+

साग खेलकुद डिसेम्बरमा, भौतिक संरचना तयार हुनेमा संशय

२०७५ फागुन  २० गते २०:१७ २०७५ फागुन २० गते २०:१७
साग खेलकुद डिसेम्बरमा, भौतिक संरचना तयार हुनेमा संशय

२० फागुन, काठमाडौं । भौतिक संरचना अभावकै कारण दुई पटकसम्म सरेको साग गेम्सको मिति तेस्रो पटक तय भएको छ ।

हालै सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले नेपालमा आयोजना गर्ने भनिएको साग गेम्स २०१९ को डिसेम्बर १ देखि १० तारिखसम्म आयोजना गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट भन्छन्, ‘एकदेखि १० गर्ने निर्णय भएको उपाध्यक्ष पिताम्बर तिम्सिनाले भन्नुभएको छ । उहाँहरु आएपछि थप जानकारी हुनेछ ।’ तेस्रो पटक मिति तोक्दा पनि भौतिक संरचना तयार हुन्छ कि हुन्न भन्ने संशय हटेको छैन ।

खै भौतिक संरचना ?

सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२ औं सागको समापन समारोहबाट १३औं सागको आयोजना गर्ने जिम्मा नेपालले लिएको थियो । तर, भूकम्पले भौतिक संरचना ध्वस्त बनेपछि श्रीलंकाले नेपालले आयोजना गर्नेमा शंका गर्दै आफूलाई आयोजनाको जिम्मा दिन आग्रह पनि गर्‍यो । तर, नेपालले आफैं प्रतियोगिता आयोजना गर्ने दाबी छाडेको छैन ।

नेपालले २०१८ मै १३ औं सागको आयोजना गर्नुपर्ने थियो तर भौतिक संरचनाकै कारण प्रतियोगिता हुन सकेन र २०१९ को मार्च ९ देखि १८ तारिखसम्म आयोजना गर्ने मिति तोकियो ।

अब डिसेम्बरको भाका राखिएको छ । अन्तिम पटक भन्दै दक्षिण एसियाली ओलम्पिक काउन्सिलले मिति तय गरेको छ । तर, अब तोकिएकै समयमा नेपालले प्रतियोगिता सम्पन्न गर्न सक्छ भन्ने प्रश्न कायमै छ ।

राखेप सदस्य सचिव केशव कुमार विष्ट भने भौतिक संरचनाको कारण साग खेलुकद स्थगित नहुने दाबी गरे । उनी भन्छन्, ‘सबै भौतिक संरचना निर्माण असारदेखि साउनसम्म सम्पन्न गर्छौं ।’

सदस्य सचिवले यस्तो दाबी गरिरहँदा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नै निर्माण सम्पन्न हुनेमा आशंका छ । अन्य खेलका लागि आवश्यक पर्ने कभर्ड हल तथा खेल मैदानहरु पनि पर्याप्त छैन ।

१३औं सागमा फुटबल, क्रिकेट, तेक्वान्दो, कराते, भलिबल, लनटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, स्विमिङ, टेबलटेनिस, प्याराग्लाइडिङ, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की गरी २७ खेल समावेश छन्

सबै खेलका लागि पर्याप्त मात्रामा खेलमैदान तथा कभर्ड हल छैन । तर, राखेप भने पोखरामा पनि साग गेम्सको केही खेलहरु हुने भएकाले प्रतियोगिता आयोजना गर्न कुनै समस्या नभएको दाबी गर्छ । सदस्यसचिव केशवकुमार विष्ट भन्छन्, ‘यो असारभित्रै पोखरा अन्तर्राष्ट्रिय रंगशाला निर्माण सकिन्छ । पहिलेको जस्तो जमाना छैन । राता–राता ठडिन्छ रंगशाला ।’

पोखरा अन्तर्राष्ट्रिय रंगशाला निर्माण जारी छ ।

दक्षिण एसियाली राष्ट्रका खेलकुद कुम्भको रुपमा मानिएको साग १९८४ मा नेपालले पहिलो पटक आयोजना गरेको थियो । त्यसपश्चात १९९९ मा पनि काठमाडौंमा साग सफलतापूर्ण सम्पन्न भएको थियो ।

यो नेपालको लागि प्रतियोगिता गर्ने तेस्रो अवसर हो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय