News Summary
Generated by OK AI. Editorially reviewed.- मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता असोज १२ देखि १७ गतेसम्म बुटवलमा हुने भएको छ।
- प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका गरी आठ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
- विजेता टोलीले रनिङ शिल्डसहित सात लाख रुपैयाँ पाउनेछ भने उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पाउनेछ।
७ असोज, काठमाडौं । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ असोज १२ देखि १७ गतेसम्म लुम्बिनी प्रदेशको बुटवलमा हुने भएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा स्वदेशी र विदेशी गरी आठ टोलीले सहभागिता जनाउने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा नेपालबाट नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब (संखुवासभा) र गल्कोट भलिबल क्लब सहभागी हुनेछन् । यस्तै भारतका गुजरात स्टेट भलिबल एसोसिएसन र खैरा क्लब पञ्जाब तथा श्रीलंकन पुलिस टोलीले विदेशी टोलीका रूपमा प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ७५ हजार तथा सान्त्वना हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विजेता, उपविजेता तथा अन्य विधाका विजेतालाई कप, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार रुपैयाँसहित सम्मान गरिनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष आचार्यले बताए ।
‘जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीले यसअघि पनि खेलकुदका बहुआयामिक गतिविधि गर्दै आएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागितामा सञ्चालन हुने यस प्रतियोगिताले नेपाली भलिबलको विकास, प्रतिभाशाली खेलाडीको पहिचान तथा प्रवद्र्धन गर्ने विश्वास गरेका छौं’ अध्यक्ष आचार्यले भने ।
आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न एक करोड ५३ लाख ४४ हजार ९०० रुपैयाँ खर्च हुनेछ ।
‘सबैका लागि खेलकुद’ भन्ने नाराका साथ २०६६ साल पुस १७ गते स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विद्यालयदेखि विश्वविद्यालय, स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म एथलेटिक्स, टेबलटेनिस, भलिबल, कराते, हक्की, रेस्लिङलगायत प्रतियोगिता आयोजना गर्दै आएको छ। एकेडेमीले स्थानीय तह, जिल्ला, प्रदेश, केन्द्र र अन्तर्राष्ट्रिय स्तरसम्म संगठन विस्तार गरेको जनाएको छ ।
आगामी वर्षदेखि रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितालाई अझ फराकिलो बनाउँदै ठूला देशका टोलीलाई समेत सहभागी गराउने एकेडेमीले जनाएको छ ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो ।
प्रतिक्रिया 4