+

आईपीएल अक्सनका लागि बेन स्टोक्सले दर्ता गराए नाम

२०८३ मंसिर  ८ गते २२:३१ २०८३ मंसिर ८ गते २२:३१

८ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनका लागि हुने मिनी अक्सनमा इंग्ल्यान्डका बेन स्टोक्सले नाम दर्ता गराएका छन् ।

डिसेम्बर १६ मा भारतको गोवामा हुने मिनी अक्सनका लागि इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले पनि नाम दर्ता गराएका हुन्। उनको आधार मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएको छ।

यसअघि सन् २०२५ को मेगा अक्सनमा सहभागी नभएका कारण उनी आगामी मिनी अक्सनमा सहभागी हुन पाउने विषयमा अन्योल थियो।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डको नियमअनुसार विदेशी खेलाडीले मेगा अक्सनमा नाम दर्ता गराउनुपर्ने व्यवस्था छ। मेगा अक्सनमा नाम दर्ता नगराउने विदेशी खेलाडीले त्यसपछिको वर्ष हुने अक्सनमा नाम दर्ता गराउन पाउँदैनन्। तर स्टोक्सले अक्सनमा सहभागी हुन अनुमति पाएका छन्।

३५ वर्षीय स्टोक्सले यसअघि राइजिङ पुणे सुपरजायन्ट, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबाट आईपीएल खेलेका छन्। पाँच सिजनमा ४५ खेल खेलेका उनले ९३५ रन बनाउनुका साथै २८ विकेट लिएका छन्। उनी सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार फ्रेन्चाइज टोलीलाई उपलब्ध गराएको प्रारम्भिक सूचीमा बंगलादेशका ११ खेलाडी परेका छन्। तर चर्चित खेलाडी मुस्ताफिजुर रहमान र शाकिब अल हसनको नाम सूचीमा छैन।

अक्सनका लागि नाम दर्ता गराउने बंगलादेशी खेलाडीमा हसन महमुद, परवेज हुसेन इमोन, रिपोन मन्डोल, रिशाद हुसेन, साइफ हसन, शाक महेदी हसन, शमिम हुसेन, शोरिफुल इस्लाम, तन्जिम हसन साकिब, तौहिद हृदोय र मोहम्मद रुबेल छन्।

आगामी अक्सनको प्रारम्भिक सूचीमा कुल एक हजार २२० खेलाडी छन्। तीमध्ये ९३९ भारतीय र २८१ विदेशी खेलाडी छन्। अक्सनबाट बढीमा ६६ खेलाडी अनुबन्ध गर्न सकिनेछ, जसमा २५ विदेशी खेलाडीका लागि स्थान उपलब्ध हुनेछ।

बीसीसीआईले फ्रेन्चाइज टोलीलाई नोभेम्बर २७ सम्म प्रारम्भिक सूचीमा छुटेका खेलाडीको नाम थप्न अनुरोध गर्न समय दिएको छ। त्यसपछि डिसेम्बर १ सम्म टोलीहरूले अक्सनमा समावेश गर्न चाहेका खेलाडीको सूची बुझाउनुपर्नेछ।

-क्रिकबजबाट

आईपीएल २०२७ आईपीएल अक्सन बेन स्टोक्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय