Comments Add Comment

च्याम्पियन बन्ने भोक

६ चैत, विराटनगर । दोस्रो हुनुको पीडा सबैभन्दा बढी कसैलाई थाहा छ भने त्यो नेपाली महिला फुटबलरहरु नै होला ।

दक्षिण एसियाली देशहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालले तीन पटक फाइनल खेलेको छ तर, हरेक पटक दोस्रो मात्र भयो । नेपाललाई च्याम्पियन बन्न रोक्ने उही भारत ।

कतिसम्म भने चौथो साफ महिला च्याम्पियनसिपमा त भारतसँग सेमिफाइनलमै भेटिएर नेपाल फाइनल पुग्नै सकेन । शुक्रबार नेपालले चौथो पटक फाइनल खेल्दैछ र यो पटक पनि प्रतिद्वन्द्वी भारत नै छ ।

‘भोलि हाम्रो दिन हो । अवश्य हामी त्यो रेकर्ड ब्रेक गर्छौं’ नेपाली टोलीका प्रशिक्षक हरि खड्का विश्वस्त देखिन्छन् ।

खड्काको विश्वासका पछाडि केही आधार छन् । पहिलो आधार हो, नेपालको सुधारिएको प्रदर्शन ।

दोस्रो, खड्काले टीम सम्हालेपछि भारतविरुद्ध नेपाली महिला टोलीले हात पारेको सफलता ।

पूर्व खेलाडीसमेत रहेका खड्काले महिला टोलीको प्रशिक्षण सम्हालेपछि नेपाल र भारतबीच दुई पटक भेट भएको छ । ओलम्पिक खेलकुदको एसिया छनोटमा नेपालले भारतसँग १–१ को बराबरी खेलेको थियो । त्यसपछि हिरो वुमन्स गोल्डकपमा भएको भेटमा नेपालले भारतलाई उसकै घरेलु मैदानमा २–१ गोल अन्तरले हरायो ।

यो जितले नेपाली फुटबलरहरुको मनोबल निकै उच्च बनाएको छ । खड्काको दाबीलाई मान्ने हो भने उनले नेपाली खेलाडीमा रहेको भारतको भूतलाई हटाएका छन् ।

त्यसमाथि आफ्नै घरेलु मैदान र दर्शकको साथ पनि हुँदा नेपाललाई च्याम्पियन बन्ने भोक मात्र होइन, अवसर पनि छ ।

‘आफ्नै देशमा भइरहेको साफ च्याम्पियनसिपको उपाधि उचाल्ने यो पटक सुनौलो अवसर छ । हामी त्यही अनुसारको रणनीति बनाउछौँ’, प्रशिक्षक खड्काले भने ।

सन्जु बन्न सक्छिन् तगारो

तर, चार पटकको च्याम्पियन भारतलाई हराउन नेपाली टोलीलाई त्यति सजिलो छैन । हिरो वुमन्स गोल्डकपमा भन्दा साफमा भारतीय खेलाडीको प्रदर्शन सुध्रिएको छ ।

टिममा एकसेएक राम्रो खेलाडी छन् । प्रशिक्षक हरि भन्छन्, ‘उनीहरुका केही खेलाडी अनुभवी र राम्रा छन् । तिनीहरुलाई रोक्दै आक्रमक खेल खेल्ने हाम्रो लक्ष्य हो ।’

उनीहरु मध्ये एक हुन् मिडफिल्डर सन्जु । भारतलाई फाइनलसम्म पुर्‍याउन उनको महत्वपूर्ण भूमिका छ । लेफ्ट विङबाट बल अगाडि बढाउने सन्जु जुनसुकै अवस्थामा पनि गोल गर्ने क्षमता राख्छिन् ।

सन्जु बाहेक रतनबाला देवी, ग्रेस दङमी, इन्दुमती कठिरेसान, सन्धिया रंगानाथन पनि नेपालको उपाधि यात्रामा बाधक हुन सक्छन् । तर, सेमिफाइनलमा भारतसँग ४–० ले पराजित भएपछि पोष्ट म्याच कन्फ्रेन्समा बंगलादेशी प्रशिक्षक गोलम रबानी छोटोनले उपाधिको हकदार डिफेन्डिङ च्याम्पियन भारत भन्दा नेपाल रहेको बताए ।

समूह चरणमा नेपालसँग ३–० को हार व्यहोरेका बंगालदेशका प्रशिक्षक रबानीले उपाधि यात्रामा भारतभन्दा नेपाल निकै अघि रहेको टिप्पणी गरेका हुन् । उनले भने, ‘नेपालको सबै पक्ष बलियो छ । भारतभन्दा नेपाल उपाधिको दाबेदार हो ।’

त्यसो त नेपालसँग पनि दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड मानिएकी सावित्रा भण्डारी छिन् । उनी मात्रै हैन, कप्तान निरु थापा, अनिता बस्नेत, मञ्जलीकुमारी योञ्जन नेपालका मुख्य हतियार हुन् ।

बेन्च खेलाडी पनि उतिकै सशक्त छ । रेखा पौडेल, अमृता जैसी, कविता धिमाल राम्रा खेलाडी हुन् ।

विगतको हारले तर्साउँछ

साफ महिला च्याम्पियनसिपमा नेपाल अभागी टिम हो । नेपाले यसअघिका चार संस्करणमध्ये तीनमा फाइनल र एकमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

तर, हरेक पटक भारत बाधकबन्दा साफ च्याम्पियन बन्ने नेपालको सपना चकनाचुर हुँदै आएको छ ।

सन् २०१० मा बंगलादेशमा सम्पन्न पहिलो साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भएपछि विजेता बन्नबाट चुक्यो । २०१२ मा श्रीलंकामा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा भारतसँग ३–१ गोलले पराजित भयो । यो पटक पनि उपविजेतामै सीमित बन्यो । २०१४ मा पाकिस्तानमा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा भारतसँग ६–० गोलअन्तरले पराजित हुदै अर्को मौका गुमाएको थियो ।

२०१६ मा भएको साफ महिला च्याम्पियनसिपमा भने नेपाल र भारतबीचको भेट सेमिफाइनलमै भयो । यो पटक नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित भयो ।

विगतमा महिला साफ च्याम्पियनसिपमा भारतसँग भोगेको पराजयले अहिले पनि नेपाली महिला टिमलाई सताउने गरेको छ । पछिल्लो समयमा भारत भन्ने वितिकै खेलाडीमा लाग्ने डर त हटेको छ तर, भारतमाथि पूरै हावी हुने अवस्था भने छैन ।

नेपाली टोलकिा प्रशिक्षक खड्का भन्छन्, ‘भारत दक्षिण एसियामा पहिलेदेखि नै बलियो टिम हो तर, मैले टिम सम्हालेपछि दुई पटक भेट भयो । एकमा बराबरी एक खेलमा जित हात पारेका छौं । हामी उनीहरुभन्दा कम छैनौं, यो पटक उपाधि उत्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment