Comments Add Comment

एमालेका स्वयंसेवकले ‘मापसे’ गर्न नपाउने

५ जेठ, काठमाडौं । नेकपा एमालेले भूकम्प पीडितको उद्धारमा खटिने स्वयंसेवकहरुलाई जाँड रक्सी सेवनमा प्रतिवन्ध लगाएको छ । त्यस्ता स्वयंसेवकहरुले जेठ १० देखि असार १० सम्म ‘मापसे’ गर्न नपाउने भएका छन् ।

UML-Code-of-Cundoct

स्वयं सेवकहरुलाई एकमहिने अभियानमा गाउँ पठाउन लागेको एमालेले ९ बुँदे आचार संहिता जारी गरेको छ । सो आचार संहिताको अन्तिम बुँदामा मादक पदार्थ सेवन गर्न नपाइने उल्लेख छ ।

एमालेभित्र मादक पदार्थ सेवन गर्नु सामान्यजस्तै बन्दै गइरहेका बेला पार्टीले जारी गरेको आचार संहितामा भूकम्पपीडित गाउँमा गएर जाँड रक्सी खान नपाउने अनुशासन लागू गरिएको हो ।

साथै गाउँमा खटिने एमाले स्वयंसेवकले महिलाहरुसँग जिस्कने, छाडा व्यवहार प्रदर्शन गर्ने, रुखो बोल्ने लगायतका भड्किलो व्यवहारसमेत गर्न नपाउने आचार संहितामा उल्लेख छ । आचार संहितामा भनिएको छ- ‘उनीहरुले जनतालाई असजिलो महसुस हुने गरी आफ्नो भड्किलोपन देखाउने छैनन् ।’

भेटिएका सामान बुझाउनुपर्ने

एमालेले स्वयंसेवकहरुका लागि कडा अनुशासन लगाउने भएको छ । खाने बस्ने व्यवस्था आफै गर्नुपर्ने छ । भत्केका संरचनाभित्र कुनै मूल्यवान सामग्री भेटाइए ती सामग्रीहरु चोरी हुने खतराप्रति एमाले सजग देखिएको छ । एमालेको आचार संहितामा भनिएको छ- ‘भत्किएका संरचना हटाउने क्रममा भेटिएका प्रत्येक वस्तु सम्बिन्धत व्यक्तिलाई बुझाइदिने छन् ।’

त्यसैगरी स्थानीयसँग विनम्रतापूर्वक प्रस्तुत हुने, जनताको संस्कृति र धार्मिक परम्पराको सम्मान गर्ने, आफ्ना योजनाहरु जनतामा नलाद्न लगायतका प्रावधान राखिएका छन् ।

स्वयंसेवकलाई ओलीको तालिम

स्वयंसेवकका रुपमा गाउँमा खटिने अगुवा नेता-कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले अभिमुखीकरण प्रशिक्षण दिने एमालेको तयारी छ । बुधबार स्वयंसेवकलाई अध्यक्षले प्रशिक्षण दिने सचिव योगेश भट्टराईले अनलाइनखबरलाई बताए ।

बुधबारको अभिमुखीकरण प्रशिक्षणमा विज्ञहरुले समेत पुनिर्निर्माणबारे जानकारी गराउने भट्टराईले बताए ।

गाउँमा खटिने स्वयंसेवकहरुले भौतिक संरचनाको पुर्निर्माणका साथै भूकम्पको त्रासबाट जनतालाई सहज जीवनमा फर्काउने खालका मनोवैज्ञानिक एवं शिक्षामूलक क्रियाकलाप पनि गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment