Comments Add Comment

‘कोही टक्टकिनु पर्दैन’ भन्दै नेकपामा जबजको ‘च्याप्टर’ खुल्यो !

ईश्वर पोखरेल भन्छन्- विचारमा ग्रे एरिया राखेर कम्युनिस्ट पार्टी चल्दैन

७ चैत, काठमाडौं । नेकपा एकीकरणसँगै ‘च्याप्टर क्लोज’ भएको तत्कालीन नेकपा एमालेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादको ‘च्याप्टर ओपन’ भएको छ ।

मदन भण्डारी फाउण्डेशनको ब्यानरमा शुरु भएको जबजको बहसमा तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेलदेखि तत्कालीन माओवादीका नेता शालिकराम जमरकट्टेलसम्म सहभागी भएका छन् ।

जबजका प्रणेता जननेता मदन भण्डारीकी छोरी उषाकिरण भण्डारीको अध्यक्षतामा विहीबार काठमाडौंमा शुरु भएको प्रदेश ३ स्तरीय भेलामा सो प्रदेशका सबै जिल्लाबाट छानिएका प्रतिनिधि सहभागी छन् ।

‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ लेखिएको ब्यानरमुनि बन्दसत्रको हलमा नेकपाका प्रदेश सचिव आनन्द पोखरेल र प्रदेश ३ का आन्तरिक मामिलामन्त्री तथा पूर्वमाओवादी नेता जमरकट्टेल देखिन्छन् ।

नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेको फाउण्डेशनको भेलामा जमरकट्टेलले पनि सम्बोधन गरेका थिए । प्रदेश ३ का योजना आयोगका उपाध्यक्ष खिमलाल देवकोटाको कार्यपत्रमाथि टिप्पणी गर्न जमरट्टेललाई दिइएको थियो । उनले जबजका बारेमा भने केही नबोलेको सहभागीले बताए ।

दोस्रो सत्रमा नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रममा प्रदेश ३ का करीव दुई दर्जन सांसद तथा नेकपाका नेता कार्यकर्ता सहभागी छन् ।

भेला विहीबार नै प्रदेश ३ को फाउण्डेशनको नेतृत्व घोषणासहित समापन हुने आयोजकले जनाएको छ । भेलाको उद्घाटनसत्रमा बोल्दै नेकपा केन्द्रीय सचिवालय सदस्य तथा उपप्रधामन्त्री ईश्वर पोखरेलले अहिले पार्टी विचारविहीन अवस्थामा रहेको भन्दै जनताको बहुदलीय जनवादको विकल्प नरहेको बताए ।

नेकपा नेता पोखरेलले जबजको कुरा गर्दा मदन भण्डारीसँग गाँसिने भइयो वा हिजोको एमालेसँग गाँसिनुपर्ने भयो भनेर कसैले टक्टकिनु नपर्ने बताए । उनले भने, ‘अब इफ एण्ड बट छैन । विचारमा ग्रे एरिया राखेर कम्युनिस्ट पार्टी अघि बढ्न सक्दैन ।’

हिजोको एमाले र माओवादीले बोकेका बिचारका राम्रा पक्ष समेटेर जाने भन्ने कुरा कुनै बिचार नै होइन भन्दै पोखरेलले अगाडि भने, ‘हामीले संविधानको सर्बोच्चता, आवधिक निर्वाचन, शान्तिपूर्ण प्रतिस्पर्धा भनेर हिजो जबज मान्दै आयौं । यो बिचार नै हाम्रो मार्गदर्शक विचार हो । हिजोको एमाले नै नरहेपछि अब जबज एमालेको भनेर कोही टक्टकिनुपर्दैन ।’

पोखरेलले जबजको अवधारणा पेश गर्दै अब यो विचार एमालेको मात्र पेवा नरहेको र नेपालको विशिष्ठतामा कम्युनिस्ट पार्टीले बोक्ने विचार नै यही हो भने । उनले जबजको विचार श्रृंखलाकै कारण तत्कालीन एमालेको सुसंगठित बलियो संरचना सबै तहमा बन्न सकेको भन्दै सही विचार र दृष्टिकोण नहुँदा कम्युनिस्ट पार्टी दुई तिहाई बहुमतको भए पनि चल्न नसक्ने बताए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण हुँदा तत्कालीन एमालेको जबज र तत्कालीन माओवादीको माओवाद तथा एक्काईसौं शताब्दीको जनवाद थाति राखेर जनताको जनवाद भनिएको थियो । यद्यपि यसबारेमा विवाद भइरहेको छ ।

केपी ओलीको प्रश्न- जबज मान्ने कि समाप्त हुने ?

नेकपाभित्र जबजको च्याप्टर प्रारम्भ गर्नेमा ईश्वर पोख्रेल मात्रै एक्ला नेता होइनन् । यसअघि गत फागुन २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा अनलाइनमा लेखै लेखेर जबजको वकालत गरेका छन् ।

‘बहुदलीय जनवाद अंगीकार गर्ने कि समाप्तिको बाटो रोज्ने ?’ शीर्षकमा प्रकाशित प्रधानमन्त्री ओलीको लेखमा भनिएको थियो, ‘जबजले पूर्ण लोकतन्त्र अर्थात् सबै पक्ष समेटिएको लोकतन्त्र भन्छ । यहाँ आइपुग्ने सवालमा जबजले लामो, बलिदानपूर्ण यात्रा गरेको छ । कसैलाई समयमै यो कुरा बुझ्न अलि समस्या परेको होला । यसलाई या त बुझ्नुपर्छ, या समाप्त वा पतन हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले अगाडि भनेका छन्, ‘अब सिर्फ तीनवटा बाटा छन्- जनताको बहुदलीय जनवादलाई बुझेर, अंगीकार गरेर सफलतापूर्वक अगाडि बढ्ने बाटो, पतनको बाटो वा समाप्तिको बाटो । यी तीनबाहेक अन्य विकल्प छैनन् ।’

पूर्वमाओवादीको फरक मत

पूर्वएमालेका नेताहरुले जबजको पक्षमा पुनः वकालत गर्न थाले पनि पूर्व माओवादीले भने अहिलेसम्म जबजलाई मानिसकेको छैन ।

पछिल्लो सचिवालय बैठकमा केपी ओली र प्रचण्डले ‘जनताको जनवाद’ लाई पार्टीको न्यूनतम कार्यक्रममा मानेकोमा नारायणकाजी श्रेष्ठ, मणि थापा लगायतका पूर्वमाओवादी नेताहरुले आपत्ति जनाएका थिए ।

अधिकतम कार्यक्रम समाजवाद भएता पनि न्यूनतम कार्यक्रममा ‘जनताको जनवाद’ वा ‘बहुदलीय जनवाद’ लाई मान्ने कुनै सहमति नभएको पूर्वमाओवादी नेताहरुले बैठकमा तर्क गरेका थिए । पछि यसलाई सच्याउने भन्दै कार्यदलमा छलफल भएको थियो ।

तर, यसैवीचमा पूर्वएमालेका नेताहरु जबजलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने सार्वजनिक बहसमा उत्रिन थालेका छन् । भलै, यसबारे पूर्वमाओवादीबाट कुनै प्रतिक्रिया आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment