Comments Add Comment

पाकिस्तानसँगको सिरिज पनि जित्यो अष्ट्रेलियाले

अष्ट्रेलिया पुरानै लयमा फर्किदै

Photo Credit : आईसीसी

१४ चैत, काठमाडौं । ठ्याक्कै एक वर्षअघि मार्च महिनामै अष्ट्रेलिया क्रिकेटको लागि कालो दिन बन्यो । ‘बल टेम्परिङ’ काण्डमा कप्तान स्टेभन स्मिथसँगै उपकप्तान डेभिड वार्नर लामो समयसम्मका लागि प्रतिबन्धमा परे ।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट खेलमा घटेको यो घटना अष्ट्रेलियाको लागि निकै पिडादायी बन्यो । त्यसपश्चात अष्ट्रेलियाले कुनै पनि सिरिजमा प्रभावकारी जित निकाल्न सकेन भने हारको शृंखला रोकिएन ।

तर ठ्याक्कै एक वर्ष पछि अष्ट्रेलिया पूरानै लयमा देखिएको छ । पूर्वकप्तान स्मिथ र उपकप्तान वार्नर टिममा नभएपनि अन्य खेलाडीले अष्ट्रेलियालाई पूरानै लयमा ल्याएका छन् ।

यही मार्च महिनामा घरेलु टोली भारतविरुद्धको एकदिवसीय सिरिजमा शनसनीपूर्ण जित निकालेको अष्ट्रेलियाले पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज पनि जित हात पारेको छ । त्यो पनि दुई खेलअगावै ।

पाकिस्तानविरुद्धको तेस्रो एकदिवसीय सिरिजमा अष्ट्रेलियाले ८० रनले जित हात पारेसँगै पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज दुई खेल अघि नै जितेको हो । अष्ट्रेलियाको जितमा ब्याटिङतर्फ कप्तान एरोन फिन्च र ग्लेन म्याक्श्वेलले चम्किए भने बलिङतर्फ एडम जाम्पासँगै पट कुम्मिन्स ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २६६ रनको मध्यम स्कोर बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान फिन्चले ९० रनको योगदान दिए । त्यस्तै, ग्लेन म्याक्श्वेलले ७१ रन बनाए । उनले ५५ बलको सामना गर्दै ८ चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, पिटर ह्यान्ड्सकोम्बले ४७ रन बनाउँदा एलेक्स क्यारीले अविजित २५ रन बनाए ।

२६७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा १८६ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका इमाम उल हकले ४६ रन बनाए । म्याक्श्वेलको बलमा एल्बिडब्लु आउट हुनुपूर्व उनले ७२ बलमा समान दुई चौका र दुई छक्का प्रहार गरेका थिए ।

त्यस्तै, पाकिस्तानका लागि इमाद वासिमले ४३, उमर अक्मलले ३६ र कप्तान सोइब मालिकले ३२ रन बनाए ।

पाकिस्तानलाई सस्तैमा समेट्नका लागि एडम जाम्पाले चार विकेट लिए । ९.४ ओभर बलिङ गरेका जाम्पाले एक ओभर मेडनसहित ४३ रन खर्चेर चार विकेट लिएका थिए । त्यस्तै, म्यान अफ द म्याच घोषित कुम्मिन्सले तीन विकेट लिए । उनले ८ ओभरमा एक मेडन ओभर राख्दै २४ रन खर्चेर तीन विकेट लिएका थिए ।

यो जितसँगै अष्ट्रेलियाले अर्को फड्को मार्न सफल भएको हो । पहिलो खेलमा ८ विकेटको जित हात पारेको अष्ट्रेलियाले दोस्रो खेलमा ८ विकेटको नै जित दर्ता गराएको थियो ।

मार्च महिनामै भारत भ्रमणमा निस्किएको अष्ट्रेलियाले घरेलु टोलीमाथि ३–२ ले सिरिज जितेको थियो । २–० ले पछि परेको अष्ट्रेलियाले तेस्रो, चौथो र पाँचौं खेलमा जित हात पार्दै भारतलाई स्तब्ध बनाएको थियो । यो एक महिने अवधिमा अष्ट्रेलियाले पछिल्लो वर्षमा पाएको सबैभन्दा ठूलो उपलब्धि पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment