Comments Add Comment

मीरा राईको अल्ट्रा म्याराथनमा फड्को, विश्व नं १ बन्ने लक्ष्यकासाथ इटालीमा तालिम

अनिल मल्ल ठकुरी

८ भदौ, काठमाडौँ । पछिल्लो समय विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी धाविका मीरा राई विश्व नं १ एक बन्ने लक्ष्यका साथ इटालीमा एक महिना प्रशिक्षण गर्ने भएकी छिन् ।

Mira-Rai-Win-Marathon-du-Mont-Blanc,-France

आगामी असोज ४ गते स्पेनमा हुने एक सय १० किलोमिटर विश्व च्याम्पियनसिपको तयारीका लागि उनी त्यहाँ पुगेकी हुन् । यस प्रतियोगितामा विश्वमा उच्च स्थान प्राप्त खेलाडीले मात्र खेल्ने अवसर पाउनेछन् । त्यसैले यस प्रतियोगितालाई ‘र्‍याङ्किङ क्वालिफाइङ’ समेत भनिन्छ ।

उनी शनिबारमात्र इटाली प्रस्थान गरेकी हुन् । त्यहाँ रहेर उनले पूर्व विश्व च्याम्पियनसमेत रहेकी प्रशिक्षक गिटा टोनीसँग प्रशिक्षण लिने भएकी छिन् । मीराले इटालीमा असोज १ गतेसम्म प्रशिक्षण लिनेछिन् । स्पेनमा हुने विश्व च्याम्पियनसिपको तयारीका लागि इटालीमा रहेकी मीरा बेलायती नागरिक रिचार्ड बुल र कराते प्रशिक्षक ध्रुवविक्रम मल्लको सहयोगमा त्यहाँ पुगेकी हुन् । अल्ट्रा म्याराथनले केही समययता नेपाली खेलकुदमा निकै राम्रो नतिजा हात पारिसकेको छ ।

स्पेनको उक्त प्रतियोगितामा मीराले पहिलो स्थान हात पार्न सकेमा विश्व वरियतामा समेत उनी पहिलो स्थानमा रहनेछिन् ।

यसैवर्षको जुनमा फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छ्याउँदै मीरा पहिलो भएकी थिइन् । सो दौड १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै मीरा पहिलो पटक विश्व च्याम्पियन बनिन् । तथापि उनको त्यो सफलताले पनि विश्व र्‍याङ्किङ नं १ स्थानमा रहने उनको सपना अधूरै रह्यो ।

अल्ट्रा म्याराथनलाई खेलकुदको कुनै पनि उच्च निकाय र एथ्लेटिक सङ्घले समेत बेवास्ता गर्दा खेलाडीले आफ्नै लगानी र विभिन्न व्यक्तिहरुको सहारा लिनुपर्ने बाध्यता नेपाली खेलकुदमा विदितै छ । विश्व एथ्लेटिक महासङ्घले अल्ट्रा म्याराथन सम्बन्धित देशको एथ्लेटिक सङ्घले व्यवस्थापन गर्नुपर्ने भने तापनि सङ्घले हालसम्म कुनै पनि काम गरेको छैन ।

विगत एक वर्षमा निकै सफलता हात पार्दै मीरा केही समय अगाडिमात्र विश्वको नं २ स्थानमा उक्लिन् । यदि उनले आगामी असोजमा स्पेनमा हुने बाजी मारिन् भने त्यो नेपाली खेलकुद इतिहासका लागि हालसम्मकै ठूलो सफलता हुनेछ ।

हालसम्म व्यक्तिगत स्पर्धामा नेपालका कुनै पनि खेलाडी विश्व वरियतामा पहिलो नम्बरमा अटाएका छैनन् । अल्ट्रा म्याराथनकै पुरुषतर्फ भने अल्ट्रा धावक दाछिरिङ शेर्पा र समीर तामाङले उत्कृष्ट प्रदर्शन गरेता पनि वरियताको प्रथम स्थानमा भने पुग्न सकेका छैनन् ।

यसअघि मीराले अन्तर्राष्ट्रियस्तरमा केही ठूला सफलता हात पार्दै विश्व च्याम्पियनसिपमा लामो फड्को मारेकी थिइन् । उनले हङ्कङमा ५० किलोमिटरमा एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र ८० किलोमिटरमा च्याम्पियन र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथनमा च्याम्पियन तथा ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड रनिङ सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानलगायत थुप्रै सफलता हात पारिन् । राष्ट्रियस्तरमा पनि उनले खेल सुरु गरेको छ महिनामा नै राष्ट्रिय च्याम्पियन बनेकी थिइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment