Comments Add Comment

कांग्रेसमा उमेर हदः ८० वर्षे सुशीलदेखि ४० वर्षे गगनसम्म

१९ पुस, काठमाडौं । नेपालमा अहिले १८ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ६० प्रतिशतभन्दा बढी छ । कमाउने हातहरु मानिने यो उमेर समूहको जनसंख्या यति धेरै भएको यो पहिलोपटक हो ।

तर, देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको नेतृत्वमा भने ६० वर्षभन्दा कम उमेरको कुनै भूमिका छैन । कांग्रेस यतिबेला १३ औं महाधिवेशनको तयारीमा छ । तर, योपटक पनि ८० वर्षका सुशील कोइराला र ७० वर्ष पुग्दै गरेका शेरबहादुर देउवा नै सभापतिमा चुनाव लड्ने तयारीमा छन् ।

सभापतिका अर्का दाबेदार रामचन्द्र पौडेल पनि ७१ वर्षका भइसके । यसको अर्थ तीन नेतामध्ये जसले जिते पनि कांग्रेसको कार्यकारी पद मानिने सभापतिमा ७० कटेका ‘बूढा’ नेताहरु नै पुग्नेछन् ।

Congresh age

विवाद उमेरको

नेपालको राजनीतिमा उमेरसम्बन्धी विवादले प्रवेश पाउँदै आएको छ । पुराना र बूढम नेताहरुलाई विस्थापित गरेर युवा पुस्तालाई नेतृत्व दिनुपर्ने भनाइ फेसनमै रुपमा आउने गरेको छ । पुरानो पुस्ताका नेताहरु भने युवालाई क्षमताका आधारमा प्रतिपस्र्धा गर्नुपर्छ भन्दै बाँचुञ्जेल नेतृत्व गरिरहने मानसिकतामा देखिन्छन् ।

युवा र बूढा नेताको अन्तरविरोधबाट नेपाली कांग्रेस पनि अछुतो छैन । कांग्रेसमा बूढा नेताको विम्वका रुपमा सुशील कोइराला र युवा नेताको विम्वमा गगन थापालाई लिने गरिन्छ । तर, गगन थापालाई युवा नेताको रुपमा प्रोजेक्ट गर्दा कांग्रेसभित्रका ७० कटेका नेताहरुको चित्त प्रशन्न हुने गरेको छैन ।

गगन थापाजस्तै नेपाली कांग्रेसमा धनराज गुरुङ, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गुरु घिमिरे, प्रदीप पौडेललगायतका युवाहरुलाई सम्भावना बोकेका नेताका रुपमा हेर्ने गरिएको छ । यद्यपि नेपाली कांग्रेसमा पुराना नेताहरुको सूची निकै लामो छ, जसले नेतृत्वमा निरन्तर दाबी गरिरहेका कारण युवाहरुको पालो तत्कालै आइहाल्ने स्थिति छैन ।

उमेर हद तोक्नुपर्ने माग

नेपाली कांग्रेसको विधानमा उमेर हदबारे कुनै व्यवस्था छैन । संगठनमा ‘एक्जिट पोलिसी’ अर्थात प्रमुख पदहरुबाट बाहिरिने नीति नहुने हो भने नयाँ पुस्ता कसरी आउँछन् भन्ने प्रश्न बेला-बेला उठ्ने गरेको छ ।

संगठनलाई चुस्त बनाउन पनि ‘एक्जिट पोलिसी’ आवश्यक पर्ने युवा नेता गगन थापा बताउँछन् । तर, कांग्रेसका बहुसंख्यक नेता कार्यकर्ताले उमेरले होइन, विचारले महत्व राख्छ भन्ने मत राख्छन् ।

कांग्रेसमा विधानबारे छलफल गर्ने थलो महासमिति बैठक हो । र, महाधिवेशन हुनुअघि यस्तो बैठक हुनुपर्ने हो । तर, ०६९ चैतमा नवलपरासीमा भएयता कांग्रेसको महासमिति बैठक हुन सकेको छैन । योपटक महाधिवेशन अघि महासमिति बैठक हुनेछैन ।

विधान संशोधनको मस्यौदा तयार पार्न संगठन विभाग प्रमुख आनन्द ढुंगाना नेतृत्वको समितिले जिम्मा पाएको छ । यो समितिको प्रतिवेदन आएपछि केन्द्रीय समितिमा छलफल हुनेछ ।

कांग्रेस नेता गगन थापा केन्द्रीय कार्यसमितिमा दुई कार्यकाल भन्दा बढी कार्यकारी पदमा बस्न नपाउने र ६५ वर्षको उमेर हद राख्ने प्रस्तावको तयारीमा रहेको बताउँछन् ।

विश्लेषक भन्छन्- उमेरको महत्व छैन

राजनीतिक विश्लेषक कृष्ण खनाल भने राजनीतिमा उमेरले खासै महत्व नराख्ने बताउँछन् । उमेर हद तोक्ने प्रस्तावलाई उनी बेकारको मान्छन् । यसले पार्टीलाई ब्यूरोक्रेटाइजेसन गर्ने उनको मत छ ।

अनलाइनखबरसँग कुरा गर्दै प्राध्यापक खनालले भने, कांग्रेसमा युवाहरु पनि पालो पर्खिर्एर बस्नेहरु मात्र छन् । नेतृत्वमा आउनका लागि पालो पर्खिने होइन, च्यालेन्ज गर्नुपर्छ ।’

खनालका अनुसार नेताहरुमा ३० वर्षको उमेर हुँदा नै नेतृत्व क्षमता देखिन्छ । वीपी २०१५ सालमा प्रधानमन्त्री भए । तर, ००७ सालतिर नै उनको त्यो क्षमता देखिएको थियो । कांग्रेस, एमाले र एमाओवादीमा अहिले नेतृत्वमा रहेकाहरु पनि उमेरमा नै उदाएका नेताहरु हुन् । खनाल भन्छन्- कांग्रेसमा पछिल्लो समय केही मान्छेहरु आए तर, अडिनै सकेनन् ।’

प्राध्यापक खनालजस्तै धारणा राख्छन् देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्मा । पार्टीभित्रको उमेरसम्न्धी विवादबारे विश्वकर्माले अनलाइनखबरसँग भने- ‘अहिले पार्टीमा मुख्य अभाव विचार र क्रियाशीलताको हो, उमेर मुख्य विषय होइन ।’

कांग्रेसको आगामी महाधिवशेनमा विचार र कार्यक्षमताले महत्व पाउने तर उमेरले नपाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment