Comments Add Comment

बन्दको विरोधमा बिराटनगरबासी सडकमा उत्रिए (भिडियोसहित)

Biratnagar-ma-Banda-ko-Biro

३ भदौ, बिराटनगर । निरन्तरको बन्दले आक्रान्त भएका विराटनगरका उद्योगी-व्यवसायी लगायत विभिन्न संघ-संस्थाले विहीबार बन्दको विरोध गर्दै बिराटनगरमा सदभाव र्‍याली निकालेका छन् ।

पाँच दिनदेखिको निरन्तरको बन्दले समस्या भएपछि उनीहरुले बन्दलाई सँधैका लागि बन्द गरौं भन्दै र्‍याली निकालेका हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङ अगाडिबाट निकालिएको र्‍यालीले गोल्छा चौक, डीएसपी रोड, ट्राफिक चौक, महेन्द्र चौक, बरगाछी हुँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

सदभाव र्‍यालीलाई चौक-चौकमा सर्वसाधारण र व्यापारीहरुले स्वागत गरेका थिए । र्‍यालीमा स्वतस्फूर्तरुपमा व्यापारी र सर्वसाधारणसमेत सहभागी भएका थिए । उनीहरुले बिराटनरलाई बन्द निषेधित क्षेत्र घोषण गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए ।

भिडियो हेर्नुस्

वर्षाको समेत कुनै प्रवाह नगरी बिराटनगरवासी र्‍यालीमा सहभागी भएका थिए । र्‍यालीलाई सम्बोधन गर्दै मोरङ व्यापार संघका अध्यक्ष तथा सभासद पवन सारडाले यस्तै परिस्थित रहे आउने दिनमा बन्दका विरुद्ध सशक्तरुपमा आन्दोलनमा उत्रिनेे चेतावनी दिए ।

यस्तै उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालले सदभाव र्‍यालीले बिराटनगरबासी बन्दको विरुद्धमा रहेको प्रष्ट भएको भन्दै बन्दकर्तालाई बन्दको विकल्प खोज्न आग्रह गरे ।

यस्तै पूर्वाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष राजन कँडेलले बन्दले सम्पूर्ण बिराटनगरवासी नै पीडित भएको भन्दै बन्दले कसैको भलो नहुने बताए ।

र्‍यालीमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, बिराट व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल पत्रकार महासंघ मोरङ, गैरसरकारी संस्था, प्याब्सन, एन-प्याब्सन, यातायात व्यवसायी, निर्माण व्यवसायीको सहभागिता थियो ।

र्‍यालीमा पुनरावेदन बार एसोसिएसन, जिल्ला बार एसोसिएसन, मेडिकल एसोसिएसन, होटल व्यवसायी, ट्रक व्यवसायी संघ, ट्रान्सपोर्ट एसोसिएसन, मोरङ अटोमोवाइल्स एसोसिएसन, पेट्रोलियम डिलर्स एसोसिएसन, कपडा व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, खुद्रा व्यापार संघ, कपडा व्यवसायी संघ, नेपाल ट्राभल्स एसोसिएसन, पेट्रोलियम ढुवानी व्यवसायी संघ, पूर्वाञ्चल बस व्यवसायी संघलगायतका संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता थियो ।

बुधबार मात्रै बिराटनगरको बन्दको विरोधमा २१ वटा विभिन्न संघ संगठनले र्‍याली निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment