+

एनपीएलको चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ फर्म्याटमा खेलाउन मन्त्री पोखरेलको चासो

२०८३ मंसिर  ८ गते २१:३४ २०८३ मंसिर ८ गते २१:३४

८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका आफ्नै घरेलु मैदान निर्माण गरी प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले क्लब सञ्चालक तथा प्रतिनिधिसँग छलफल गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु मैदान निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा लिग सञ्चालन गर्ने घोषणा गरेपछि त्यसको कार्यान्वयन मोडालिटीबारे मन्त्रालयले छलफल थालेको हो।

छलफलमा मन्त्री पोखरेलले एकैपटक आठवटै रंगशाला निर्माण गर्नुभन्दा चरणबद्ध रूपमा अघि बढ्ने प्रस्ताव राखेका छन्। आगामी चौथो संस्करणदेखि नै दुईदेखि तीनवटा मैदानबाट ‘होम एन्ड अवे’ प्रणालीको अभ्यास सुरु गर्ने र पाँचौँ तथा छैटौँ संस्करणसम्म आठवटै क्लबका घरेलु मैदानमा खेल सञ्चालन गर्न सकिने गरी योजना बनाउनुपर्ने उनको भनाइ थियो।

‘पहिलो चरणमा कुन मोडालिटी र समयसीमाभित्र रंगशाला निर्माण गर्ने भन्ने विषयमा स्पष्ट हुन जरुरी छ,’ मन्त्री पोखरेलले भने, ‘सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा जाने कि क्लबहरूलाई दीर्घकालीन लिजमा दिएर निर्माणको जिम्मा दिने भन्ने विकल्पमा सरकार खुला छ।’

क्लबहरूको स्वामित्व र अपनत्व हुँदा निर्माण प्रक्रिया छिटो अघि बढ्ने र समर्थकमाझ पनि सकारात्मक सन्देश जाने उनको भनाइ थियो।

छलफलमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कासहित आठवटै फ्रेन्चाइज टोलीका प्रतिनिधि सहभागी थिए। बैठकमा अन्तर्राष्ट्रिय स्तरको प्रसारण, प्रोडक्सन र रिभ्यु सिस्टम (डीआरएस) का कारण एउटै मैदानमा लिग सञ्चालन गर्दा पनि लागत उच्च हुने विषय उठेको थियो।

‘होम एन्ड अवे’ प्रणालीमा जाँदा लागत र आम्दानी बाँडफाँटको स्पष्ट खाका बनाएर अघि बढ्ने विषयमा पनि छलफल भएको थियो।

क्यान सचिव खड्काले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीको विद्यमान महँगो विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन गरी सहुलियत बजेटमा त्रिवि, मूलपानी र चितवनको गौतमबुद्ध क्रिकेट रंगशाला १० महिनाभित्र तयार पार्न सकिने प्रस्ताव राखेका थिए।

‘एनपीएल सकिएसँगै प्रधानमन्त्रीबाट जे कुरा आयो, एकदमै खुसी छौँ। हाम्रो क्लबको युनिटी पनि एकदमै राम्रो छ। राम्रो काम गर्ने इगोमात्र उहाँहरूमा छ। त्यसैले सहकार्यमा काम गर्न असहज छैन,’ खड्काले भने।

फ्रेन्चाइज टोलीका प्रतिनिधिले आगामी सिजनका लागि तत्काल त्रिवि मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिएका थिए। अन्य मैदान निर्माणका लागि आपसी सहकार्य गर्न सकिने उनीहरूको भनाइ थियो। सरकारले दीर्घकालीन नीतिगत व्यवस्था गरिदिए रंगशाला निर्माण तथा सञ्चालनमा निजी क्षेत्रबाट लगानी भित्र्याउन तयार रहेको पनि उनीहरूले बताएका थिए।

क्लब प्रतिनिधिले खेलकुद पूर्वाधारमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन र प्रायोजनसम्बन्धी नीतिगत जटिलता हटाउन सरकारसँग आग्रह गरेका थिए। तत्काल त्रिवि मैदानलाई व्यवस्थित गर्दै मूलपानी र चितवन रंगशालाको निर्माण छिटो सम्पन्न गर्न सके आगामी सिजनमा बिहानको खेल मूलपानी र साँझको फ्लडलाइट खेल त्रिवि मैदानमा सञ्चालन गर्न सकिने सुझावसमेत दिएका थिए।

छलफलमा आएका सुझाव समेट्दै मन्त्री पोखरेलले सरकारले पीपीपी मोडललाई प्राथमिकता दिने र त्यसका लागि क्लबहरूसँगै सहकार्य गर्न चाहेको बताए।

‘अब यसलाई कमर्सियल एंगलले पनि सोच्नुपर्छ। पीपीपी मोडलमै हामी जाने हो। अरू निजी क्षेत्रसँग जानुभन्दा पनि क्लबसँगै जानुपर्छ भनेर छलफल गरेका हौँ,’ उनले भने, ‘यसमा तपाईंहरूको सकारात्मक प्रतिक्रियाले थप उत्साह थपेको छ।’

एनपीएल क्रिकेट एनपीएल फ्रेन्चाइज खेलकुदमन्त्री सस्मित पोखरेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय