Comments Add Comment

पुनःनिर्माणका लागि इटलीका नेपालीले दिए एनआरएनलार्इ झन्डै दुर्इ करोड रूपैयाँ

shesh-2

रोम । गैरआवासीय नेपाली संघले भूकम्प पिडीत नेपालीका लागि संचालन गर्न लागेको पुनःनिर्माण अभियानका लागि इटलीमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले झन्डै दुर्इ करोड रूपैयाँ संकलन गरी सहयोग गरेका छन् ।

मंगलबार रोममा आयोजित बिशेष कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेलाई दोस्रो किस्ताको ८० हजार डलरको चेक हस्तान्तरण गरियो ।

पहिलो चरणको सहयोग अन्तर्गत गैर आबसीय नेपाली संघको काठमाडौ स्थित खातामा १ करोड ११ लाख ७९ हजार २ सय ८८ रुपैयाँ ४० पैसा जम्मा गरिएको थियो। पुन: दोस्रो चरणको रकम हस्तान्तरण पछि ईटालीबाट मात्रै भूकम्प पिडितको लागि २ करोड रुपैयाँ भन्दा बढि रकम संकलन भएको छ।

इटललीमा रहेका नेपाली संघ- संस्थाहरु, गैर आवासीय नेपाली संघ, नेपाली अवैतानिक बाणिज्य दुत साथै ईटालियन संघ – संस्थाहरुको सक्रियतामा उठेको रकम हस्तान्तरण गरिएको हो।

नेपाली समाज रोम, नेपाली समाज पिसा, नेपाली समाज भारजे, नेपाली एसोसिएसन भेनिस र नेपाल मितेरी मन्च मिलान लगायतका संघसस्थाहरुले बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै रकम संकलन गरेका थिए।

अध्यक्ष घलेले भूकम्प पिडितका लागि सहयोग जुटाउने सबै संघसस्थाका प्रतिनिधिहरुलाई धन्यबाद तथा आभार प्रकट गरेका छन्। कार्यक्रममा सहभागी प्रतिनिधिहरुलाई खादा लगाई घलेले धन्यबाद सहित प्रशंसा पत्र प्रदान गर्दै सम्मान ब्यक्त गरेका हुन्।

एनआरएन ईटालीका अध्यक्ष क्षेत्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठ, ईटालीका लागि नेपाली अवैतानिक दुबाणिज्य दुत पाओलो नुगारी, एनआरएनए जर्मनिका आइसीसी सदस्य दावा गेल्जु शेर्पा, नेपाली समाज रोमका अध्यक्ष देवराज गुरुङ, भेनिस समाजका अध्यक्ष अम वहादुर पुन लगायतले बोलेका थिए।

shesh-3

एनआरएनए देश पुनःनिर्माणको सच्चा साझेदार बन्छ – घले

कार्यक्रमलार्इ सम्बोधन गर्दै अध्यक्ष शेष घलेले ‘एनआरएनए देश पुनःनिर्माणको सच्चा साझेदार’ हुने बताएका छन्। आगामी अक्टोबरमा हुने बिश्व सम्मेलनको नारा नै यही रहेको बताउँदै घलेले गैरआवासीय नेपालीले आफ्नो शक्ति र सामथ्र्यको परिचय दिनेबेला आएको बताए ।

बिदेशमा रहेका नेपाली सँस्थाहरु र नेपालका लागि काम गरेका बिदेशी सँस्थाहरुले एनआरएनलाई ठुलो बिश्वास गरेका कारण पनि करोडौं रकम संकलन गरेर थप हौसला दिएको बताए ।

ईटाली यसको एक उदारणीय पात्र हो- घलेले भने,”यहाँ स्थित नेपाली संघ- संस्थाहरु, गैर आवासीय नेपाली संघ, अवैतनिक बाणिज्य दुत, ईटालियन संघ-संस्थाहरुको सक्रियतामा दुई करोड रुपैयाँ भन्दा बढी रकम जुट्नु सामान्य होईन।”

२५ बर्ष अगाडि आँफू रुसमा हुँदा बिद्यार्थी जीवनकालमा ईटाली आएको सम्झना गर्दै उनले यहाँको भाषा,रहनसहन र बाताबरण आँफुलाई त्यतिबेला देखि नै मन परेको अनुभव पनि सुनाए।

एनआरएनको योजना अनुरुप निर्माण हुने १ हजार घर निर्माण प्रक्रिया बारे पछिल्ला गतिबिधिको जानकारी गराउँदै घलेले भने ,”प्रत्येकको एक-एक डलर मिलेर बन्ने घर, तपाईहरुकै उपस्थितिमा,पिडितहरुलाई हस्तान्तरण गर्ने छौँ।”

घलेको कार्यक्रम पोर्चुगल र बेलायतमा पनि

गैर आवासीय नेपाली संघ अमेरिकाको बिशेष साधारणसभालाई न्यूयोर्कमा सम्बोधन सकेर पुन: युरोप भम्रण गरेका अध्यक्ष घलेले पोर्चुगल र बेलायतबासी एनआरएनहरुसँग छलफल गर्ने भएका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले घलेको उपस्थितिमा धन्यबाद तथा आभार प्रकटको कार्यक्रम रहेको जनाएको छ।

घलेले बुधबार पोर्चुगलबासी एनआरएनहरुसँग अन्तरक्रिया गरेपछि बेलायतको कार्यक्रममा सहभागी हुन लण्डन प्रस्थान गर्ने छन्। घलेको उपस्थितिमा एनआरएनए यूकेको नव निर्वाचित कार्यसमितिले बिहीबार साँझ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

अन्तरक्रियापछि घले पुन: काठमाडौ फर्कने एनआरएन स्रोतले जनाएको छ। गत महिना मात्र युरोपको भ्रमण गरेका घलेले जर्मनी, नेदरल्यान्ड्स,  बेल्जियम,लक्जम्बर्ग, फ्रान्सका र स्पेनका एनआरएनहरु सँग पनि छलफल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment