+

सेनेगलबाट खोसिएको अफ्रिकन कपको उपाधि आठ महिनापछि पुन: फिर्ता

२०८३ मंसिर  ८ गते २१:५४ २०८३ मंसिर ८ गते २१:५४

८ मंसिर, काठमाडौं । सेनेगललाई सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (अफकन) को विजेता पुनः घोषणा गरिएको छ। खेलकुदसम्बन्धी सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) ले अफ्रिकी फुटबल महासंघ (काफ) को अघिल्लो निर्णय उल्टाउँदै सेनेगललाई उपाधि फिर्ता दिएको हो।

यसअघि काफको पुनरावेदन समितिले जनवरीमा भएको फाइनलको नतिजा उल्टाउँदै मोरक्कोलाई ३–० को विजेता घोषणा गरेको थियो। तर सेनेगलले उक्त निर्णयविरुद्ध कासमा अपिल गरेको थियो। कासको तीन सदस्यीय इजलासले सर्वसम्मत निर्णय सुनाउँदै फाइनलको नतिजा यथावत् राखेको हो।

जनवरीमा मोरक्कोको रबातमा भएको फाइनलमा सेनेगलले अतिरिक्त समयमा १–० को जित निकालेको थियो। खेलको दोस्रो हाफको इन्जुरी समयमा मोरक्कोले पेनाल्टी पाएपछि असन्तुष्ट बनेका सेनेगलका प्रशिक्षक पापे थियावले आफ्ना खेलाडीलाई मैदान छाड्न निर्देशन दिएका थिए। केही खेलाडी प्रशिक्षकसँगै मैदानबाहिर गएका थिए। पछि उनीहरू फर्किएपछि खेल पुनः सुरु भएको थियो।

कासले खेल पुनः सुरु गर्ने वा रोक्ने भन्ने निर्णय रेफ्रीको अधिकार क्षेत्रभित्र पर्ने ठहर गरेको छ। रेफ्री जाँ–ज्याक एनडालाले खेल पुनः सुरु गराउँदा दुवै टोली मैदानमा फर्किएका र खेल्न तयार रहेको कासको निष्कर्ष छ।

कासको वक्तव्यमा भनिएको छ, ‘खेल पुनः सुरु गर्ने वा रोक्ने भन्ने रेफ्रीको निर्णय पूर्ण रूपमा उनको अधिकार क्षेत्रभित्र पर्छ।’

सेनेगल फुटबल महासंघले निर्णयको स्वागत गर्दै सामाजिक सञ्जालमा जनवरीमा उपाधि उचालेको टोलीको तस्बिर राखेर ‘फेरि र सधैँ अफ्रिकाका च्याम्पियन’ लेखेको छ। यता मोरक्को फुटबल महासंघले भने निर्णयप्रति आश्चर्य व्यक्त गर्दै त्यसलाई चुनौती दिन उपलब्ध सबै कानुनी बाटो अपनाउने जनाएको छ।

फाइनलको नतिजा उल्ट्याउन मोरक्कोले काफसमक्ष दिएको उजुरीमा सेनेगलले प्रतियोगिताको नियम उल्लंघन गरेको दाबी गरेको थियो। अफकन नियमावलीको धारा ८२ अनुसार रेफ्रीको अनुमति नलिई खेल सकिनुअघि मैदान छाड्ने वा खेल्न अस्वीकार गर्ने टोलीलाई पराजित मान्न सकिने व्यवस्था छ।

फाइनलपछि काफको अनुशासन समितिले मोरक्कोको उजुरी अस्वीकार गरेको थियो। तर त्यसको झन्डै दुई महिनापछि मार्चमा काफको पुनरावेदन समितिले सेनेगलले खेल गुमाएको ठहर गर्दै मोरक्कोलाई ३–० को विजेता घोषणा गरेको थियो। त्यसपछि सेनेगलले कासमा अपिल गरेको थियो।

यस घटनापछि फुटबलको नियम बनाउने निकाय अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी) ले पनि नियममा परिवर्तन गरेको थियो। अप्रिलमा गरिएको संशोधनअनुसार रेफ्रीको निर्णयको विरोधमा मैदान छाड्ने खेलाडीलाई रातो कार्ड दिन सकिने व्यवस्था गरिएको छ। खेलाडीलाई मैदान छाड्न उक्साउने टोलीका अधिकारीलाई पनि कारबाही गर्न सकिने र कुनै टोलीका कारण खेल त्याग्नुपरेमा सामान्यतया उक्त टोलीलाई पराजित मानिने नयाँ व्यवस्था छ।

कासले आफ्नो निर्णयको विस्तृत आधार पछि सार्वजनिक गर्ने जनाएको छ। सेनेगलले यससँगै दोस्रो पटक अफ्रिका कपको उपाधि जितेको छ। तर फाइनलको नतिजा र त्यसपछिको कानुनी विवादले अफ्रिकी फुटबलको प्रतिष्ठामा पारेको असरबारे बहस भने जारी रहने देखिन्छ।

-बीबीसीबाट

अफ्रिकन कप अफ नेसन्स मोरक्को फुटबल सेनेगल फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय