Comments Add Comment

आयरल्याडको हार नै नेपाली क्रिकेटको अन्त्य होइन

Nepal-cric

राजकुमार श्रेष्ठ

३ साउन, काठमाडौं । नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकप विश्वकपका छनोट हुने मात्र होइन, छनोट प्रतियोगिताकै च्याम्पियन बन्ने लक्ष्य लिएर आयरल्याण्ड गएको थियो ।

तर, ठीक उल्टो भयो । निकै खराब प्रर्दशन गर्दै नेपाल समूह ए को पुछारमा रहेर फर्कियो । कुनै पनि खेलमा नेपालको प्रदर्शन वाह भन्ने अवस्था रहेन ।

दुई वर्षअघि बंगलादेशमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले टी-२० स्टाटस थियो । तर, यो पटक विश्वकप छनोटमा नेपालको ब्याटिङ आयरल्याण्डदेखि नवप्रवेशी टीम जर्सीसँग समेत टुँडा टेक्यो । बलिङलाई नेपालको मुख्य हतियार मानिन्छ । तर, त्यो पनि अपेक्षाकृत चल्न सकेन ।

यसले प्रश्न उठाएको छ, के नेपाल साँच्चिकै कमजोर टीम हो ? अघिल्लो पटक ‘भूलबस’ छनोट पार गर्दै विश्वकप खेल्न पुगेको थियो ? यस्ता प्रश्न धेरैका मनमा उठन सक्छन् ।

तर, अहिले नै त्यो निष्कर्षमा पुग्नु गलत हुनेछ । नेपालको क्रिकेटको भविश्य सकिएको छैन । यसमा दुई मत छैन नि यो प्रतियोगितामा नेपालको प्रदर्शन बिर्सन लायक नै रहृयो ।

पूर्व राष्ट्रिय क्रिकेटर तथा प्रशिक्षक राजु बस्न्यात र अम्पायर तथा खेल पत्रकार देवेन्द्र सुवेदी भन्छन्-नेपालको क्रिकेटको अन्त्य होइन, र नेपाली क्रिकेट सकिएको छैन । राम्रोका लागि तयार गर्नुपर्छ भन्ने पाठ सिकाएको छ ।’

जर्सीविरुद्ध नेपालमा देखिएको ओभर कम्फिडेन्ट घातक बन्यो

नेपालको ब्याटिङ चल्न सकेन । अमेरिकाविरुद्धको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले बनाएको ५२ रन र अनिल मण्डलसँगको ७८ रनको कीर्तिमानी साझेदारी बाहेक कुनै पनि ब्याट्सम्यानको प्रदर्शन सुखद रहेन । ‘ब्याटिङ हाम्रो डोमिस्किट क्लब लेभलको भन्दा पनि कमजोर रहृयो’ बस्न्यातले भने ।

Binod-Bhandari

नेपालको ब्याटिङ यति कमजोर पनि होइन, जुन यो पटक भयो भन्छन् खेल पत्रकार सुवेदी । समूह चरणको अन्तिम खेलमा जर्सीविरुद्ध नेपालमा देखिएको ओभर कम्फिडेन्ट घातक बन्यो । लगातार सुपर फ्लप भइरहेका विनोद भण्डारीलाई नै ओपनिङमा पठाउनुले यहि संकेत गर्छ ।

अघिल्लो पटक नेपालले टी-२० विश्वकपको यात्रा गर्दा विश्वकप छनोट यूएईमा भएको थियो भने विश्वकप बंगलादेशमा । त्यसबेला नेपालले अविश्वसनीय क्रिकेट खेलेका थियो, जुन न त्ससअघि खेलेको थियो न त्यसपछि नै खेल्न सकेको छ । दुबै एसियन कण्डिसनमै थियो ।

तर, आईसीसीले यो पटक एसियन कण्डिसन भारतमा विश्वकप गर्ने निर्णय गरेर छनोट आइरिस कण्डिसनमा राख्यो, जसले नेपाललाई डुबायो ।

नेपालले युरोपीयन कण्डिसनमा विगत पनि राम्रो क्रिकेट खेल्न सकेको छैन । सन् २००८ मा जर्सीमा भएको डिभिजन ५ मा नेपाल तेस्रोमा सिमित भएको थियो, जुन प्रतियोगिताबाट अफगाानस्तानको नयाँ शक्तिका रुपमा उदय भयो । त्यसबेला पहिलो पटक च्याम्पियन बनेको अफगानिस्तानले पछिल्लो ७/८ वर्षमा ठूलो छलाङ मारेको छ ।

यद्यपि योपटक भारतको धर्मशालादेखि इंग्ल्याण्ड र नेदरल्याण्डमा खेलेर नेपाल आयरल्याण्ड पुगेको थियो । धर्मशालामा दुई सातामा अभ्यास गरेर फर्किएपछि नेपालका प्रशिक्षक पुबुदु दशानायके र कप्तान पारस खड्काले नेपालको लक्ष्य उपाधि भनेकाले धेरैले ठूलो अपेक्षा राखेका थिए ।

पिच कण्डिसन फेरि हाम्रा लागि मात्र होइन, आयोजकमध्ये अरु सबैका लागि समान हो । कप्तान पारस खड्काले पनि त्यही भन्दै आएका छन् ।

तर, आइरिस कण्डिसनमा एसियन टीम (नेपाल र यूएई)लाई नै धेरै पीडा दियो । समूह बीमा चौथो भएको ओमानमा पनि एसियन टीम नै हो । तर, १/२ खेलाडीको प्रदर्शनमा भर पर्ने टीम भएकाले नेपालले जस्तो पीडा भोग्नु परेन । तर, उसको पनि लय अस्थिर नै रहृयो ।

कानमा तेल हालेर बसेको क्यान

जुन देशमा राष्ट्रिय लिग तथा क्रिकेटको कुनै संरचना छैन, त्यस्तो देशको टीमले हरेक पटक विश्वकप खोल्नुपर्छ भनेर अपेक्षा गर्नु मूर्खता नै हुनेछ

हरेक क्रिकेट टीमको सफलता र असफलता त्यो देशको क्रिकेट संघसँग पनि जोडिन्छ । तर, नेपालको क्रिकेट एशोशिएसन क्यान आन्तरिक विवादबाट कहिल्यै माथि उठ्न सकेन । यो पटक त टीम म्यानजेरका लागि भएको विवाद ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै रहृयो ।

टी-२० मान्यता पाएको लामो समयसम्म नेपालले त्यसलाई सदुपयोग गर्न सकेन । प्रशिक्षक बस्न्यात भन्छन्-अहिलेसम्म १८/२० बटा टी-२० खेल्न पाएको भए तयारी राम्रो हुने थियो । अन्तिममा चार वटा खेल्यो । त्यो पनि हतार हतारमा ।’ त्यसअघि हङकङसँग तीन म्याचको सिरिज त पायौं, तर, वर्षायाममा श्रीलंका जाँदा फलदायी हुन सकेन ।

ICC World Twenty20_result

कप्तान पारस खड्काले रहेक पटक राष्ट्रिय संरचनामा जोड दिएका छन्, जुन अपरिहार्य पनि छ । तर, क्यानका पदाधिकारी कानमा तेल हालेर बसेका छन् । यो पटक टी-२० गर्ने भनिएपनि अन्तिम समयमा आएर हुन सकेन ।

जुन देशमा राष्ट्रिय लिग तथा क्रिकेटको कुनै संरचना छैन, त्यस्तो देशको टीमले हरेक पटक विश्वकप खोल्नुपर्छ भनेर अपेक्षा गर्नु मूर्खता नै हुनेछ ।

पुबुदुले सिद्धान्तलार्इ भन्ने प्रश्न गर्ने ठाउँ दिए 

डिभिजन टुका साथै विश्वकप छनोट क्रिकेटमा अपेक्षाकृत प्रदर्शन हुन नसकेपछि प्रशिक्षक पुबुदु दशानायकेमा सीमा देखिएको हो कि भन्ने प्रश्न पनि उठेको छ ।

तर, रहेक प्रतियोगिता अघि एक महिने नियुक्ति पत्र थमाएर उनीबाट धेरै अपेक्षा गर्नु ठिक हुँदैन । प्रशिक्षकलाई कम्तिमा २/३ वर्षको नियुक्तिसँगै लक्ष्य दिनु पर्ने हो, त्यो नेपाल क्रिकेट संघले कहिल्यै गरेन ।

स्मरणीय डेब्यू गरेका सिद्धान्त लोहनीले ले मलाई यसअघि किन मौका दिइएन भन्ने प्रश्न गर्ने ठाउँ पुबुदुले छोडेका छन्

उसो त नेपालको अहिलको टीमको जग बसाउन ठूलो भूमिका खेलेका पूर्व प्रशिक्षक रोए लुक डायसले नेपालको टीम टी-२० का लागि हुँदै होइन भन्थे । तर, पुबुदुले टी-२० मै नेपाललाई विश्वकपसम्म पुर्‍याए । तर, उनले नेपाली टीमलाई एसियन कन्डिसनमा मात्र फिट गराउन सकेका हुन् कि भन्ने प्रश्न गर्न सकिन्छ ।

यो पटक पुबुदुले ओपनिङमा धेरै प्रयोग गरे । तयारीमा गरेको प्रयोग असफल भएपछि उनले प्रयोगितामा नै फरक फरक खेलाडीलाई अपनिङ गराए । शायद, अभ्यासमा नै धेरै प्रयोग गरेको भए राम्रो हुने थियो ।

Sudanta-lohani

साथै जर्सीविरुद्धको खेलमा ब्याट्सम्यान सिद्धान्त लोहनीले स्मरणीय डेब्यू गरे । १६ बलमा २७ रन बनाएका उनको हेलिकोप्टर सर्ट चर्चित रहृयो । उनले मलाई यसअघि किन मौका दिइएन भन्ने प्रश्न गर्ने ठाउँ पुबुदुले छोडेका छन् ।

त्यसैले अब यो हारबाट पाठ सिक्दै नेपालले सन् २०१८ को टी-२० विश्वकप वा सन् २०१९ मा हुने एकदिवसीय विश्वकपलाई लक्ष्य बनाएर अघि बढ्नुको विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment