Comments Add Comment

अनिताले किन गरिन् डिबालाको गोल सेलिब्रेसन ?

७ चैत, विराटनगर । नेपाली राष्ट्रिय महिला फुटबल टीम शुक्रबार भारतलाई फाइनलमा पराजित गरेर इतिहास रच्न लालायित छन् ।

चौथौ पटक साफ महिला च्याम्पियनसीपको फाइनल पुगेको टीम नेपालको मनोबल समूह चरणदेखि नै बलियो छ । विराटनगरमा घरेलु दर्शकको साथ र प्रशिक्षक हरि खड्काको जोशमात्रै छैन, नेपाली खेलाडीको यसअघि नदेखिएका कुरा पनि छन् । त्यसमध्येको एउटा हो–गोल सेलिब्रेसन ।

बुधबार भएको सेमिफाइनलमा गोल गरेपछि सेलिब्रेट गर्ने क्रममा अनिता बस्नेतले दाहिने हात मुखतिर लगेर मास्क जस्तो बनाइन । यो सेलिब्रेसनले दर्शकलाई समूह चरणको खेल सम्झायो ।

बंगलादेश र भुटान विरुद्ध गोल गरेपछि मध्यपंक्तिकी मञ्जलीकुमारी योञ्जनले पनि ठीक यहि तरिकाले सेलिब्रेट गरेकी थिइन् ।

अनिता र मञ्जलीको खुशी मनाउने शैली अन्तर्राष्ट्रिय फुटबलमा–डिबलामा मास्क सेलिब्रेसनले परिचित छ । यो इटालियन फुटबल क्लब युभेन्टसका पाउलो डिबालाको खुशी मनाउने तरिका हो ।

गोल सेलिब्रेसन गर्दै मञ्जली ।

बंगालादेशविरुद्ध गोल गरेपछि ‘गोल मशिन’ सावित्रा भण्डारीले युभेन्टस्का स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको शैलीमा खुशी मनाएकी थिइन ।

नाम चलेका अन्तराष्ट्रिय फुटबलरहरू सेलिब्रेसनका कारण कारवाहीमा समेत परिरहेका बेला अनिता र मञ्जलीको सेलिब्रेसनशैली एउटै कसरी भयो त ? अन्तर्राष्ट्रिय फुटबलमा रमाउने उनीहरुले सल्लाह गरेकै एउटै सेलिब्रेसन गरेका होलान् ?

‘मञ्जली र मेरो सल्लाह केही थिएन । उनले पाउलो डिबालाकोको जस्तो गोल सेलिब्रेसन गर्छ भनेर मलाई थाहा पनि थिएन’ उनी भन्छिन् ।

‘मैले कसैलाई भनेकी पनि थिइनँ गोल गरेँ भने डिबालाले जस्तै सेलिब्रेसन गर्छु भनेर । तर मैलेभन्दा अघि मञ्जलीले गोल गरेको भएर उसको सेलिब्रेसन हेर्दा थाहा भयो, उसले पनि त्यस्तै सोचेकी रहिछिन् ।’

अनिताले आफूलाई डिबालाको खेल मन पर्ने भएकाले नै त्यसरी सेलिब्रेसन गरेको अनलाइनखबरलाई बताइन् । ‘मेरो मन पर्ने खेलाडी डिबाला नै हो । उसको सबै कुरा मन पर्छ । त्यसैले गोल सेलिब्रेसन फलो गरेको हुँ । उसको सबै खेल हेर्छु । यसरी पछ्याउन थालेको झण्डै दुई वर्ष भयो । सेलिब्रेसन सिक्ने मात्रै होइन डिबाला हेरेर मैले आफ्नो खेल पनि सुधार गर्दै गएको छु’ उनले भनिन् ।

अनिता फाइनलमा भारतविरुद्ध पनि राम्रो खेलेर गोल गर्दै त्यस्तै सेलिब्रेसन गर्न पाउने आशमा रहेको बताउँछिन् । ‘यअसघिको खेलमा भन्दा राम्रो खेल्दै गोल गर्ने लक्ष्यमा छु । हामी आफ्नै भूमिमा भएको खेलमा भारतलाई पराजित गर्दै उपाधि जित्न चाहन्छौँ’ उनले भनिन् ।

के हो डिबाला सेलिब्रेसन ?

अर्जेन्टिनाका खेलाडी डिबालाले युभेन्टसबाट खेल्दा मात्र होइन हरेक खेलमा उही शैलीमा गोल सेलिब्रेसन गर्छन् । जसलाई फुटबल प्रेमीहरु ‘डिबाला मास्क’ को रुपमा बुझ्छन् ।

उनको शैली पछाडिको कारण हिजोआज त लुकेको विषय पनि रहेन । विभिन्न अन्तर्वार्तामा पनि उनले त्यसबारे बताएका छन् ।

आफ्नो फेसबुक पेजमा नै गोल सेलिब्रेसन बारे डिबालाले लेखेका छन्, ‘यो त्यति अनौठो कुरा केही होइन । हार नमान्ने शैली हो । त्यसमा हात मुखमा मिलाउँदा तलबार बाजी खेल्ने योद्धाको मुखौटाजस्तै पनि देखिन्छ । हामी संघर्ष गरिरहँदा आफ्नो खुशी र हाँसो पनि बिर्सन्छौँ, दयालुपन बिर्सन्छौँ त्यसैले त्यस्तो खुशी र दया हराउन नदिई मजबुत हुन त्यसो गरेको हुँ ।’

यो पनि पढ्नुहोस् : सावित्राको रोनाल्डो सेलिब्रेसन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment