Comments Add Comment

तीतो सत्य, हाँस्यरसको भाङ र इलमको पाठ

वाशुदेव मिश्र

राज्य नियन्त्रित टेलिभिजनको सबैभन्दा महत्वपूर्ण समयमा उद्यमशील कसरी बन्ने ? जस्ता सकारात्मक सन्देशहरु प्रवाहित गर्नुभन्दा कुनै कम्पनीलाई समय बेचेर नौटङ्की देखाइन्छ । यो राज्यले नागरिकमाथि गरेको अन्यायको पराकाष्टा हो ।

के गर्दा स्वरोजगारको सृजना हुन्छ ? भन्ने खालका कार्यक्रम उत्पादन गर्न राज्यलाई कसले छेकेको छ ? राज्यको काम मनोरञ्जनमा भुलाउने होइन, नागरिकलाई इलम सिकाउने हो । एकाबिहान राशीफल फलाकेर नागरिकको उत्साहको तेजोवध गर्ने र मुख्य समयमा हाँस्यरसको भाङ खुवाएर लठ्याउनुदेशप्रतिको गद्दारी हो । राज्य नियन्त्रित टेलिभिजनले देशको आवश्यकता संवोधन गर्नुपर्छ ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘तीतो सत्य’ बन्द भएको छ । ‘तीतो सत्य’ बन्द हुँदा स्वभाविक रुपले तीता-मीठा प्रतिक्रिया सार्वजनिक भएका छन् । नेपाल टेलिभिजनमा २०६० सालदेखि प्रशारण सुरु भएको हाँस्यरसमा आधारित कार्यक्रम दर्शकमाँझ लोकपि्रयमध्येको एक थियो । अर्थ अभावलाई कारक बनाउँदै कलाकारको टिमले सिरियल प्रशारण बन्द गरेपछि राजनीतिबाट बिरक्तिएका नेपालीले खराब प्रवृत्तिमाथिको व्यङ्ग्य हेरेर राहत महशुस गर्ने अवसर वञ्चित भएको छ ।

Tito-Satya

आफू केही गर्न नसक्ने तर विद्रोही प्रवृत्ति मुखरित होओस् भन्ने आम नेपालीको चाहनाको प्रतिविम्ब थियो- ‘तीतो सत्य’ । दैनिक जीवनमा हुने सामान्य घटनादेखि राजनीतिका फोहर खेल र कलाकारिता भित्रको वास्तविकतालाई पनि धक नमानी प्रहार गर्नु ‘तीतो सत्य’को विशेषता थियो ।

हाँस्यरस सृजना गर्न सक्नु उत्कृष्ट कलाकारिता हो । हाँस्यरसको जादुले दर्शकलाई बाँध्न सक्नु र सही सूचना अनी सन्देश प्रवाह गर्नु कलाकारको सफलता हो । त्यो सफलता दीपकराज गिरी र दीपाश्री निरौलालाई प्राप्त भयो । उनकै शब्दमा उचाइ प्राप्त गरेपछि तल ओर्लनै पर्छ । ओर्लने उपक्रममा भोगेका तीता क्षणहरु उनकै लागि छाडौँ र आशा गरौँ फेरि पनि हाँस्यमा व्यङ्ग्य भाव समाहित गर्दै यस्ता कार्यक्रम बनून् । आम नेपालीको असन्तुष्टीलाई कलाकारिताले समेटोस् । विकृति र बिसंगतिविरुद्ध कागबोलीमा ‘ब्रेक’ नलागोस् ।

तर, ‘तीतो सत्य’को तिक्तता कम डरलाग्दो छैन । नेपालको वर्तमानसँग जोड्दा भने विरुपता बाहेक केही नभेटिनु दुर्भाग्यपूर्ण छ । विरुपताको विराट दर्शनका लागि ‘तीतो सत्य’ निर्माणको दुःख र दर्द, प्रसारणमा अवरोध वा कलाकारको मेहनतभन्दा परसम्म सोच्नु पर्ने हुन्छ ।

टेलिभिजनको भाषामा ‘सुपर प्राइम टाइम’ भनिने त्यस्तो समयमा हाँस्य व्यङ्ग्य कार्यक्रम होइन सृजनात्मक कार्यक्रम प्रशारण गरिनुपर्छ । कसरी टनेलमा गोलभेँडा फलाउने, बजारिकरण कसरी गर्ने, कुन ठाउँमा कस्तो खेती लगाउने, पशु पालन गर्दा के हुन्छ ? के गर्दा स्वरोजगारको सृजना हुन्छ ? भन्ने खालका कार्यक्रम उत्पादन गर्न राज्यलाई कसले छेकेको छ ? राज्यको काम मनोरञ्जनमा भुलाउने होइन, नागरिकलाई इलम सिकाउने हो । देशले भोगेको ‘तीतो सत्य’ यही हो । भारतले लगाएको नाकाबन्दीले स्वाधिन अर्थतन्त्रको खोजी गरिरहेको अवस्थामा यो आवश्यकता अझ टड्कारो बनेको छ ।

हाँस्यरसको भाङ चखाएर युवाहरुलाई लठ्याउन छाडी राज्यले आफू नियन्त्रित टेलिभिजनको सुपर प्राइम टाइम रचनात्मक कार्यको लागि प्रयोग गर्न सक्नुपर्छ । नेताको चर्तिकलादेखि आजित जनता कोही कसैले उनीहरुलाई गाली गरोस् भन्ने पनि चाहन्छन् तर त्यसको लागि अर्को कुनै समय प्रयोग गर्न सकिन्छ । यत्तिकै पनि देशमा थुप्रै टेलिभिजन च्यानल छँदैछन् । ‘तीतो सत्य’ बन्द भएकोमा दुःख मान्नु पर्ने केही छैन बरु राज्यले नसोचेको यो तीतो यथार्थप्रति भने सरोकारवाला संवेदनशील बन्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment