Comments Add Comment

यूएईकी पहिलो नेपाली एमआर अमृता सबैको हाइहाई

रामप्रसाद ढुंगेल

यूएई । उनी कहिले नेपाली दूताबासमा एमआरपी वितरणमा पासपोर्ट संकलन तथा वितरण गरिरहेकी भेटिन्छिन् । कहिले समस्यामा परेका नेपाली चेलीलाई लिएर अबुधाबी अदालत पुगेकी हुन्छिन् त कहिले दोभासे तथा अन्य सहयोग गर्न स्थानीय पुलिस स्टेसनमा भेटिन्छिन् ।

यूएईका ७ लेनका फराकिला सडकहरुमा १ सय २० किलोमिटरको गतिमा दैनिक ५० देखि ६० किमी ड्राइभ गर्नु त उनको दैनिकी नै हो । फुर्सदमा उनी अबुधाबीको इलेक्ट्रा रोडमा अवस्थित नेपाली चोकका रुपमा परिचित काठमाडौं सैलुन र नेपाल प्यालेस रेस्टुरेन्ट परिसरमा एनआरएनका नेता तथा रैथाने नेपालीहरुसँग चियाको चुस्कीसँग गफिदै गरेकी हुन्छिन् ।

amrita aryalझट्ट हेर्दा रिल लाइफमा देखिने हिरोइनझैं लाग्ने काठमाडौं थानकोटकी अमृता सिग्देल यूएईको नेपाली समुदायकी भने हिरोइन नै हुन् । नेपालीले दुःख पाएको सुन्न सक्दिनन् उनी, आफैं पुग्छिन् सेतो कलरको टोयटा यारिसमा हुइँकिदै । अझ महिलाका समस्या उनको प्राथमिकतामा पर्छन् ।

पाकिस्तानी मुदिरले बिना कसुर झुट्टा मुद्दा लगाएर समस्यामा परेकी काभ्रेकी रीता तामाङलाई उनै सिल्देलले पूर्ण सहयोग गरिन् । आठआठ महिना मुद्दा लड्नदेखि लिएर बिरामी तामाङको उपचार गर्न होस्, या लेबर अफिस या अदालत, सबैतिर उनी आफै पुगेकी हुन्थिन् । दुई वर्षअघि ब्युटिपार्लरमा आएकी तामाङ अन्ततः अदालतबाट न्याय पाएर दुई हप्ताअघि नेपाल फर्किसकेकी छिन् ।

सिग्देलको संलग्नता यतिमै सीमित छैन । गत जुन १२ मा भएको बृहत् च्यारिटी शोेको सफलताका लागि उनको सक्रियता देख्न सकिन्थ्यो । उक्त च्यारिटी शोेबाट प्रधानमन्त्री राहत कोषमा ४३ लाखभन्दा बढी रकम जम्मा गरिएको थियो । सहयोगी तथा प्रस्ट वक्ता सिग्देल एनआरएनका विभिन्न गतिविधिमा भाग लिएर नेपाली महिलाहरुको प्रतिनिधित्व गरिरहेकी हुन्छिन् ।

करिब ३ लाख नेपाली कामदार रहेको यूएईमा ४० हजार जति नेपाली महिला रहेको अनुमान गरिन्छ । अधिकांश नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत छन् भने होटल, रेस्टुरेन्ट, सेल्स, सेक्युरिटी तथा डान्सबारमा पनि नेपाली युवती तथा महिलाहरुको उपस्थित बाक्लिदै गएको छ । एयर होस्टेसमा काम गर्ने नेपाली युवतीहरु आंैलामा गन्न सकिने अवस्थामा छन् भने एमआरको क्षेत्रमा रहेर नेपाली समाजको उत्थान तथा दुःखमा परेका चेलीहरुको उद्धारमा सदा अग्रसर हुने सिग्देल एक्ली नेपाली चेली हुन् ।

निस्ट कलेजबाट २००७ मा एमएस्सी पास गरेकी सिग्देल आजभन्दा ६ वर्षअघि सेल्सगर्लका रुपमा यूएई आएकी हुन् । आफ्नो अध्ययन र प्रतिभाका कारण सिग्देल यूएईको पहिलो नेपाली एमआरका रुपमा काम गरिरहेकी छिन् ।

अबुधाबीमा रहेको टे्रङ्गल मेडिसिनमा उत्कृष्ट एमआरका रुपमा दरिएकी सिग्देल यूएईमा रहेका दुई हजार एमआरहरुको बीचमा सम्भवतः एक्ली नेपाली एमआर हुन् । उनले काम गर्ने कम्पनीमा जोर्डन, इजिप्ट र भारतका कामदारहरुको संख्या बढी छ । तर पनि सबैभन्दा राम्रो सेल्स गरेबापत उत्कृष्ट कर्मचारीमा उनी नै पर्छिन् ।

सुरुमा १८ सय दिरामका काम गर्ने सिग्देलको अहिलेको मासिक कमाई तीन लाखभन्दा बढी छ तर आर्थिक उपार्जनलाई उनी सफलताको कडी मान्दिनन् । प्रतिभा भएकाहरुका लागि महिला र पुरुष भनी कुनै भेदभाव नभएका कारण यूएईमा काम गर्न सहज भएको उनको अनुभव छ ।

विगत ६ वर्षमा हरेक वर्ष प्रमोसन पाएको बताउने सिग्देलको पेसागत जीवनमा अझमाथि पुग्ने सपना छ । त्योभन्दा ठूलो सपना त दुःख पाएकाहरुलाई सहयोग गर्नु रहेको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment