Comments Add Comment

तेल चोरीको प्रतिवेदन अख्तियार पुग्यो

१४ चैत, विराटनगर । भारतबाट विराटनगर डिपोका लागि ल्याउदै गरेको इन्धन चोरी प्रकरणको छानविनका लागि गति समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।

गत मंसिर ६ गते बरौनी डिपोबाट विराटनगरस्थित आयल निगम प्रदेशिक डिपोमा ल्याउने क्रममा बाटोबाटै २४८४ लिटर डिजेल चोरी भएपछि आयल निगमले गठन गरेको समितिले तयार पारेको प्रतिवेदन कारवाहीका लागि अख्तियार पठाइएको हो ।।

चोरी प्रकरणको छानविनकालागि आयल निगमले अञ्जना पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले बुझाएको प्रतिवेदनमा निगमका प्रदेशिक डिपो प्रमुख दिनेश यादवको नाम जोडिएपछि अनुसन्धानलागि प्रतिवेदन अख्तीयारमा पठाइएको हो ।

आयल निगमका प्रवक्ता बिरेन्द्र गोइतले प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको बताए ।

भारतीय आयल कर्पाेरेसन बरौनी डिपोबाट लोड गरी आएको को १ ख ५९६५ नम्बरको ट्यांकर नापचाज गर्दा ८३ सेन्टिमिटर (२४८४ लि.) डिजेल चोरी भएको खुलेको थियो । चोरी प्रकरणमा आयल निगम प्रादेशिक कार्यालय विराटनगरका निर्देशक दिनेश यादवपनि जोडिएपछि प्रतिवेदन सार्वजनिक भएको थिएन । समितिले बुझाएको प्रतिवेदन आयल निगमबाट वाणिज्य तथा आपूर्ति मन्त्रालय हुदै अख्तियारमा पुगेको निगम स्रोतले बताएको छ ।

तेल चोरी प्रकरणको छानविनका लागि गठन भएको समितिले बुझाएको प्रतिवेदनका आधारमा चोरीमा संलग्न ट्याङ्कर, ट्याङकर चालक र ढुवानीकर्तालाई कारवाही गरिए प्रतिवेदन गोप्य राखिएको हो ।

तत्कालिन समयमा छानविन समितिले बुझाएको प्रतिवेदनका आधारमा व्यवसायी सुकदेव सिंहका १३ वटा ट्याङ्करको ढुवानी इजाजत (प्रोडक्ट डेलिभरी अर्डर) खारेज गरी चालक धर्मेन्द्र स्वर्णकारलाई आजिवन ट्याङ्कर चलाउन प्रतिवन्ध लगाएको थियो । तर ढुवानी व्यवसायीले आन्दोलनको चेतावनी दिएपछि निगमले ट्याङ्करको कारवाही पुस पहिलो साता फुकुवा गरेको थियो ।

लकिङ सिस्टम छलेर चोरी भएको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । सिआईबीले अनुसन्धान गरी आपूर्ती मन्त्रालयमा नै प्रतिवेदन बुझाएको थियो । सार्बजनिक नगरिएका दुईवटै प्रतिवेदनमा यादवको नाम जोडिएको स्रोतको दाबी छ ।

ट्याङ्करबाट हुने तेल चोरीलाई नियन्त्रण गर्न करिब ८० हजार भारतीय रुपैयाँ खर्चिएर जडान गरिएको आधुनिक लक सिस्टमको चाबी भारतीय आयल निगमको बरौनी डिपो र विराटनगरस्थित प्रदेशिक प्रमुखको निगरानीमा हुन्छ । छानबिन समितिले विराटनगर डिपोबाटै गडबडी भएको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment