Comments Add Comment

रौतहटमा मोर्चाले तोड्यो निषेधाज्ञा, बसपार्कमा झडप

Rautahat-Gaurगौतम श्रेष्ठ
१६ भदौ, रौतहट । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले स्थानीय प्रशासनले गौरमा लगाएको निषेधाज्ञा तोडेका छन् । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड हवाइ फायर र करिब एक दर्जन सेल अश्रुग्यास प्रहार गरेको छ ।

रौतहट सदरमुकाम गौरसहित उत्तर-दक्षिण ४२ किलोमिटर क्षेत्र र राजमार्गको १ किलोमिटर दायाँ-बायाँ प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । दंगाग्रस्त क्षेत्रमा ५ जना भन्दा बढी व्यक्तिलाई जम्मा हुन निषेध गरिए पनि मोर्चाका नेता-कार्यकर्ताले गौर नगरपालिका १० सबगढहाबाट नारावाजी गर्दै जुलुस प्रदर्शन गरेका थिए ।

गौर ७ गढवामा रहेको नयाँ बसपार्कमा भेला भएर जुलुससहित गौर नगरपालिका परिक्रमा गर्ने मोर्चाको कार्यक्रम थियो । तर सुरक्षाकर्मीले नयाँ बसपार्क क्षेत्रलाई नियन्त्रणमा लिएपछि प्रदर्शनकारीहरुले गढवा ७ मा रहेको राजमार्गमै आफ्नो कार्यक्रम सम्पन्न गरेको मोर्चाका नेता तथा सदभावना पार्टीका जिल्ला अध्यक्ष शेष जमसेदले बताए ।

मोर्चाको जुलुुस गौर बजार क्षेत्रमा प्रवेश गर्न खोजेपछि नयाँ बसपार्कमा खटिएका सुरक्षाकर्मीको तर्फबाट एक राउण्ड हवाइ फायर भएको थियो । प्रहरीले हवाइ फायर गरेपछि मोर्चाका नेताहरुले आफूहरुको जुलुस शान्तिपूर्ण भएको र कुनै प्रतिवाद नगर्ने भन्दै बाटोमै बसेका थिए । मोर्चाको आह्वानमा निस्किएको जुलुस शान्तिपूर्णरुपले कोणसभा गर्दै सम्पन्न भएको थियो ।

कार्यक्रम सकेर फर्किने क्रममा बसपार्क क्षेत्रमा प्रहरीसँग केहीबेर झडप भएको थियो । प्रहरीले एक दर्जन अश्रुग्यास प्रहार गरेर मोर्चाका कार्यकर्ताहरुलाई तितर वितर पारेको थियो ।

अन्य दिन जस्तो लाठी, भाटा र झण्डासमेत प्रदर्शनकारीले बोकेका थिएनन् । तर मोर्चाको प्रदर्शनका कारण अपि्रय घटना हुने आशंकामा गौरबासी बिहानैदेखि चिन्तित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment