+
+
Shares

क्यानको महानिर्देशक छान्न दरखास्त आह्वान : मन्त्री पौडेल भन्छन्- ब्रिफकेस र दलको झोला बोक्ने युग सकियो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते ७:५१

१२ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को रिक्त महानिर्देशक पदपूर्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले शनिबार एक सूचना प्रकाशन गर्दै योग्य उम्मेदवारहरूबाट ७ दिनभित्र आवेदन माग गरेको हो।

मन्त्रालयले यसपटक महानिर्देशक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागिएको जनाएको छ। विगतमा मन्त्रिपरिषद्को ठाडो निर्णयबाट महानिर्देशक नियुक्त हुने परम्परा रहेकोमा यसपटक प्रक्रियागत प्रतिस्पर्धा गराउन लागिएको हो।

मन्त्री खडकराज पौडेलले इतिहासमै पहिलोपटक प्राधिकरणको महानिर्देशक नियुक्ति प्रतिस्पर्धाबाट हुन लागेको दाबी गरेका छन्। उनले अब ‘मन्त्रीको खल्तीबाट टपक्क झिकेर’ नियुक्ति गर्ने दिन गएको बताएका छन्।

‘प्रतिस्पर्धाका सबै चरणहरू पारदर्शी र पक्षपातरहित हुनेछन्,’ मन्त्री पौडेलले आफ्नो भनाइ सार्वजनिक गर्दै भनेका छन्, ‘अब चाकरी गरेर, ब्रिफकेस भरेर या दलको झोला बोकेर नियुक्ति खाने दिन गए। योग्यता र इमान्दारीको कसीमा पास हुनुस् ! बस !’

मन्त्रालयको सूचनामा आवेदन दिन पाउने उम्मेदवारको दायरा सीमित गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ को उपदफा (१) बमोजिम जारी सूचनाअनुसार निजी क्षेत्रका उड्डयन विज्ञ वा बाहिरका स्वतन्त्र व्यक्तिले यसमा प्रतिस्पर्धा गर्न पाउने छैनन्।

सूचनामा स्पष्ट रूपमा सर्त राखिएको छ- ‘नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा बहाल रहेका इच्छुक उम्मेदवारहरूले मात्र’ यस पदका लागि आवेदन दिन सक्नेछन्।

यसको अर्थ यो प्रतिस्पर्धा पूर्ण रूपमा खुला नभई सरकारी तथा प्राधिकरणकै बहालवाला कर्मचारीहरूबीचको आन्तरिक प्रतिस्पर्धा मात्र हुनेछ।

योग्यता पुगेका बहालवाला कर्मचारीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सिंहदरबारस्थित मन्त्रालयमा आवेदन बुझाउनुपर्नेछ। उम्मेदवारले पेस गर्नुपर्ने कागजात, अनुभव, छनोट विधि र पारिश्रमिक लगायतका विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?