Comments Add Comment

पश्चिम सिड्नीमा नेपाली अभिभावकहरुको नि:शुल्क स्वास्थ्य जाँच

सिड्नी । अस्टेलियन नेपाली मेडिकल तथा डेन्टल संघले पश्चिम सिड्नीमा बसोबास गर्ने नेपाली अभिभावकहरुलाई एक दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

न्यु साउथ वेल्स राज्यअन्तर्गत सिड्नीको स्थानीय स्टार्थफिल्ड काउन्सिलको सहयोग र अवर्न नेपाली समाजको समर्थन रहेको उक्त शिविर ३१ मार्च (आइतबार) विहान साढे १० बजेदेखि सुरु हुने आयोजक संस्था आम्दाले जनाएको छ ।

स्टार्थफिल्ड काउन्सिलले आफ्नो इभेन्ट क्यालेन्डरमा उक्त शिविरको कार्यक्रमलाई प्राथमिकतासाथ प्रकाशित गर्दै स्वास्थ्य जाँचको मौका नगुमाउन नेपाली अभिभावकहरुलाई अनुरोध गरेको छ ।

आयोजकहरुका अनुसार उक्त शिविरमा सिड्नीमा बसोबास गर्ने नेपाली अभिभावकहरुले आफ्नै भाषामा बोल्ने डाक्टरहरुबाट स्वास्थ्य समस्याको बारेमा सल्लाह र सुझाव लिन सक्नेछन् ।

उक्त शिविरमा नेपाली बोल्ने डाक्टरहरुले मधुमेहको रोकथाम र बचावट लगायत अन्य दीर्घकालीन रोगहरुको बारेमा पनि आवश्यक जानकारी दिने आम्दा का अध्यक्ष डा. घनश्याम चापागाईले अनलाइनखबरलाई बताए ।

साथै विशेषज्ञहरुबाट न्युनतम प्राथमिक उपचार सम्बन्धी व्यवहारिक कक्षाहरु पनि सञ्चालन गरिने अवर्न नेपाली समाजका अध्यक्ष अशोक उप्रेतीले बताए ।

उप्रेतीका अनुसार उक्त शिविरमा नेपाली अभिभावकहरुले आफ्नो ब्लड प्रेसर, सुगर तथा तौल निरीक्षण नि:शुल्क रुपमा गर्न पाउनेछन् ।

शिविर ६५ होमबुश रोड, स्टार्थफिल्डमा अवस्थित स्टार्थफिल्ड काउन्सिलको टाउन हलमा हुनेछ । साथै उक्त स्थानसम्म पुग्नको लागि स्टार्थफिल्ड ट्रेन स्टेशनबाट नि:शुल्क मिनि बसको व्यवस्था समेत भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment