Comments Add Comment

धुर्मुसदेखि इन्दिरा जोशीसम्म संविधान र शान्तिको चिन्ता

काठमाडौं । संविधानसभाको बहुमतले नयाँ संविधान पारित गरेपछिको खुशीयालीले कलाकर्मीलाई पनि छोएको छ । नयाँ संविधान आएपछि मुलुक अगाडी बढ्नेमा धेरै क्षेत्र आशावादी देखिएका बेला कलाकर्मीहरु भने अझै सशंकित देखिएका छन् ।

राजनीतिक दल र नेताहरुको सोच र शैली नबद्लिएसम्म संविधान मात्रै आएर देश उँभो नलाग्ने उनीहरु बताउछन् । संविधानका विषयमा असहमत दलहरुलाई समेट्नुपर्ने विचार पनि केही कलाकारले व्यक्त गरे । प्रस्तुत 5m नयाँ संविधानबारे कलाकर्मीका भनाई :

नेताको सोच पनि नयाँ हुनुपर्छ
सीताराम कट्टेल (धुर्मुस)

dhrumusसंविधानसभाले नेपालको संविधान-२०७२ पारित गरेको छ । यो आफैंमा उपलब्धि हो । तर, नयाँ संविधान आएर मात्रै देश बन्ने होइन भन्नेमा सचेत हुन जरुरी छ ।

नयाँ संविधानसंगै राजनीतिक दलका नेताहरुको सोच पनि नयाँ हुनुपर्छ । दिमाग सफा हुनुपर्छ । संविधानकै अभाव भएर हिजोको दिन बेथिति आएको होइन भन्नेमा सचेत हुन जरुरी छ ।

हामीकहाँ भएका नियमलाई पालना नगर्ने चलन छ । मलाई लाग्छ, अब तत्काल हामीले नयाँ सिस्टम बसाल्नुपर्छ । फेरि पनि सिस्टम बसाल्न सकिएन भने जनताले परिवर्तनको अनुभूति गर्न पाउने छैनन् । नयाँ संविधान आएर पनि केही उत्पात् हुने सम्भावना देखिन्न, जबसम्म सिस्टमको विकास हुन्न ।

मुलुकलाई साँच्चै अघि बढाउने हो भने दलका नेता अग्रगामी र कर्मशील हुनैपर्छ । कानुुनको पालना सबैले इमान्दारीतापूर्वक गर्नुपर्छ । फेरी पनि भागबण्डाकै कारण साना-तिना कुरामा निहुँ खोज्नेक्रम रोकिनुपर्छ ।

संविधानसभाले दुई तिहाईले नेपालको संविधान पारित गरे पनि केही दलहरुले अझै असन्तुष्टि जनाएका छन् । तीनलाई पनि समेटेर अगाडी बढ्नुपर्छ । उनीहरुको असन्तुष्टि झिल्को बनेर नसल्कियोस् भन्नका लागि दुई तिहाई संख्या पुर्‍याउनेहरु सचेत हुन जरुरी छ ।

शान्तिका लागि सोच्नुपर्छ
इन्दिरा जोशी, गायिका

indiraनेपाली राजनितीमा हरेक कुरालाई नकारात्मकरुपमा ब्याख्या गर्ने चलन छ । तसर्थ संविधानसभाबाट नयाँ संविधान पारित भएको घटनाले सकारात्मक सोच्नेहरुका लागि बाटो खुलेको छ ।

संविधान बनाउने बेलामा हुन्छ र हुन्न भन्ने कुरा आएको थियो । यो स्वभाविक हो । तर, संविधान पारित भएको घटनालाई सकारात्मक रुपमा लिएर अघि बढ्नु पर्छ ।

सबैभन्दा ठूलो कुरा शान्ति हो । अहिले मुलुकमा शान्तिको खाँचो छ । शान्तिलाई स्थायित्व दिनका लागि पनि सहमतिका कुरा गर्नुपर्ने वाध्यता छ । लडेर मात्रै देश बन्दैन भन्नेमा हामी सचेत हुन जरुरी छ । अब देश बनाउन हामी आफैं जुट्नुपर्ने बेला भएको छ ।

संविधानले जागिर दिंदैन
जीवन लुईटेल नायक

jeevanअहिले मुलुकमा बेरोजगारी बढेको छ । शिक्षा अति महंगो हुँदैछ । नयाँ संविधान आउदैमा बेरोजगारी घट्दैन । शिक्षामा सर्वसाधारणको पहुँच स्थापित हुँदैन । त्यसकारण म त्यति धेरै उत्साहित छैन ।

दलका नेताहरु आजसम्म जनताप्रति इमान्दार नभएकाले भोली पनि इमान्दार हुने सम्भावना म देख्दिँन । ढिलै भए पनि संविधान आयो यो राम्रो हो । तर, यसपाली संविधान ल्याउने बेलामा काठमाडौले थानकोट बाहिरको स्थिति हेर्दै हेरेन । सहमतिमा संविधान आएको भए राम्रो हुने थियो ।

अब राम्रो हुन्छ
आशिष्मा नकर्मी, नायिका

ashismaम त आशावादी छु । नयाँ संविधान आएपछि मुलुकमा केही राम्रै हुन्छ । हामी अहिलेसम्म आर्थिक रुपमा समृद्ध हुन सकेका छैनौ । अव आर्थिक समृद्धिको बारेमा सोच्नुपर्छ । त्यसका लागि दलका नेताहरुले पहल गर्नुपर्छ भने जनताले पनि साथ दिनुपर्छ ।

संविधान निर्माणका सवालमा केही दल असन्तुष्ट भए । संविधानमा आफ्नो कुरा राख्न चाहनु स्वभाविक हो तर, यसो भन्दैमा सबैका सबै कुराले स्थान पाउँछ भन्ने पनि होइन । जसको जति कुरा समावेश भएको छ, त्यसैलाई एउटा उपलब्धि मानेर अघि बढ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment