Comments Add Comment

चेपाङ भन्छन्-ओत पाउनु सपना जस्तो लाग्थ्यो, पूरा भयो

राजेन्द्र आचार्य

२२ असार, चितवन । गत वैशाख १२ को भूकम्पले चितवनका अति विपन्न चेपाङ समुदाय पनि नराम्रोसँग प्रभावित भए । जेतनेत दुःख गरेर बनाएको घर भत्कियो भने कतिपयले परिवारका सदस्य गुमाए । बित्ने त बितिहाले तर त्यसमा पनि अर्को चिन्ता थपियो चेपाङ समुदायमा- भविष्यका कर्णाधार स-साना बालबालिकाले पढ्ने विद्यालय नै भत्किएपछि कहाँ पढ्ने ?

Chitwan-School
सिद्धी ८ स्थित नान्दर-वाक्टाल प्राविको नवनिर्मित भवन

पीडितलाई सरकार र अरु संघसंस्थाले सहयोग नगरेका होइनन् तर, त्यो पर्याप्त थिएन । पूर्वी सौराहाको सामाजिक संस्था सपना भिलेजले जेनतेन आँधी-पानी थेग्ने घर र बालबालिकाले पढ्ने विद्यालय बनाइदिएपछि अहिले स्थानीय चेपाङ समुदायले सन्तोषको सास फेर्न पाएका छन् ।

सिद्धि गाविस ८ का रामबहादुर चेपाङले भने, ‘भूकम्पले भत्काइदिएपछि ओत लाग्ने ठाउँ पाउनु सपना जस्तै लाग्थ्यो, अहिले सपना भिलेजले पूरा गरिदिएपछि आनन्द भा’को छ ।’

सपना भिलेज सोसल इम्प्याक्टले सिद्धी ८ नान्दरस्थित नान्दर-वाक्टाल प्राविको ३ कोठे भवन बनाइदिएको छ । जिल्लाको विकट क्षेत्रमा चेपाङ समुदायका बालबालिका भूकम्पपछि त्रिपाल मुनि बसेर पढ्दै आएका थिए ।

‘विद्यालय भवन नहुँदा विद्यार्थीहरुले समस्या भोगेको थाहा पायौं, सपना भिलेज सौराहाका म्यानेजर सुजन बस्नेतले भने, ‘कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट बन्चित नहोउन् भनेर विद्यालय बनाएका हौं ।’

Hair-Cutting
चेपाङ समुदायका बालकको कपाल काटिदिँदै सपना भिलेजका स्वयमसेवक

कक्षा ३ सम्म सञ्चालन हुने सो विद्यालयमा ४७ बालबालिका अध्ययनरत छन् । ‘भवन भत्किएपछि विद्यार्थीको संख्यासमेत घटेको थियो, अब विस्तारै विद्यार्थीहरु बढ्दैछन्,’ स्थानीय खुमराज भट्टले भने, ‘त्रिपाल मुनि बस्ने बाध्यता हटेपछि विद्यार्थी र अभिभावक खुसी भएका छन् ।’

सिद्धि गाविसका स्कुले बालकहरुको कपाल समेत सपना भिलेजका स्वयमसेवकहरुले काटिदिएर व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेका थिए । यस्तै खानेपानीको पाइप विछ्याएर पानीको व्यवस्था समेत गरिएको छ ।

सपना भिलेजले स्थानीय प्रशासनसँग समन्वय गरेर हाल भूकम्प प्रभावित जिल्लाहरुमा दोस्रो चरणको सहयोग अन्तर्गत पुनर्निर्माणको काम गर्दै आएको छ ।

‘विद्यालयले भवन बनाउन काठ दिएको थियो । हामीले जस्तापाता, काँटी, स्वयमसेवक, श्रमदान गर्नेहरुका लागि खाना, खाजाको व्यवस्था गर्‍यौं,’ सपना भिलेजका ध्रुव गिरीले भने, ‘स्थानीयको समेत सहयोगमा चार दिनमा तीनकोठे विद्यालय तयार भयो ।’

भूकम्पले पाइप फुटेपछि पानी पीउनबाट बन्चित भएका चेपाङ समुदायलाई खानेपानीको व्यवस्था समेत मिलाइएको छ
भूकम्पले पाइप फुटेपछि पानी पीउनबाट बन्चित भएका चेपाङ समुदायलाई खानेपानीको व्यवस्था समेत मिलाइएको छ

जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी अन्य क्षेत्रमा समेत भत्किएका विद्यालय पुनर्निर्माण अभियान जारी राख्ने उनले बताए ।

सपना भिलेजले भूकम्पले क्षतिग्रस्त सिद्धी ९ स्थित छेरवाङ प्रावि, सिद्धी ६ स्थित मझवाङ प्रावि, सिद्धी ४ स्थित दक्षिणकाली प्रावि, सिद्धी ३ स्थित दौतेस प्राविको भवन निर्माण गर्ने जनाएको छ ।

यसअघि सपना भिलेजले पहिलो चरणको कार्यक्रममा भूकम्प प्रभावित चितवनको पहाडी गाविससहित गोर्खा, धादिङ, तनहुँ, नुवाकोट, रसुवा, दोलखा, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा ४ हजार घर परिवारलाई ४० लाख रुपैयाँ बढीको राहत बाँडेको थियो । राहत वितरण गर्दा चर्चित गायकद्वय पशुपति शर्मा र रमेशराज भटराईलगायतलाई पनि सामेल गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment