Comments Add Comment

प्रचण्ड रातारात किन ओर्लिए ६ प्रदेशमा ?

Prachanda-Speaks-to-Media-after-PDCC-Meeting

२० साउन, काठमाडौं । चारदलवीच १६ बुँदे सहमति गर्दा कमसेकम आठ प्रदेश बनाउन सक्नुलाई आफ्नो एजेन्डाको जीत बताएका एमाओवादी अध्यक्ष प्रचण्ड मंगलबार साँझदेखि एकाएक ६ प्रदेशमा ओर्लिएका छन् । तथापि बुधबार विहानदेखि राति ९ बजेसम्म छलफल भएपनि चार दलका नेताहरु सहमतिमा पुग्न सकेका छैनन् ।

चारदलको पूर्वसहमति ८ प्रदेशबाट दुईवटा प्रदेश घटाउन एमाओवादी तयार देखिएको छ । ‘हामीले पहिला पनि ६ प्रदेशको विकल्प दिएका थियौं । हामीले भनेजस्तै हुने हुन्छ भने अध्यक्षले यसमा सहमति जनाउन सकिन्छ भन्नुभएको हो’ एमाओवादीका एक नेताले अनलाइनखबरसँग भने-‘८ प्रदेश त कतैबाट पनि मिल्दो देखिएको थिएन ।’

स्रोतका अनुसार एमाओवादी झापा, मोरङ र सुनसरीलाई पूर्वमा बन्ने प्रदेशमा राख्न समेत सकारात्मक देखिएको छ । तर, कैलालीबारे सहमति हुन बाँकी छ ।

एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले आफूहरु ६ प्रदेश मान्न तयार रहेको तर, योसँगै अन्य विषयमा पनि सहमति हुनु पर्ने अनलाइनखबरलाई बताए । उनले भने-‘हामीले पहिले पनि ६ प्रदेशमा जान सकिन्छ भनेकै हौं, तर योसँगै नागरिकता, धर्म निरपेक्षता र शासकीय स्वरुप लगायतका विषयमा समेत एकमुष्ट सहमति हुनुपर्छ ।’

बुधबार नै एमालेले स्थायी कमिटीबाटै उत्तर दक्षिण हुने गरी पाँचदेखि ६ प्रदेश बनाउने प्रस्ताव गरेको छ । तर, दिनभर चार दलका शीर्ष नेताहरुबीच विभिन्न चरणमा भएको छलफल सहमतिमा पुग्न सकेन ।

चार दलबीच नागरिकता, धर्म लगायतका विषयमा पनि सहमति हुन बाँकी छ । ‘सहमति गर्न भनेर हामी लागेका छौं । तर, कुनै सहमति भइसकेको छैन’ एक नेताले भने-‘भोलि विहान ९ बजेदेखि नै फेरि छलफलमा जुट्टौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment