर्चिन् । एपीएफकी सरस्वती चौधरी दोश्रो तथा नेपाल आर्मीकी रमिता चौधरी तेश्रो भए ।

पुरुषको हाइजम्पमा आर्मीका सूर्य खत्री पहिलो स्थानमा रहे । उनले १.९३ मिटर उचाइ नाघे । एपीएफका बालकृष्ण चौधरी तथा अमृत नेपाली क्रमशः दोश्रो र तेश्रो भए ।

पाँच हजार मिटर दौडको पुरुषमा आर्मीका हरिकुमार रिमाल पहिलो भए । उनले निर्धारित दूरी तय गर्न १५ मिनेट ०३.४ सेकेन्ड समय खर्चे । आर्मीकै लालबहादुर थापा दोश्रो र एपीएफका नारायण थापा तेश्रो भए । सोही स्पर्धाको महिलामा एपीएफकी कान्छीमाया कोजुले १८ मिनेट १५.६ सेकेन्डमा दूरी पार गर्दै शीर्ष स्थान कब्जा गरिन् । आर्मीकी विश्वरुपा बुढा दोश्रो र एपीएफकी गीता खत्री तेश्रो भए ।

पुरुषको सटपुटमा आर्मीका राजेन्द्र बस्नेतले १२.५० मिटर टाढा फाल्दै पहिलो स्थान हात पारे । आर्मीकै बमबहादुर गुरुङ दोश्रो र प्रहरीका पुष्कल खड्का तेश्रो भए । त्यसै स्पर्धाको महिलामा प्रहरीकी चन्द्रकला लाम्गाडे पहिलो भइन् । चन्द्रकलाले १०.६२ मिटर टाढा फालिन् । आर्मीकी अन्जु डगौरा दोश्रो र प्रहरीकी बसन्ती चौधरी तेश्रो बने ।

पुरुषको ४ गुणा ४ सय मिटर रिलेमा आर्मी पहिलो, प्रहरी दोश्रो र एपीएफ तेश्रो भए । उक्त स्पर्धाको महिलामा एपीएफ पहिलो, आर्मी दोश्रो तथा मध्यपश्चिमाञ्चल तेश्रो भए ।

आर्मी टिम च्याम्पियन

४० औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उपाधि आर्मीले जित्यो । टिम च्याम्पियन आर्मीले १६ स्वर्ण, १७ रजत र ९ कांस्य हात पार्‍यो ।

दोश्रो भएको एपीएफले १३ स्वर्ण, १२ रजत र ९ कांस्य प्राप्त गर्‍यो । ७ स्वर्ण, ५ रजत र ७ कांस्यसाथ प्रहरीले तेश्रो स्थानमा चित्त बुझायो । त्यस्तै १ रजत र ५ कांस्यमा मध्यपश्चिमाञ्चल चौथो, १ रजत र १ कांस्यमा पश्चिमाञ्चल पाँचौं, २ कांस्यमा मध्यमाञ्चल छैटौं तथा १ कांस्यमा पूर्वाञ्चल सातौं भए । सुदूरपश्चिमाञ्चल पदकविहीन रह्यो ।

तीनदिने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीग गरी ८ टिमका १ सय ७६ खेलाडीले ३६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । थ्रोइङ इभेन्ट भद्रकालीस्थित आर्मीको मैदानमा भएको थियो भने बाँकी स्पर्धा दशरथ रंगशालामा सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment