Comments Add Comment

उद्योगमन्त्रीको आश्वासन : निर्माण क्षेत्रमा स्वदेशी वस्तु प्रयोग हुन्छ

२२ जेठ, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले मुलुक नवनिर्माणमा प्रवेश गरेकाले निर्माण उद्योगी र सरकारबीच समन्वय हुनुपर्ने बताएका छन् ।

शुक्रबार निर्माण सामग्री उत्पादकसँगको छलफलमा मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले नवनिर्माण mahesh basnetअभियानमा सम्भव भएसम्म स्वदेशी उत्पादन प्रयोग गर्ने वतावरण बनाउने व्यवसायीलाई आश्वासन दिएका छन् ।

उद्योगी व्यवसायीले पनि भूकम्प प्रभावित उद्योगहरु बचाउनका लागि सरकारले स्वदेशी वस्तुको प्रयोगमा जोड दिनुपर्ने बताउँदै आएका छन् । मन्त्री बस्नेतले उद्योग मन्त्रालयको विशेष पहलमा मन्त्री परिषदबाट स्वेदेशी बस्तु उपयोग नीति यही प्रयोजनका लागि हालसालै पारित भएको बताए ।

असार मसान्तसम्म जस्तापताको निर्यातमा रोक लगाइएको बताउँदै मन्त्री बस्नेतले निर्माण सामाग्रीको मूल्य बढाउने र कालो बजारी गर्ने उद्योग व्यवसायीलाई हदैसम्मको कारवाही गर्ने चेतावनी दिएका छन् ।

उनले अब बन्ने निमार्णमा गुणस्तर नियन्त्रण गर्ने तर्फ मन्त्रालयले अनुगमन र पहरेदारी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष हरीभक्त शर्माले निर्माण क्षेत्रका लागि जारी भएका ऐन नियमहरु पूर्णरुपमा लागु गर्न मन्त्री बस्नेतलाई आग्रह गरेका छन् । ‘गलत प्रवित्त र अभ्यासलाई निरुत्साहित गरौं, जसले नराम्रो काम गर्छ त्यसलाई दण्ड गरौं’ उनले भने ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले मुलुकको नव निर्माणका लागि सहज लगानी भित्र्याउन नीतिगत रुपमै ठोस निर्णय आवश्यक रहेको बताए । उनले उक्त कार्यका लागि महासंघले ‘इकोनोमी रिकभरी टीम’ निर्माणको प्रक्रिया अगाडी बढाएको जानकारी दिए ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले निर्माण आचार संहितालाई परिमार्जन गरी निर्माण कार्यलाई जतिसक्दो छिटो खुला गर्नुपर्नेमा जोड दिए ।निर्माण कार्य लामो समयसम्म रोकिएमा निर्माण उद्योग तथा व्यवसायी धरासायी हुने खतरा रहेको उनको भनाई थियो ।

अन्तर्राष्ट्रिय बजारमा मुल्य बृद्धिमा बाहेक आन्तरिक मुल्य बृद्धि नहुने बताउँदै उनले यदि २४सै घण्टा पूर्णरुपमा विद्युत उपलब्ध भएमा सुलभ दरमा सिमेन्ट उपलब्ध गर्ने प्रतिवद्धता व्यक्त गरे ।

इँटा व्यवसायी महासंघका प्रथम उपाध्यक्ष तेजबहादुर चन्दले हालको माग थेग्न सक्ने परिमाणमा नेपालमै इँटा रहेको बताउदैँ भने ‘बाहिरबाट इट्टा ल्याउनु पर्दैन, चाहे जति इँटा हामीसँग छ ।’ साथै। उनले भूकम्प पहिलाकै मुल्यमा इँटा बिक्री गर्न आफूहरु तयार रहेको जानकारी दिए ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाले जस्तापाताको आपूर्तिमा समस्या रहेको बताए । ‘हामीले धादिङ, नुवाकोट, मेलम्ची, पाँचखालको अनुगमन गर्यौं, अनुगमनमा सिन्धुपाल्चोकमा जस्तापाताको अभाव देखियो, यो प्रकृतिले आयात हुने हो भने अझै छ महिना अपूर्ति गर्न लाग्छ’ उनले भने ।

अन्तरक्रियामा मन्त्रालयका सचिव जयमुकुन्द खनाल, योजना शाखाका सहसचिव जीतबहादुर केसी, सहसचिव यमकुमारी खतिवडा, छड उत्पादक संघका अध्यक्ष ध्रुब श्रेष्ठ, जस्तापाता उद्यमी, क्रसर उद्यमी, निमार्ण उद्यमीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment