Comments Add Comment

लिम्बुवानको बन्दले पूर्वी नेपाल ठप्प, ताप्लेजुङ खुल्ला

१८ भदौ, इटहरी । कार्यकर्ता रिहाइको माग गर्दै संघीय लिम्बुवान पार्टी नेपाले पूर्वी नेपालका जिल्लाहरुमा अनिश्चितकालीन बन्द आह्वान गरेको छ । सुनसरीमा बन्दको आंशिक प्रभाव परेको छ भने ताप्लेजुङमा बन्द गरिएको छैन ।

इटहरी चोक । फाइल तस्वीर
इटहरी चोक । फाइल तस्वीर

यही भदौ १४ र १५ गते आयोजना गरेको बन्दको क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई बिना सर्त रिहा गर्न माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले शुक्रबारबाट पुनः पूर्वमा अनिश्चितकालीन बन्द आह्वान गरेको हो ।

बन्दका कारण पूर्वी पहाडी भेगहरुमा यातायातका साधनहरु ठप्प छन् । पूर्वको इलाम, झापा, पाँचथर, धनकुटा लगायतका जिल्लाहरुमा सवारी साधनहरु सञ्चालनमा आएका छैनन् । यी जिल्लाहरुमा विहानैदेखि बजार पसल खुलेका छैनन् भने लामो तथा छोटो दुरीका सवारी साधन समेत चलेका छैनन् । उद्योग कलकारखाना समेत ठप्प छन् ।

सुनसरीको इटहरीमा बन्दको आंशिक प्रभाव परेको पत्रकार तेज बनले जानकारी दिएका छन् ।

ताप्लेजुङ खुल्ला

ताप्लेजुङमा भने बन्द आह्वान गरिएको छैन । विहानैदेखि बजार पसल खुलेका छन् । स्थानीय रुटमा चल्ने यातायातका साधनहरु पनि निर्वाधरुपमा सञ्चालन भैरहेका छन् ।

विहीबार दिनभर पक्राउ परेका कार्यकर्ता रिहाइका लागि पहल भए पनि साँझसम्म पनि रिहा नभएपछि अकस्मात बन्द गर्ने निर्णय भएको थियो । समयमै बन्दको जानकारी गराउन नपाएकाले ताप्लेजुङमा बन्दको कार्यक्रम नराखिएको पार्टीका ताप्लेजुङ अध्यक्ष किर्तिमान मादेनले जानकारी दिए ।

ताप्लेजुङबाट झापाको विर्तामोड, धरान लगाएतका ठाउँमा जाने लामो दुरीका सवारीसाधन भने  नचलेका पत्रकार रविन भट्टराईले जानकारी दिएका छन् ।

अरुणपूर्वका ९ जिल्लालाई सीमांकन र नामांकनसहित लिम्बुवान राज्य बनाउनुपर्ने लगाएतका माग गर्दै गत १४ र १५ गते बन्दको आह्वान गर्दै हिँडेका लिम्बुवानका स्थानीय कार्यकर्ताहरु मिलन वेघा, पुजा चापागाई, भिम राई, रविन लिम्वु, बलबहादुर मगर लगायतलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको थियो । पक्राउ परेका आफ्ना कार्यकर्ताहरु विना सर्त रिहा नभएसम्म बन्द जारी रहने लिम्बुवान पार्टी नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment