+
+
Shares

कुवेतमा अवैधानिक बस्दै हुनुहुन्छ ? नयाँ नीतिबारे थाहा पाउनोस् !

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १६ गते २०:१०

Kuwait-City

१६ माघ, कुवेत । के तपाई अवैधानिक कामदारका रुपमा कुवेतमा हुनुहुन्छ ? यस्तो अवस्थामा हुनुहुन्छ भने कुबेत सरकारको ‘डिपार्टमेन्ट अफ रेसिडेन्सी अफियर्स’ ले गत १० जनवरीमा जारी गरेको सूचना तपाईले पक्कै थाहा पाउनुभएकै होला । छैन भने तपाईले यसबारे ख्याल गर्नैपर्ने भएको छ ।

कुवेतको आवासीय कानून उल्लंघन गरी गैर कानूनीरुपमा बसोबास गर्दै आएका विदेशी कामदारहरुलाई जरिवाना तिरेर आफ्नो देशमा र्फकन वा दूताबासबाट भिसाल लगाएर कुवेतमै बस्न पाउने यहाँको सरकारले सूचना जारी गरेको छ ।

कुवेत सरकारले यस्तो सूचना जारी गरेको पहिलो होइन । यसअघि पनि उसले विदेशी कामदारलाई यस्तो विकल्पसहितको सूचना जारी गरेको थियो । तैपनि विनाभिसा काम गर्ने अवैधानिक कामदारको समस्याबाट कुबेत सरकार अझैसम्म मुक्त हुन सकेको छैन ।

विदेशी कामदारलाई स्वीकृति दिँदै आएका विभिन्न मुलुकहरुले अवैधानिक कामदारको संख्या घटाउने प्रयास गर्दै आएका छन् र यही सिलसिलामा कुवेतले सन् २०१६ को सुरुवाती दिनमा नयाँ सूचना जारी गरेको हो । हालै मलेसिया सरकारले पनि गैरकानूनी नेपाली कामदारले बैधानिक भएर काम गर्न पाउने नीति सार्वजनिक गरिसकेको छ ।

कुवेतमा कति छन् नेपाली कामदार ?

कुवेत सरकारले जारी गरेको यस्तो नयाँ सूचनाबाट करिब ४ हजार नेपालीहरुले लाभ लिनसक्ने अनुमान गरिएको छ । कुवेतस्थित नेपाली दूतावासका अधिकारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार यहाँ करिब ४ हजार नेपालीहरु अवैधानिक कामदारका रुपमा रहेका छन् ।

कुवेतमा कति नेपालीले काम गर्छन् भन्ने यकिन तथ्यांक पाइँदैन । कुवेत सरकारको आँकलन अनुसार करिब ६१ हजार नेपालीहरु यहाँ रहेको दाबी छ ।  नेपाली दूतावास स्रोतका अनुसार तीमध्ये करिब २४ हजार नेपालीहरु कुवेतमा घरेलु कामदारका रूपमा काम गरिरहेका छन् । तर, यो तथ्यांकभित्र वैधानिक कामदारमात्रै पर्छन् । अवैधानिक रुपमा कुबेतका कार्यरत नेपालीको यकिन संख्या पाउन गाह्रो छ ।

भगौडा र अपराधीबाहेक अरुलाई सहुलियत

कुवेत सरकारले जारी गरेको सूचनालाई धेरैले ‘आम माफी’ ठानेका छन् । तर, दूतावासका अधिकारीहरुका अनुसार यो कुनै आम माफी होइन । र, यस्तो सूचनाबाट भगौडा कामदार एवं अपराधमा संलग्न रहेका बाहेक अन्य विदेशी कामदारलाई फाइदा नै पुग्ने देखिएको छ । नेपाली कामदारहरुले पनि कुबेत सरकारको यस्तो सूचनाबाट लाभ लिन सक्ने देखिएको छ ।

कम्पनी तथा रोजगारदाताको घरबाट भागेको भनी मुद्दा वा उजुरी परेका (रनवे केस भएका) या आपराधिक गतिविधि तथा अन्य कसुरमा मुद्दा/उजुरी परेका बाहेक गैरकानूनी रुपमा कुवेतमा बसोबास कामदारले आफ्नो पासपोर्ट वा ट्राभल डकुमेन्टका आधारमा जरिवाना तिरी ‘इक्जिट भिसा’ लिन पाउने छन् । र, यस्तो भिसा लिएपछि नेपाल र्फकन पाउने छन् ।

यसरी कागजात देखाएर नेपाली कामदारले कुवेतका ६ स्थानका गभर्नोरेटहरुमा सम्पर्क गर्नुपर्ने नेपाली दूतावासले जनाएको छ । ती ६ स्थानहरुमा हवाली, मुबारक, अल-काबिर, अल-असिमाह, फारवानिया, जहरा र अहमादी अन्तरगतका भिसा कार्यालय/विभाग वा आवासीय मामिला विभागहरु छन् ।

त्यहाँ गएर नेपालीहरुले स्वदेश र्फकनका लागि एक्जिट भिसा लिन सक्ने नेपाली दूतावासले जनाएको छ ।

जरिवाना कति लाग्छ ?

भिसाको म्याद सकिएर गैरकानूनीरुपमा बसिरहेका विदेशी कामदारलाई कुवेत सरकारले जरिवाना लिएर स्वदेश फर्कन दिने नीति लिएको छ । यसका लागि तिर्नुपर्ने जरिवानाको दर प्रतिदिन २ कुबेती दिनार रहेको छ । अधिकतम शुल्क ६ सय दिनार लाग्ने बताइएको छ ।

जरिवाना तिर्ने बेलामा नै कुबेत छाडेर र्फकने मिति सरकारले तोकिदिने छ । र, सोही तोकिएको मितिमा सो व्यक्तिले आफ्नो देशमा फर्किइसक्नुपर्ने छ ।

तर, कम्पनी वा रोजगारदाताको घरबाट भागेको भनी उजुरी परेका वा आपराधिक गतिविधिमा या अन्य कसुरमा मुद्दा वा उजुरी परेकाहरुले भने यसरी जरिवाना तिरेर स्वदेश फर्कने सुविधा पाउने छैनन् ।

भगौडा केसमा परेका कामदारहरुलाई ‘डिपोर्टेसन’ प्रक्रियाबाट मात्रै फर्काइने कुबेत सरकारले स्पष्ट पारेको छ ।

कागजपत्र नभएकाहरुले के गर्ने ?

अबैधानिक रुपमा कुवेतमा बसोबास गरिरहेको, भगौडा वा अन्य कुनै केस समेत नलागेको तर, पासपोर्ट र सिभिल आइडीलगायतका केही पनि कागजात नभएका नेपाली कामदारले चाँहि के गर्ने ? यस विषयमा पनि कुवेत सरकारले सहुलियतपूर्ण नीति ल्याएको छ ।

त्यस्तो कागजात नभएका तर मुद्दा मामिला नलागेका कामदारले आफूलाई पायक पर्ने स्थानको आवासीय मामिला विभागमा गई फिंगरपि्रन्ट गराएपछि प्राप्त हुने कागजका साथमा ट्राभल डकुमेन्टसमेत पेश गरी जरिवाना तिरेपछि नेपाल र्फकन पाउने छन् ।

फेरि कुवेतमै बस्न के गर्ने ?

विनाभिसा कुवेतमा बस्दै आएका कामदारले स्वदेश नफर्किई त्यहीँ बसेर बैधानिकरुपमा रोजगारी गर्छु भन्ने ठानेमा त्यसो गर्न पनि पाउने छन् । तर, यसरी भिसा थपेर बस्न चाहनेहरुका लागि पुरानो स्पोन्सर (रोजगारदाता) ले ‘रिलिज पेपर’ दिएपछि मात्र नयाँ स्पोन्सरले भिसा लगाउन सक्नेछ । तर, उजुरी परेकाहरुको हकमा यो व्यवस्था लागू हुने छैन ।

विनाभिसा काम गरेर जरिवाना तिरी नेपाल फर्केका कामदारले फेरि कुवेत जाने अनुमति पाउँछन् कि पाउँदैनन् ? यो प्रश्नमा कुवेतस्थित नेपाली दूतावासकी श्रम सहचारी गोमा पौडेल ढकाल भन्छिन्-‘त्यसरी नेपाल फर्केका कामदारहरु नयाँ भिसामा पुन कुवेत आउन पाउँछन् । तर कुनै केस भएकाहरु त्यसरी आउन पाउँदैनन् ।’

ढकालका अनुसार जनवरी १० मा कुवेत सरकारले जारी गरेको यो सूचना कति समयका लागि लागू हुने भन्ने अवधि तोकिएको छैन ।
सूचनाको अवधि नतोकिएका कारण नेपाली कामदारहरुले जतिसक्दो चाँडो आफूलाई बैधानिकता प्रदान गर्ने वा स्वदेश र्फकनेबारे सोच्दा राम्रो हुने देखिन्छ ।

हेर्नुहोस् दूताबासको सूचना

Kuwait-Notice

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?