Comments Add Comment

मध्यपहाडी लोकमार्गको रुट परिवर्तनको प्रयास

nepal highway

४ चैत, काठमाडौं । नेपालका मध्यपहाडी जिल्लाहरुलाई जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल लोकमार्गको रुट परिवर्तन गर्ने अभियानमा सरकार र संसदीय समितिले पनि चासो राखेका छन् ।

तराईको पूर्व-पश्चिम राजमार्गको विकल्पमा निर्माणाधीन मध्यपहाडी लोकमार्गको ट्रयाक परिवर्तनका लागि मध्य पहाडी जिल्लाका २२ सभासदले लिखित रुपमै ध्यानाकर्षण गराएपछि यो प्रयास फेरि अघि बढेको हो ।

यसै साता ओखलढुंगा क्षेत्र नम्बर १ का सभासद यज्ञराज सुनुवारले २२ सभासदको हस्ताक्षर सहित प्रस्तावित परिवर्तित रुटको नक्सा समेत विकास समितिका सभापति रविन्द्र अधिकारीलाई हस्तान्तरण गरे ।

अधिकारीले मध्य पहाडी लोकमार्गको नाम अनुसार नै यसको निर्माण हुनुपर्ने कुरामा समितिले गम्भिरतापूर्वक सरोकारवाला पक्षसँग छलफल चलाउने आश्वासन समेत दिएका छन् ।

सुनुवारले नयाँ नक्सा बुझाउदा मध्यपहाडी लोकमार्गको शुरुवातकर्ता तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल पनि सँगै थिए । नेपालले पनि मध्यपहाडी लोकमार्गलाई रामेछाप र ओखलढुंगाको सदरमुकाम छुवाएर लैजान पहल गर्ने आश्वासन दिएको सोही भेटमा सहभागी एमाले केन्द्रीय सदस्य माधव ढुंगेलले बताए ।

प्रस्तावित मार्गको रुट

पहाडी भूगोललाई समेटेर बनाइने भनिएको मध्यपहाडी राजमार्गलाई भित्री मधेसबाट लगिएको भन्दै ओखलढुंगा र रामेछापका स्थानीयले पहिलेदेखि नै पहाडबाटै लैजान माग गरेका हुन् ।

lokmarga1पाँचथरको च्याङ्थापुबाट बैतडीको झुलाघाटसम्म जोडिने मध्यपहाडी राजमार्गलाई सिन्धुली र उदयपुरको भित्री मधेस हुँदै लगिएकोमा विरोध भइरहेको छ ।

अब परिवर्तन हुने रुट काभ्रेपलान्चोकको दोलालघाटबाट रामेछाप सदरमुकाम मन्थली हुँदै ओखलढुंगा सदरमुकामसम्म पुग्नेछ । त्यसपछि सो रुट हलेसीबाट खोटाङको सदरमुकाम दिक्तेल जोडिनेछ ।

काभ्रेको पाँचखाल, दोलालघाट चौंरी हुँदै रामेछापको गाल्बा, मन्थली, साँघुटार जोड्ने र त्यसपछि ओखलढुंगाको घोराखोरीबाट सदरमुकाम जोड्ने प्रस्तावित योजना रहेको सभासद यज्ञराज सुनुवारले बताए ।

यज्ञबहादुर सुनुवार
यज्ञराज सुनुवार

‘मध्यपहाडी जिल्लामा पर्ने रामेछाप र ओखलढुंगालाई नछोई बन्ने राजमार्ग कसरी मध्यपहाडी नाम हुन सक्छ ?’ सुनुवारले भने ‘पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडेर अर्को राजमार्ग बनाउनुको अर्थ पनि छैन ।’

अहिले प्रस्तावित नक्सामा यसअघि नै सडक बनेर गाडीहरु चलिरहेको भन्दै सुनुवारले त्यसको स्तरोन्नति र विस्तार गरेमात्र पुग्ने बताए ।

‘लिखु खोला, तामाकोशी र मोलुङखोलामा यसअघि नै पक्की पुल बनिसकेका छन्,’ उनले भने, ‘ओखलढुंगाबाट साँघुटार हुँदै अघि बढ्ने बाटो चार पाँच सय वर्षअघिदेखिकै हुलाकी बाटो हो ।’

वीपी राजमार्गले धान्दैन

वीपी राजमार्ग अन्तरगतको सिन्धुली-खुर्कोट -घुर्मीलाई नै मध्यपहाडी राजमार्ग अन्तरगत समावेश गर्दा सो राजमार्गमा रामेछाप र ओखलढुंगाले छुन सक्दैन । मध्यपहाडको जिल्लालाई नछुवाई भित्री मधेसबाट लगिएकाले ट्रयाक परिवर्तनको मुद्दा पहिलेदेखि नै उठेको रामेछापकी सभासद सुनुवार बताउँछन् ।

‘एक लेनको बनेपा-बर्दिवास सडक मध्यपहाडी राजमार्ग हुन सक्दैन, यसले यातायातको चाप पनि धान्न सक्दैन,’ सुनुवारले भने, ‘यसलाई तराई जोड्ने सडकका रुपमा सुरक्षित राख्न पनि मध्यपहाडी लोकमार्ग दोलालघाटबाट रामेछाप हुँदै लैजानुपर्छ ।’

ती क्षेत्रका सभासदहरुले यो अभियानलाई सरकारसम्म पुर्‍याइसकेका छन् । सडक बिभागले पनि मध्यपहाडी लोकमार्गको रुटमा सामान्य परिवर्तन गरेर रामेछाप सदरमुकाम मन्थली हुँदै ओखलढुंगा जोड्नु उपयुक्त हुने सुझाव दिएको छ ।

चाँडै नै त्यहाँका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेर यसरबारे अवगत गराउने भएका छन् । यसअघि नै राष्ट्रिय योजना आयोगमा पनि यसबारे छलफल भइसकेको आयोगका सदस्य डा. प्रेम दंगालले बताए ।
रुट परिवर्तन सम्भव छ

स्थानीय र सभासदहरुले ट्रयाक परिवर्तन गर्नुपर्ने आवाज उठाउन थालेकाबेला मध्यहाडी सडक, पूर्वी खण्ड, आयोजना प्रमुख सूर्यबहादुर भाटले ट्रयाक परिवर्तन सरकारी स्तरबाट मात्र सम्भव हुने बताएका छन् ।

samjhauta
मध्यपहाडी राजमार्गको रूट परिवर्तनको प्रस्तावित नक्सा पूर्वप्रधानमन्त्री माधव नेपाल र विकास समितिका सभापति रविन्द्र अधिकारीलार्इ हस्तान्तरण गर्दै सभासद् सुनुवार र एमाले नेता माधव ढुंगेल

ट्रयाक परिवर्तन मागसहित मन्त्रालयमा परेको निवेदन उनको कार्यालयमा पुगिसकेको छ । भट्टले ट्रयाक परिवर्तन गर्दा सडकको लम्बाई बढाउन नहुने बताए ।

‘ट्रयाक परिवर्तन सडकको लम्बाई बढाउन गरिन्न’, भट्टले भने, ‘१७ सय ७६ किलोमिटर लामो सडकको लम्बाई घटाउने हो बढाउने होइन,’ उनले भने, ‘मन्त्रिपरिषदबाट निर्णय भएमा मात्रै ट्रयाक परिवर्तन सम्भव छ ।’

तर अहिले ट्रयाक परिवर्तन गर्ने प्रस्तावित रुट पारित भएमा लम्बाई घट्ने दावी सभासद सुनुवारको छ । ट्रयाक परिवर्तनको मुद्दा उठेपछि सडक विभागले ट्रयाक परिवर्तनका सम्भावित विकल्पबारे अध्ययन गरिरहेको स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्
यस्तो बन्दैछ राष्ट्रको गौरव मध्यपहाडी लोकमार्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment