Comments Add Comment

कृषिमन्त्रीले किसानहरूसँग प्रत्यक्ष कुराकानी गर्ने

haribol gajurel, Minister of Agriculture

१६ फागुन, काठमाडौं । किसानले कृषि र पशुपक्षीको व्यवसायमा आइपर्ने कठिनाइका सम्बन्न्धमा आइतबारदेखि विज्ञसँग प्रत्यक्ष सम्पर्क गर्न पाउने भएका छन् ।

अवकाशप्राप्त कृषि प्राविधिक, विश्वविद्यालयका विज्ञ एवम् अनुसन्धानकर्ताको ज्ञान र सीपलाई किसान समक्ष पुर्याउन कृषि विकास मन्त्रालयले आइतबारबाट किसान ‘कल सेन्टर’लाई प्रयोगमा ल्याएको हो । पर्वतको चुहाबाट राजेश रिमाल क्षेत्री (आरसी)ले कृषि विकासमन्त्री हरिबोलप्रसाद गजुरेलसँग प्रत्यक्ष कुराकानी गरेपश्चात औपचारिक रुपमा किसान कल सेन्टरलाई प्रयोगमा ल्याइएको हो ।

आइतबार कृषि सूचना तथा सञ्चार केन्द्रमा स्थापित किसान कल सेन्टरबाट कृषि मन्त्री हरिबोल गजुरेलले पर्वतका आरसीले राखेको कृषि आयोग गठन सम्वन्धमा राखेको जिज्ञासालाई सम्वोधन गरेका थिए ।

कृषिमन्त्री गजुरेलले आरसीसँग प्रत्यक्ष कुरा गर्दे कार्यविधि तयार भई मन्त्रिपरिषदमा पेस भइसकेको बताउँदै किसानले १३३ सेवा केन्द्र र २५५ उपसेवा केन्द्रबाट भनेकै समयमा अनुदानको रासायनिक मल प्राप्त गर्ने जानकारी दिए ।

यसअघि कृषि विकास मन्त्रालयले विसं २०२३ मङ्सिर २५ बाट रेडियो नेपालमा र २०५६ सालमा नेपाल टेलिभिजनबाट कृषि कार्यक्रम सञ्चालनको सुरुवात गरेको थियो । सो कार्यक्रममा किसानले विज्ञसँग सवाल–जवाफ गर्न पाउँदैनन् । कृषिप्रसार सेवालाई व्यापकता दिने उद्देश्यअनुरुप सुरुवात गरिएको किसान ‘कल सेन्टर’ हप्तामा तीन दिन सञ्चालनमा आउने कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले जानकारी दिए ।

किसानले १६६००१९५००० मा फोन गरी विज्ञसँग आफ्नो समस्या सिधा राख्न सक्छन् । सो कलमा टेलिफोन गर्दा किसानले कुनै शुल्क तिर्नु पर्दैन । हप्तामा आइतबार, मङ्गलबार, र बिहीबार ११ बजेदेखि १ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म किसानले विज्ञसँग कृषि, कृषि प्रविधि, कृषि बीउबीजन, मलखाद, र कृषि यान्त्रिकीकरणका सम्बन्धमा प्रत्यक्ष खोजीनीति र किसानसँग दोहोरो कुराकानी गर्नसक्ने छन् ।

सेन्टरको दैनिक व्यवस्थापकीय कार्य सञ्चालनका लागि कृषि सेवामा कार्यरत वरिष्ठ कृषि अधिकृत एक, प्राविधिक सहायक एक र अन्य एक सहयोगी कर्मचारी कृषि विकास मन्त्रालयबाट काजमा खटाई कार्य प्रारम्भ गरिएको हो । कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने प्रविधिबारे किसान, कृषि उद्यमी कृषि व्यवसायी, कृषिप्रसार तथा अन्य सरोकारवालालाई जानकारी गराउने, कृषि उपजको सम्भाव्य बजार, कृषिमा आधारित संरक्षण एवम् प्रशोधन प्रविधि किसानबाट प्राप्त गुनासो सङ्कलन गर्न आवश्यक व्यवस्था मिलाइने कृषि सचिव उत्तमकुमार भट्टराइले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment