Comments Add Comment

बन्दमा अलपत्र यात्रुले पानीसमेत खान पाएनन्

१३ साउन, चितवन । हिन्दू राज्यको माग गर्दै हिन्दू राष्ट्र बचाउ अभियानले आह्वान गरेको बन्दले चितवन, नवलपरासी र रुपन्देही जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण जिल्लाहरुमा बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने बजार र शैक्षिक संस्था पनि ठप्प छन् ।
Banda
चितवनबाट ७ पक्राउ

चितवनका आँपटारी, भण्डारा, चौविसकोठी लगायतका स्थानमा बन्दकर्ताहरु बसेर प्रदर्शन गरेका छन् । जबर्जस्ती बन्द गराउन खोज्ने ७ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक राजन अधिकारीका अनुसार अक्सिजन ग्यास बोकेको गाडीको चाबी खोसेको भन्दै चौबिसकोठीबाट एक र आँपटारीबाट ६ जनालाई नियन्त्रणमा लिइएको हो ।

बिहानदेखि ठूला सवारी साधन चल्न सकेका छैनन् । मोटरसाइकल भने फाट्ट फुट्ट चलिरहेका छन् ।  बन्दकर्ताले कतिपय स्थानमा मोटरसाइकल चालकलाई डोर्‍याउन लगाएका छन् ।

अलपत्र यात्रुले पानी समेत खान पाएनन्

नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै गरिएको बन्दको प्रभाव नवलपरासीमा पनि परेको छ । जिल्ला सदरमुकाम परासी र पूर्वपश्चिम राजमार्गमा पर्ने बजारहरु गैंडाकोट, रजहर, प्रगतीनगर, कावासोती, डण्डा, चोरमारा, दुम्कीवास, सुनवल, भुमहि ठप्प छन् ।

अरुणखोला र बर्दघाटमा छिटफुटरुपमा पसल खुले पनि गाडी भने नचलेको प्रहरीले जनाएको छ ।

गैंडाकोटमा सोमबार साँझ जयश्री पुल भाँचिएपछि २४ घण्टासम्म बाटोमै रोकिएका सवारी साधन र तिनका यात्रुहरु बुधबार विहानैदेखिको बन्दले गन्तव्यसम्म पुग्न नपाएर झन् समस्यामा परेका छन् । नवलपरासीका जंगलमा अलपत्र परेका यात्रुहरुले पानीसमेत खान नपाएको गुनासो गरेका छन् ।

बन्दकर्ताहरुले राजमार्गका मुख्य चोकचोकमा बसेर भजनकीर्तन सहित प्रदर्शन गरेका छन् ।

सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई दुर्व्यवहार

रुपन्देहीमा पनि यातायात, बजार, पसल ठप्प छन् । केही स्थानमा बन्दकर्ताहरुले सन्चारकर्मी र मानवअधिकारकर्मीलाई समेत दुर्व्यवहार गरेका छन् ।

समाचार संकलन गर्न भैरहवाको बुद्धचोक पुगेका अनलाइनखबरकर्मी सलमान खान र बन्दको अनुगमन गर्न निस्किएका तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स) पश्चिमाञ्चलका प्रमुख शैलेन्द्र हरिजनको मोटरसाइकलको साँचो बन्दकर्ताले थुतेका थिए ।

परिचयपत्र देखाउँदा समेत बन्दमा किन चलाएको भन्दै उनीहरुले दुर्व्यवहार गरेका थिए । तर नजिकै रहेका सुरक्षाकर्मी मुकदर्शक बनेको हरिजनले बताए ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले भने सवारी साधन चलाउन कुनै अवरोध नरहेको दाबी गर्दै निर्धक्क भएर सवारी साधन चलाउन र आफ्ना नियमित गतिविधि सन्चालन गर्न आग्रह गरे ।

स्वामी कमलनयनाचार्यका अनुयायीहरुले आह्वान गरेको बन्द साँझ ५ बजेपछि खुल्ने छ ।

महोत्तरीका तीन स्थान बन्द

प्रहरी ज्यादतीको बिरोध गर्दै सीके राउतका समर्थकहरुले महोत्तरीका तीन स्थानमा बन्द आह्वान गरेका छन् । मंगलबार राती बलवामा सिके राउतको भिडियो हेर्न जम्मा भएका समर्थकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको भन्दै बलवा, पडौल र सरपल्लो गाउँ विकास समितिका मुख्य बजार बन्द आह्वान गरिएको हो ।

मंगलबार राती भएको दोहोरो झडपमा प्रहरीले राउतका समर्थक स्थानीय संजय यादव र सत्य नारायण साहलाई समेत नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment