Comments Add Comment

अनुदान र विप्रेषणले देश विकास हुँदैनः प्रधानमन्त्री

KP OLi

३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट प्राप्त अनुदानको रकम र विदेशबाट आउने विप्रेषणबाट देश विकास हुन नसक्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले थप नेपालीलाई आप्रवासी कामदारका रुपमा विदेश पठाउन आफू अनिच्छुक रहेको प्रष्ट पारेका छन् ।

सन्देशमा उनले भनेका छन्, ‘सम्भव भएसम्म विश्वका २३ करोड २० लाख आप्रवासीको भिडमा थप नेपालीलाई पठाउने पक्षमा मेरो मञ्जुरी रहदैन । नेपालीहरु नेपालभित्रै काममा संलग्न रहुन् भन्नेमा मेरो जोड रहने छ ।’

तत्काललाई भूकम्पपछिको पुनर्निर्माण तथा पूर्वाधार निर्माणका विभिन्न परियोजनाका माध्यमबाट नेपालीलाई आवश्यक पर्ने थप रोजगारी सिर्जना गर्न सकिने विश्वास प्रधानमन्त्रीको सन्देशमा व्यक्त गरिएको छ ।

रोजगारी अभिवृद्धिमा योगदान पुर्‍याउनेलाई पुरस्कार

आगामी दिनमा अदक्ष श्रमिकको रुपमा विदेशमा गई काम गरी स्वदेश फर्किएकाहरुलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटिईभिटी) तथा सीप-तालिम केन्द्र मार्फत सिप परीक्षण गरी प्रमाणपत्र प्रदान गर्ने व्यवस्था मिलाइने प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रवासी श्रमिकको आयलाई लगानी गर्न आवश्यक संयन्त्रको विकास गरिने भन्दै उनले वैदेशिक रोजगारबाट फर्कि स्वदेशमा उत्पादन तथा रोजगारी अभिवृद्धिमा योगदान पुर्‍याउने एक जनालाई सम्मान र पुरस्कारको व्यवस्था गर्ने घोषणा पनि गरेका छन् ।

‘प्रवासमा कार्यरत नेपाली नागरिकले आफू कार्यरत मुलुकबाटै निर्वाचनमा मतदान गर्न पाउनु पर्ने मागप्रति म जानकार छु,’ प्रधानमन्त्रीले भनेका छन्, ‘त्यसका लागि वातवारण बनाउन निर्वाचन आयोगसँग समन्वय गरिनेछ ।’ उनले आप्रवासन सुरक्षित मात्रै नभएर त्यसपछिको रोजगारीसमेत मर्यादित हुनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment