+
+
Shares
विचार :

जबज राजनीतिक नारा मात्र हो ?

राजनीतिक क्षेत्रमा जबजले अगाडि सारेका अवधारणाहरूले राम्रै प्रभाव पारे पनि राष्ट्रिय स्वाधीन अर्थतन्त्र निर्माणको क्षेत्रमा प्रभावकारी भूमिका खेल्न सकेको देखिंदैन ।

जितेन्द्र बानियाँ जितेन्द्र बानियाँ
२०८२ असार २० गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०४६ सालको जनआन्दोलनले नेपालको राजनीतिक व्यवस्था परिवर्तन गर्‍यो।
  • नेकपा (एमाले) का महासचिव मदन भण्डारीले २०४९ सालमा \'जनताको बहुदलीय जनवाद\' को अवधारणा प्रस्तुत गरे।
  • जबज समाजवाद र लोकतन्त्रलाई जोड्ने वैचारिक मार्गदर्शन हो र समयानुकूल परिमार्जन आवश्यक छ।

२०४६ सालको जनआन्दोलनले नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण मोड ल्यायो। सो आन्दोलनले पञ्चायती व्यवस्था अन्त्य गर्‍यो र संवैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापना गर्‍यो। यस परिवेशमा नेपाल कम्युनिष्ट पार्टीले मार्क्सवादी–लेनिनवादी सोचका आधारमा नेपाली समाजमा समाजवादी परिवर्तन कसरी सम्भव छ भन्ने बहस अघि सार्‍यो।

नेपालमा पञ्चायती शासन अन्त्य भई बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि वामपन्थी शक्तिहरूको अगाडि एउटै प्रश्न थियो– लोकतान्त्रिक परिवेशमा कम्युनिष्ट आन्दोलन कसरी अघि बढ्ने ? पारम्परिक साम्यवादी दृष्टिकोण, जसले एकदलीय सर्वसत्तावादमा विश्वास राख्थ्यो, त्यो लोकतान्त्रिक संरचनासँग ठोक्किन पुग्थ्यो।

यस्तो द्वन्द्वको समाधान स्वरूप २०४९ साल माघमा सम्पन्न एमालेको पाँचौं महाधिवेशनमा तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीले सशस्त्र क्रान्तिको सट्टा लोकतान्त्रिक पद्धति अपनाएर समाजवादमा पुग्ने मार्गको रुपमा ‘जनताको बहुदलीय जनवाद’ को अवधारणा ल्याए। जसलाई नै जबज भनियो। सोही महाधिवेशनबाट जबज एमालेको आधिकारिक मार्गदर्शक सिद्धान्त बन्यो।

जनताको बहुदलीय जनवाद जुन नेपालमा नेकपा (एमाले) र पछि नेकपाका विभिन्न धारहरूले आत्मसात् गरेको वैचारिक मार्गदर्शनको रूपमा अङ्गीकार गरेको देखिन्छ। बहुदलीय लोकतन्त्रको स्वीकारोक्ति, मार्क्सवाद-लेनिनवादको पुनर्व्याख्या, शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धा, जनमुखी र राष्ट्रवादी दृष्टिकोण जस्ता विशेषता जबजमा समेटिएका छन्। जबज नेपाली सन्दर्भमा एक सशक्त वैचारिक योगदान हो जसले सैद्धान्तिक कठोरताभन्दा व्यावहारिक यथार्थलाई महत्व दिएको छ। लोकतान्त्रिक व्यवस्थाभित्र कम्युनिष्ट पार्टी कसरी सक्रिय हुन सक्छ भन्ने प्रश्नको उत्तर जबज हो।

जबज पनि स्थिर होइन, समयानुकूल परिमार्जन र समालोचना आवश्यक छ। यदि मूल मर्मलाई भुलियो भने, यो विचारधारा पनि केवल नारामा सीमित हुनसक्छ। त्यसैले, आजको युगमा जबजको पुनरावलोकन गर्दै त्यसलाई सशक्त बनाउनु कम्युनिष्ट आन्दोलनको आवश्यकीय कार्य हो।

जबज नेकपा एमालेको मात्र होइन, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिक मार्गदर्शन सिद्धान्त हो। यसले समाजवाद प्राप्तिको वैकल्पिक मार्ग प्रदान गर्छ; जहाँ जनता, बहुदलीय प्रतिस्पर्धा र राष्ट्रिय स्वतन्त्रता सबैलाई समेटेर लैजाने सोच राखिएको छ। राजनीति जनताको जीवनसँग प्रत्यक्ष जोडिएको शक्ति हो, जसले समाजको रूपान्तरण, राज्यको दिशा र जनताको समृद्धिको मार्ग निर्माण गर्छ। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक र आर्थिक रूपले विविध समाजमा जबज अर्थात् जनताको बहुदलीय जनवादले लोकतन्त्र र समाजवादलाई सँगै जोड्ने प्रयास गरेको छ। तर, जबज पनि स्थिर होइन, समयानुकूल परिमार्जन र समालोचना आवश्यक छ। यदि मूल मर्मलाई भुलियो भने, यो विचारधारा पनि केवल नारामा सीमित हुनसक्छ। त्यसैले, आजको युगमा जबजको पुनरावलोकन गर्दै त्यसलाई सशक्त बनाउनु कम्युनिष्ट आन्दोलनको आवश्यकीय कार्य हो।

जबजको प्रभाव पछिल्ला दशकहरूमा नेपालको संविधान निर्माण प्रक्रिया र सरकार सञ्चालनमा देखिन्छ। राजनीतिक क्षेत्रमा जबजले अगाडि सारेका अवधारणाहरूले राम्रै प्रभाव पारेको भए पनि राष्ट्रिय स्वाधीन अर्थतन्त्र निर्माणको क्षेत्रमा प्रभावकारी भूमिका खेल्न सकेको देखिंदैन। यो विषय आज जबजलाई मार्गदर्शन सिद्धान्तको रूपमा अङ्गीकार गरेर राजनीति गर्ने दलहरूले बहसको विषय बनाउनुपर्ने देखिन्छ। वर्तमान सन्दर्भमा जबजले उद्यमशीलता र प्रगति सहितको परिवर्तन जस्ता नयाँ अवधारणाहरू आत्मसात् गर्न आवश्यक देखिएको छ।

स्वाधीन अर्थतन्त्र निर्माणको सवाल

१. राष्ट्रिय स्वाधीनता र आत्मनिर्भरता: जबजले विदेशी नियन्त्रण वा प्रभुत्वबाट मुक्त राष्ट्रको आर्थिक स्वाधीनतालाई प्राथमिकता दिन्छ। उसले भन्छ, असली स्वाधीनता तब मात्र सम्भव हुन्छ, जब अर्थतन्त्र पनि आत्मनिर्भर हुन्छ।

२. उत्पादनमुखी अर्थतन्त्र: जबजले उपभोगमुखी होइन, उत्पादनमुखी अर्थतन्त्रको पक्षमा जोड दिन्छ। कृषि, उद्योग, जलस्रोत जस्ता उत्पादनशील क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्ने कुरा गर्छ।

३. सामाजिक न्याय सहितको वितरण: जबजको विचारमा, अर्थतन्त्रको लक्ष्य केही मुट्ठीभर धनीहरूलाई फाइदा पुर्‍याउने होइन, जनताको समुचित जीवनस्तर सुधार हो। त्यसैले उसले समावेशी र न्यायसंगत वितरण प्रणालीको वकालत गर्छ।

४. राज्यको सशक्त भूमिका: जबज अनुसार, राज्यले निजी क्षेत्रलाई मात्र छोडेर हुँदैन। राज्यले योजना, नीति, लगानी र पूर्वाधारमा अगुवाइ गर्दै समावेशी आर्थिक विकास सुनिश्चित गर्नुपर्छ।

५. स्थानीय स्रोत–साधनको उपयोग: जबजले स्वदेशी पूँजी, सीप, कच्चा पदार्थ र श्रमको अधिकतम प्रयोग गरेर आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न जोड दिन्छ। आयातमा निर्भर होइन, स्वदेशी उत्पादनमा आधारित नीति अपनाउनुपर्ने कुरामा बल दिन्छ।

६. जनताको सहभागिता: जबज अनुसार, जनताको सहभागिता र स्वामित्व विना अर्थतन्त्र स्वाधीन हुन सक्दैन। आर्थिक नीति बनाउने र कार्यान्वयन गर्ने प्रक्रियामा जनताको समावेश सुनिश्चित गर्नुपर्ने कुरा गरिन्छ। यी र यस्ता अवधारणा कार्यान्वयनको लागि उद्यमशीलता सहितको राजनीति र प्रगति सहितको परिवर्तन अपरिहार्य छ।

उद्यमशीलताको भूमिका

जबजले समान अवसरको कुरा गर्छ, तर ती अवसरलाई प्रयोग गरेर आत्मनिर्भर बन्ने मार्ग उद्यमशीलता हो। उद्यमशीलता भन्नाले नयाँ सोच, सिर्जनशीलता र जोखिम बहन गरेर आर्थिक उत्पादन र सेवा सिर्जना गर्नु हो। जबजले लोकतन्त्र, समाजवाद र राष्ट्रियता तीनवटै स्तम्भलाई समेट्छ। जबजले समाजवादी रूपान्तरणका लागि निजी क्षेत्र, राज्य क्षेत्र र सहकारी क्षेत्रको त्रिविध आर्थिक नीति अवलम्बन गर्छ। यस सन्दर्भमा उद्यमशीलतालाई विकास, रोजगारी र उत्पादनको महत्वपूर्ण माध्यमको रूपमा लिइन्छ।

१. उत्पादनमा विविधता र नवीनता ल्याउने : समाजवादी समाज निर्माणमा समाजको आवश्यकता र मानव जीवनलाई सरल र सुलभ बनाउनको लागि वस्तु उत्पादनको विविधता विज्ञान र प्रविधिको उपयोग अपरिहार्य मानिन्छ। उद्यमशीलताले नवप्रवर्तनलाई उत्प्रेरित गर्छ र परम्परागत प्रणालीलाई प्रतिस्थापन गर्दै उत्पादकत्व बढाउँछ।

२. रोजगार सिर्जना गर्ने : जबजले बेरोजगारी घटाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति लिन्छ। तर उद्यमशीलताले युवालाई स्वरोजगारतर्फ आकर्षित गराउँछ र रोजगारी सिर्जना गर्छ। विशेषगरी लघु, साना तथा घरेलु उद्यमहरूलाई प्रोत्साहन दिइन्छ। जसले गर्दा समाजमा बेरोजगारीको संख्या घट्ने र स्वरोजगार र रोजगारको संख्या वृद्धि गर्ने काम हुन्छ

३. सामाजिक न्याय र आर्थिक समावेशीकरण : जबजको मूल मर्म अनुसार समाजका सबै वर्ग, जाति र लिङ्गलाई आर्थिक क्रियाकलापमा सहभागी गराउनुपर्छ। उद्यमशीलता मार्फत महिला, दलित, जनजाति र पिछडिएको वर्गलाई सशक्त बनाउने कार्यक्रमहरूले जबजको समाजवादी लक्ष्यलाई सार्थक बनाउन उद्यमशीलताको विकास विना असम्भव छ।

४. स्थानीय विकास र आत्मनिर्भरता : स्थानीय स्रोत–साधनको उपयोग गर्दै स्थानीय उत्पादनमा आधारित उद्यमहरू स्थापना गर्नु जबजको आत्मनिर्भर अर्थतन्त्र निर्माणको दृष्टिकोणसँग मेल खान्छ। यसले आयातमा निर्भरता घटाउँछ र स्वदेशी उत्पादनलाई प्रवर्धन गर्छ। यस कारण पनि जबजमा उद्यमशीलतालाई समावेश गरेर लैजानु अपरिहार्य छ

५. सहकारी र निजी क्षेत्रसँगको सहकार्य : जबजले तीनखाले क्षेत्र राज्य, निजी र सहकारीको संयुक्त भूमिकालाई मान्यता दिएको छ। यस अन्तर्गत, उद्यमशीलता सहकारी अभियानसँग गाँसिएर सामूहिक उद्यम तथा सामाजिक उद्यमको विकासमा योगदान पुर्‍याउँछ।

६. ग्रामीण तथा पिछडिएको समुदायको सशक्तीकरण

जबज केवल राज्यका कार्यक्रमहरूमा निर्भर रहनु होइन, राज्यले आधार बनाइदिएर जनतालाई उद्यम गर्न प्रोत्साहन गर्नु पनि हो। जबजको आर्थिक नीति अनुसार उद्यमशीलता केवल नाफामूलक क्रियाकलाप होइन, यो समाजलाई समृद्ध, समान र आत्मनिर्भर बनाउने औजार हो। यसले उत्पादन, रोजगारी र नवप्रवर्तनलाई अघि बढाउँछ। त्यसैले आजको समय अनुसार जबजको व्याख्यामा उद्यमशीलतालाई अझ स्पष्ट, सशक्त र व्यावहारिक रूपमा समेट्नु आवश्यक छ।

सुधारको आवश्यकता र भूमिका

जबज केवल एउटा वैचारिक दस्तावेज होइन, यो नेपालमा समाजवादको नेपाली बाटो हो। तर, कुनै पनि विचारधारा जस्ताको त्यस्तै स्थिर रहँदैन। समय, समाज र जनअपेक्षासँगै त्यसमा प्रगति सहितको परिवर्तन अपरिहार्य हुन्छ। जबजलाई नवप्रवर्तनशील, व्यावहारिक र जनमुखी बनाउँदै लैजान सकियो भने मात्र यो दीर्घकालीन राजनीतिक सिद्धान्तको रूपमा सफल हुनेछ। आजको नेपाली समाजले चाहेको परिवर्तन हैन प्रगति सहितको परिवर्तन हो।

परिवर्तन समाजको अवस्था र व्यवस्थाको फेरबदल हो तर समाजको विकास क्रम व्यवस्था र अवस्थाको फेरबदलले मात्र पुग्दैन प्रगति सहितको परिवर्तन आवश्यक हुन्छ। प्रगति सहितको परिवर्तन समाजको व्यवस्था र अवस्थाको सुधार हो। आजको आवश्यकता फेरबदल हैन सुधार हो। त्यसैले जबज जस्तो नेपालको मौलिक राजनीतिक सिद्धान्तले यो अवधारणालाई आत्मसात् गर्न आवश्यक देखिन्छ।

प्रगति सहितको परिवर्तनको आवश्यकता

१. समय–सापेक्षता : जबज विगतका ऐतिहासिक परिस्थितिमा आधारित थियो, तर वर्तमानमा जनअपेक्षा, प्रविधि, सूचना क्रान्ति र सामाजिक गतिशीलता बदलिएको छ। त्यसैले यसको सिद्धान्तलाई अद्यावधिक गर्नु जरूरी छ।

२. आदर्श र व्यवहार बीचको दूरी : सिद्धान्तमा जनताको सर्वोच्चता भनिए पनि व्यवहारमा नेतृत्वमा व्यक्तिवाद, सत्ताकेन्द्रित प्रवृत्ति र साङ्गठनिक विचलन देखिन्छ। यसलाई सुधार्न जबजको व्यावहारिक कार्यान्वयनमा परिवर्तन आवश्यक छ।

३. नवीन विचारको समावेश : जलवायु परिवर्तन, डिजिटल अर्थतन्त्र, समावेशिता, लैङ्गिक समानता जस्ता विषय जबजले पर्याप्त सम्बोधन गर्न सकेको छैन। नयाँ यथार्थलाई आत्मसात् गर्दै जबजलाई समृद्ध बनाउनुपर्छ।

४. लोकतान्त्रिक अभ्यासको सुदृढीकरण : बहुदलीय प्रतिस्पर्धामा जनताको सहभागिता, पारदर्शिता र जवाफदेहितालाई अझै बलियो बनाउनु आवश्यक छ। यसका लागि राजनीतिक संस्कार सुधार्नुपर्ने देखिन्छ।

परिवर्तनको भूमिका

१. जनमुखी समाजवादको निर्माण : जबजको आधुनिक व्याख्या जनतालाई केन्द्रमा राख्ने, गरिबी उन्मूलन, सामाजिक सुरक्षा र आर्थिक समानतामा केन्द्रित हुनेछ।

२. सङ्गठन सुदृढीकरण : जबजमा परिवर्तनले पार्टीभित्र विचार, अनुशासन र जनसम्पर्कलाई सशक्त बनाउनेछ, जसले दीर्घकालीन संगठनात्मक शक्ति दिन्छ।

३. वैचारिक स्पष्टता : परिवर्तनले जनतामा जबजप्रति नयाँ उत्साह, विश्वास र साथ ल्याउँछ, जसले वैचारिक धरातललाई बलियो बनाउँछ।

४. अन्तर्राष्ट्रिय सन्दर्भमा प्रतिस्पर्धा : बदलिंदो विश्व सन्दर्भमा जबजको सशक्तीकरणले नेपाललाई नीतिगत दृष्टिले आत्मनिर्भर, आधुनिक र न्यायपूर्ण समाज निर्माणतर्फ अग्रसर गराउँछ। तसर्थ जबजमा उद्यमशीलता सहितको राजनीति र प्रगति सहितको परिवर्तनको अवधारणालाई समावेश गरे मात्र पूर्ण हुने देखिन्छ।

(बानियाँ रिटर्नी फेडेरेसन नेपालका उपाध्यक्ष हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?