Comments Add Comment

चीनले केरुङबाट तेल नदिने, सिगात्सेसम्म आउन प्रस्ताव

Nepali Tanker Rasuwagadi (5)

रविन्द्र घिमिरे
१४ मंसिर, काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनले नेपाललाई केरुङबाट नभई सिगात्सेबाटै इन्धन लैजान प्रस्ताव गरेको छ । भारतको अघोषित नाकाबन्दीपछि केरुङबाट अनुदानमा तेल दिएको चीनले ब्यापारिक रुपमा भने सिगात्सेबाट लैजान प्रस्ताव गरेको हो ।

केरुङ नेपाल-चीन सीमानाका रुसुवागढीबाट मात्र २६ किलोमिटरको दुरीमा छ । तर, चीनको नयाँप्रस्ताव अनुसार सिगात्सेबाट तेल ल्याउने हो भने नेपाली ट्यांकरले झण्डै ५ सय ४८ किलोमिटर दुरी पार गर्नुपर्छ । काठमाडौंबाट सिगात्से ६ सय ८५ किलोमिटरको दुरीमा छ ।

‘सधैं माइनस ६/७ डिग्री सेल्सियस तापक्रम रहने र त्यो पनि लामो दुरीको हिमाली बाटो भएकाले सिगात्सेबाट तेल ल्याउन तत्काल सम्भव छैन’ आयल निगमका एक अधिकारीले अनलाइनखबरसँग भने- ‘नेपाली ट्यांकर पनि त्यसअनुरुपका छैनन् र चालकहरु पनि हिउँ जम्ने बाटो हुँदै सिगात्से पुगेर तेल ल्याउन तयार भइहाल्छन् भन्नेमा हामी विश्वस्त छैनौं ।’

नेपाली टोली रित्तो हात फर्किँदै

चीनको नयाँप्रस्ताव अनुसार सिगात्सेबाट तेल ल्याउने हो भने नेपाली ट्यांकरले झण्डै ५ सय ४८ किलोमिटर दुरी पार गर्नुपर्छ । काठमाडौंबाट सिगात्से ६ सय ८५ किलोमिटरको दुरीमा छ ।

नेपालका सरकारी अधिकारीहरुका अनुसार इन्धन खरिदको ब्यापारिक सम्झौताको वातावरण बनाउन चीन गएको नेपाल आयल निगमको टोली आज (सोमबार) स्वदेश फर्किँदैछ ।

चीनबाट हुने तेल आयातमा दोहोरो कर हटाउने, मूल्य निर्धारण गर्ने, तेल आयातको प्रवन्ध मिलाउने लगायत प्राविधिक विषय टुंग्याउन निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई र निमित्त निर्देशक दीपक बराल चीन गएका हुन् ।

टोलीले सम्झौताका विषयमा चीनको चाइना नेशनल पेट्रोलियम कर्पोरेशन र चीन सरकारका अधिकारीहरुसँग छलफल गरेको छ ।

टोलीसँग चीनले आफूले बेच्ने इन्धन अनुदानको जस्तैगरी केरुङसम्म आफ्नै ट्यांकरमा ल्याइदिन नसक्ने जनाएको निगम स्रोतले बतायो ।

यो टोलीले चीनमा गरेको छलफलमा इन्धनको मूल्यमा पनि ठोस सहमति हुन सकेन । नेपाल र चीनबीच इन्धन आपूर्तिका लागि समझदारी भए पनि व्यापारिक सम्झौता हुन बाँकी छ ।

नेपाल सरकारले भारतले अहिले दिइरहेको मूल्यमा नबढ्ने गरी तेल दिन चीनलाई प्रस्ताव गरेको छ । यसका लागि कर छुट गर्न नेपालले औपचारिक रुपमा नै चीनसँग आग्रह गरेको थियो ।

तर, चीनले भने कर छुटबारे औपचारिक जवाफ दिएको छैन । बरु केरुङको सट्टा सिगात्सेबाट तेल लैजान नयाँ प्रस्ताव राखेको छ ।

‘सिगात्सेमै नेपाली ट्यांकर पुगे तेल दिन चीन तयार देखिएको रिर्पोटिङ चीन गएको टोलीले गरेको छ । त्यसबारे थप कुरा टोली फर्किर्एपछि नै थाहा हुन्छ’ आयल निगमका अधिकारीले अनलाइनखबरसँग भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment