Comments Add Comment

सांसद विकास कोषको पैसाले बाजा बजाउँदै भजन गाउँदै !

२५ असार,  काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डलाई चुनाव हराउने काठमाडौं १० का कांग्रेस सभासद राजेन्द्रकुमार केसीले सांसद विकास कोषको पैसाबाट गणेमान सिंह स्मृति अध्ययन केन्द्रलाई कम्युटर खरिद गर्न तथा प्रशिक्षण दिनका लागि भन्दै ३ लाख ५० हजार रुपैयाँ दिए ।

कांग्रेस कार्यकर्ताले खोलेको अध्ययन केन्द्रलाई साढे ३ लाख दिएर मात्रै पुगेन, सभासद केसीले सोही संस्थालाई बाजागाजा किन्न र तालिम दिन भन्दै थप २ लाख ७६ हजार ५ सय रुपैयाँ दिए ।

Rajendra Kumar KC
राजेन्द्रकुमार केसी

यसो गर्दा सभासद केसीले पौने पाँच लाख रुपैयाँ विकास निर्माणमा नभई कार्यकर्ताको हितमा खर्च गरेको संसद सचिवायलको रेकर्डमा देखिएको छ ।

त्यसो त अघिल्लो आर्थिक वर्षमा पनि केसीले सञ्जयसिंह स्मृति प्रतिष्ठानलाई कार्यालय व्यवस्थापन र फर्निचर खरिदका लागि भन्दै २ लाख ३५ हजार रुपैयाँ दिएका थिए । सभासद केसीले सांसद कोषको रकम यसरी दुरुपयोग गरिरहे पनि उनीमाथि कतैबाट अनुगमन वा निगरानी भएको छैन ।

सभासद केसीले खसीबजारको एउटा क्लवका नाममा ब्याटमिन्टन कोर्ट निर्माणका लागि १ लाख रुपैयाँ खर्च गरेका छन् ।

सांसद कोषको रकम यसरी दुरुपयोग गर्ने वा आफ्ना नजिकका कार्यकर्तालाई पोस्ने कार्यमा केसी एक्ला सभासदचाँहि होइनन् । अनलाइनखबरले काठमाडौंका १० वटै चुनाव क्षेत्रका सभासदहरुले गरेको निर्वाचन क्षेत्र विकास कोषको रकम विनियोजनबारे विश्लेषण गर्दा सबै सभासदले केही न केही गडबडी गरेकै देखिन्छ ।
Expenses of ktm CA
काठमाडौं ९ का कांग्रेस सभासद ध्यान गोविन्द रञ्जितले श्रीमद भागवत सनातन धर्म संरक्षण समितिलाई सांसद विकास कोषको १ लाख रकम दिएका छन् । कांग्रेस कार्यकर्ताले खोलेको महिला दिदी बहिनी समूहलाई सभासद रञ्जितले २ लाख ५० हजार दिएका छन् ।

जागरण उपभोक्ता समूहको कूल पूजाका लागि सभासद रञ्जितले सांसद विकास कोषबाटै ८५ हजार रुपैयाँ दिएका छन् भने स्थानीय क्लबलाई फर्निचर किन्न १ लाख दिएका छन् ।

कांग्रेस सभासद रञ्जितले विकास निर्माणमा लगाउनुपर्ने सांसद कोषको रकमबाट बलकुमारी भजन मण्डललाई ५० हजार रुपैयाँ बाँडेका छन् ।

विकासका कुरा गर्ने कांग्रेस नेता एवं क्षेत्र नं ८ का सभासद नवीन्द्रराज जोशीले सांसद विकास कोषको रकमबाट लोकतान्त्रिक नेवा खलः नामक भातृ संगठनलाई बाजा र फर्निचर किन्नका लागि १ लाख १४ हजार १ सय २५ रुपैयाँ दिएका छन् ।

अघिल्लो आर्थिक वर्ष पनि सभासद जोशीले ‘लोकतान्त्रिक सांस्कृतिक नेवा खलः’ नामक संस्थालाई बाजा तथा फर्निचर किन्न भन्दै १ लाख रुपैयाँ दिएका थिए । वर्षेनी एउटै संस्थालाई जोशीले एउटै शीर्षकमा यसरी सरकारी ढुकुटी बाँड्दै आएका छन् ।

रामेश्वर फुँयाल
रामेश्वर फुँयाल

काठमाडौं क्षेत्र नं ३ का एमाले सभासद रामेश्वर फुँयालले लोकसेवाको तयारी कक्षा सञ्चालनका लागि वर्षेनी सांसद कोषको रकम खर्च गर्दै आएका छन् । जबकि लोकसेवाको तयारी नितान्त निजी प्रतिस्पर्धाको विषय हो ।

सभासद फुँयालले अघिल्लो आर्थिक वर्षमा सांसद कोषबाट लोकसेवाको तयारीका लागि चन्दै १ लाख २५ हजार निकासा गरेका थिए । यसवर्ष लोकसेवा प्रशिक्षण शीर्षकमा फुँयालले ५० हजार निकासा गराएका छन् ।

त्यस्तै सभासद फुँयालले मदन आश्रित स्मृति वाचनालयको भवन मर्मतका लागि १ लाख २७ हजार दिएका छन् । बाजा बजाउने तालिमका लागि डेढ लाख, महिला सामुदायिक भवन निर्माणका लागि १ लाख र क्लवको भवन बनाउन १ लाख लगायतका खर्चहरु फुयालँको चुनाव क्षेत्रमा गरिएका छन् ।

नरहरि अाचार्य
नरहरि अाचार्य

कानूनमन्त्री समेत रहेका काठमाडौं ५ का सभासद नरहरि आचार्यले सांसद कोषको रकम मखमलको जुत्ता बनाउने तालिम, सितारा भरेको ब्याग बनाउने तालिम, च्याउ खेती र पनिर बनाउने तालिम एवं ब्युटिसियन तालिम आदिमा खर्च गरेका छन् ।

सभासद आचार्यले पनि बाजा खरिदका लागि १ लाख ५ हजार खर्च गरेका छन् । क्लबको भवन बनाउन डेढ लाखसम्म खर्च गरेका छन् ।

prakasmansing
प्रकाशमान सिंह

स्थानीय विकास मन्त्रीसमेत रहेका काठमाडौं १ का सभासद प्रकाशमान सिंहले ‘सर्वहित सामाजिक सेवा संस्था’ नामक एनजिओका नाममा एकमुष्ट ४ लाख रुपैयाँ दिएका छन् ।
काठमाडौं २ का कांग्रेस सभासद दीपक कुइँकेलले विभिन्न महिला समूहका नाममा ६ लाखभन्दा बढी खर्च गरेका छन् ।

काठमाडौं ४ का गगन थापाले बाजा खरिदका लागि २ लाखसम्म खर्च गरेका छन् भने महिला समूहका लागि २ लाखभन्दा बढी खर्च गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment