
News Summary
Generated by OK AI. Editorially reviewed.- पर्यटनमन्त्री बद्री पाण्डेले दुवै विधेयकलाई छिटो अघि बढाउन आग्रह गरे।
- उनले विधेयक सम्बन्धित निकाय र विज्ञहरूको सुझावमा आधारित रहेको बताए।
- सांसदहरूले विधेयकको महत्त्वलाई ध्यानमा राख्दै गम्भीर छलफल गर्न आग्रह गरे।
२० असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१’ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिए ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा भएको बैठकमा मन्त्री पाण्डेले विधेयक सरकारले मात्र होइन, सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने स्पष्ट पारे ।
‘प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा छुट्टाछुट्टै संरचना आवश्यक छ,’ मन्त्री पाण्डेले भने, ‘आईकाओ लगायतका अन्तर्राष्ट्रिय निकायको सिफारिस र नेपालको आवश्यकताका आधारमा विधेयक ल्याइएको हो ।’
उनले नेपालमा हवाई सुरक्षा सम्बन्धी चुनौती कायमै रहेको उल्लेख गर्दै विधेयक विभाजनका विषयमा कुनै अन्योल नरहेको प्रष्ट पारे ।
मन्त्री पाण्डेले विधेयक तयार पार्ने क्रममा सरोकारवाला निकाय र विज्ञसँग पटक–पटक छलफल र परामर्श गरिएको जानकारी दिए । उनले नियामक र सेवा प्रदायक निकाय छुट्टिएर स्वायत्त रूपमा सञ्चालनमा आएमात्र हवाई सुरक्षामा सुधार आउनेमा विश्वास व्यक्त गरे ।
उक्त विधेयकमाथि प्रतिनिधिसभाका ७५ सांसदहरूले सक्रिय भाग लिएर छलफल भइसकेको र अब संशोधनमाथि गहन छलफल गरेर निष्कर्षमा पुगिने विश्वास उनले व्यक्त गरे ।
यसैबीच समितिका सभापति राजकिशोर यादवले विधेयक महत्त्वपूर्ण प्रकृतिको भएको उल्लेख गर्दै सांसदलाई गम्भीरतापूर्वक छलफलमा सहभागी भई मार्गप्रशस्त गर्न आग्रह गरे ।
प्रतिक्रिया 4