Comments Add Comment

बीपीपुत्र भर्सेज महेन्द्रकुमारका छोरा ! साथमा ससुरा

Shasank Koirala and gagan thapa

२१ फागुन, काठमाडौं । देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र नयाँ नेतृत्वको दौड उत्कर्षमा पुगेको छ । जारी १३ औं महाधिवेशनको बन्दसत्र सुरु हुँदा सबैको ध्यान भने भावी नेतृत्वको जोडघटाउमा केन्द्रित भइसकेको छ ।

बन्द सत्रअघि नै प्यानल घोषणा र उम्मेदवारी दर्ता भइसकेकाले महाधिवेशनको माहौल नेतृत्वकेन्दि्रत बनेको हो । यसपटक नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने भएकाले छनोटको दायरा फराकिलो भएको छ र मतदाता थप उत्साहित छन् ।

यस महाधिवेशनले सभापतिको कुर्सीमा कसलाई राख्ला भन्ने चासो सबैभन्दा बेसी हुने नै भयो । तर, अन्य पदहरुको दौड पनि कम्ति हेर्नलायक छैन । सबैभन्दा रोचक प्रतिस्पर्धा हुने देखिएको छ, महामन्त्री पदमा ।

महामन्त्री पदका लागि फरक-फरक विशेषता बोकेका तीनजना प्रतिस्पर्धी मैदानमा छन् । कार्यवाहक सभापति रामचन्द्र पौडेल प्यानलबाट वीपीपुत्र शशांक कोइराला खडा भएका छन् । महामन्त्री कृष्ण सिटौलाले युवा नेता गगन थापालाई अघि सारेका छन् भने शेरबहादुर देउवा टीमबाट मैदानमा छन् अर्जुननरसिंह केसी ।

गगन भर्सेज शशांक

कांग्रेसभित्र मात्र नभएर बाहिर पनि आशालाग्दा युवा नेताका रुपमा लिइन्छन् गगन । त्यसैले उनले महामन्त्रीमा जित्लान् कि हार्लान् भन्ने चासो छ, कांग्रेसका मतदातामा मात्रै नभएर बाहिर पनि छ ।

महामन्त्रीका लागि यो त्रिपक्षीय भिडन्त जति रोचक छ, कसलाई मत दिने भन्ने निर्णय गर्न हरेक मतदातालाई कठिन पनि उत्तिकै छ

विद्यार्थी राजनीतिबाटै लोकप्रियता कमाएका गगन ४० वर्ष नकट्दै महामन्त्री पदको उम्मेदवार बनेका छन् । कपाल सेतै नफुलिकन पार्टीको नेतृत्वमा पुग्न योग्य नठानिने कांग्रेसमा उनको उम्मेदवारीले एउटा तरंग पैदा गरिदिएको छ ।

०६२/०६३ को दोस्रो आन्दोलनसँगै सडकबाट उदाएका गगन  गणतन्त्रको नारा घन्काउने पहिलो कांग्रेसीका रुपमा लिइन्छन् । कांग्रेस नेतृत्व संवैधानिक राजतन्त्रदेखि बेबी किङको बहसमा अल्मलिइरहेका बेला उनले सडकमा गणतन्त्रको नारा उरालेका थिए । त्यसयता उनको लोकप्रियताको पारो लगातार माथि उक्लियो र उनी अघिल्लो महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य चुनिए ।

गगनभन्दा बिल्कुलै फरक पृष्ठभूमि छ, महामन्त्रीका अर्का उम्मेदवार शशांकको । कांग्रेसभित्र उनको पृष्ठभूमि र योगदान खोतल्दा खासै उल्लेख्य भेटिँदैन । खासमा उनी राजनीतिमा आएको नै धेरै भएको छैन । राजनीतिमा आएपछि पनि उनी त्यति धेरै सक्रिय देखिएनन् । दोस्रो संविधानसभामा सांसद भए, तर एकपटक पनि रोष्टममा उभिएर बहसमा भाग लिएनन् ।

यद्यपि, यसको मतलब शशांक कमजोर उम्मेदवार भने होइनन् । उनको सबैभन्दा ठूलो शक्ति भनेको पारिवारिक विरासत हो । कांग्रेसमा पारिवारिक विरासतले ठूलो अर्थ राख्छ ।

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा हुन् शशांक । कांग्रेसमा अहिले पनि बीपीको नाम पुजनीय रुपमा लिइन्छ । कांग्रेसका नेतादेखि कार्यकर्तासम्म आफ्नो भाषणमा सकेसम्म बीपीको नाम लिन र उनको आदर्श, सिद्धान्तको चर्चा गर्न छुटाउँदैनन् । कांग्रेसका मतदाताले शशांकभित्र उनै वीपीको छवि खोज्ने प्रयास गर्दैछन् ।

यद्यपि, वीपीको छोरा हुनु मात्रै शशांकको योग्यता भने होइन । अनुभवका हिसाबले कमजोर भए पनि उनी पढेलेखेका बौद्धिक व्यक्तित्व हुन्, जसले कांग्रेसका मतदातालाई आकषिर्त गर्नेछ ।

विरासत खोज्दै जाने हो भने शशांकको भन्दा ठीक विपरीत छ गगनका लागि । उनका बुबाको नाम महेन्द्रकुमार थापा हो, जसको नामले गगनलाई चिनिँदैन, बरु गगनका बुबा भनेर चिनिन्छन् ।

गगनको पारिवारिक सम्वन्ध कांग्रेसकै नेता अर्जुननरसिंह केसीसँग छ । उनी केसीका ज्वाइँ हुन् । तर, त्यसअघि नै उनले गगन थापाको स्व-परिचय बनाइसकेका थिए ।

महामन्त्रीका दुई उम्मेदवार गगन र शशांकबीच तुलना गर्दा वैचारिक धरालतमा पनि गरिनुपर्छ । नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तनसँग गगन कहीँ न कहीँ जोडिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको एजेन्डा कांग्रेसमा स्थापित गराउन गगनको भूमिका छ । गगनले सडकमा गणतन्त्रको नारा लगाउँदा कांग्रेसले विधानबाट राजतन्त्र हटाएकै थिएन । अहिले कांग्रेसको विधानमा मात्रै होइन, देशकै विधानमा गणतन्त्र संस्थागत भएको छ ।

शशांक भने गगनजस्तो अहिलेको राजनीतिक परिवर्तनको पूर्ण समर्थक होइनन् । यो परिवर्तनमा उनको खासै भूमिका पनि छैन । गणतन्त्र र धर्मरिपेक्षताको एजेन्डालाई शशांकले मनैदेखि आत्मसात गर्न नसकेको पछिल्लोपटक बीबीसी नेेपाली सेवालाई दिएको अन्तवार्ताबाट पनि देखिन्छ ।  उनले ‘पछाडि फर्कँदा के विग्रिन्छ ?’ भन्दै कांग्रेसभित्र नयाँ बहसको सिर्जना गर्न खोजेका छन् । नेतृत्वको परीक्षामा उत्रेकै समयमा उनले यो अभिव्यक्ति सभवतः जानिबुझी नै दिएका हुन् । यसबाट उनले अहिलेको परिवर्तनबाट असन्तुष्ट र नेपाललाई हिन्दूराष्ट्रका रुपमा हेर्न चाहने मतदाताहरुलाई पक्कै आकषिर्त गर्नेछन् ।

ज्वाइँ भर्सेज ससुरा

महामन्त्रीका लागि गगन र शशांकका बीचमा छन् अर्का उम्मेदवार अर्जुनरसिंह केसी । अर्जुन र गगनको भिडन्तको पाटो झनै रोचक छ । किनकि उनीहरु साख्खै ज्वाइँ-ससुरा हुन् ।

gagan and arjun narshing

कांग्रेसका पुराना हस्ती मानिने केसीका लागि महामन्त्री पदको दावेदारी विल्कुल अस्वभाविक होइन । क्षमताका हिसाबले पनि उनी गगन र शशांकभन्दा कम छैनन् । कांग्रेसमा केसीको पकड निकै रामो छ । उनी यसअघि संस्थापनमा थिए । र, अघिल्लो महाधिवेशनमा केसीले लोकप्रिय मत ल्याएका थिए । अहिले १३ औं महाधिवेशनको मुखमा अर्जुननरसिंह शेरबहादुर देउवा समूहमा गएर महामन्त्रीको उम्मेदवार भएका छन् ।

आफ्ना ज्वाइँ गगन थापा पनि महामन्त्रीमा उठ्दैछन् भन्ने जान्दा जान्दै केसीले सोही पदमा उम्मेदवारी दिएका छन् । यता, गगनले पनि ससुराको महामन्त्रीमा उम्मेदवारी घोषणा भइसकेपछि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

तर, अब यो ज्वाइँ-ससुराको मामला मात्रै रहेन । दुबैले तर्क गर्न सक्छन्, पारिवारिक सम्वन्ध अलग हो, राजनीति अलग हो । तर, बाहिर जे तर्क गरे पनि एक-अर्का विरुद्धको लडाईं उनीहरु दुबैका लागि पक्कै प्रितकर छैन ।

केसीको पाटोबाट हेर्दा उनको उम्मेदवारी अन्यथा लाग्दैन । किनकि राजनीतिक जीवनको उत्तरार्द्धमा रहेको र सभापति ताकिहाल्ने अवस्था नरहेकाले केसीले महामन्त्रीमा आँखा लगाएका हुन् । उनले भन्न सक्छन्, गगनको त समय छ, मेरो छैन ।

गगनको पाटोबाट हेर्दा पनि उनले गल्ती गरेको भन्न मिल्दैन । सिंगो देशको आशा बोकेको युवा नेताले पारिवारिक सम्वन्धका नाममा राजनीतिक करिअरमा सम्झौता गर्न सक्ने अवस्था थिएन । गगनलाई जति सक्दो चाँडो राजनीतिको खुड्किलो उक्लिनु छ । फेरि आफैंले १५ वर्षपछि राजनीतिबाट सन्यास लिने घोषणा गरिसकेका छन् ।

मतदातालाई कठिन

सभापतिमा तीन उम्मेदवार भए पनि मुख्य भिडन्त पौडेल र देउवाबीच हुने अपेक्षा गरिएको छ । कृष्ण सिटौला यी दुईको जीत हारमा निर्णायक बन्न खोज्दैछन् ।

तर, महामन्त्रीमा भने सिटौला प्यानलका गगन सर्वाधिक चर्चामा छन् । उनको मुख्य भिडन्त शशांकसँग हुने अनुमान गरिएको छ । तर, देउवा समूहका उम्मेदवार भएकाले त्यहाँको समेत मत पाएको अवस्थामा केसी पनि कमजोर प्रतिद्वन्द्वी होइनन् । यस्तो अवस्थामा अब मतदाताले गगन, शशांक र अर्जननरसिंह केसीको व्यक्तिगत क्षमता तौलनुपर्ने हुन्छ, जुन  कांग्रेस कार्यकर्ताहरुका लागि निकै कठिन निर्णय हुन सक्छ ।

महामन्त्रीका लागि यो त्रिपक्षीय भिडन्त जति रोचक छ, कसलाई मत दिने भन्ने निर्णय गर्न हरेक मतदातालाई कठिन पनि उत्तिकै छ । यदि फरक- फरक पदमा उम्मेदवारी भएको भए मतदाताको रोजाइमा केसी, थापा र कोइराला तीनैजना उम्मेदवार पर्न सक्थे होला । किनभने, लोकप्रियताका हिसाबले कांग्रेसमा यी तीनैजना नेताहरु आ-आफ्नो ठाउँबाट अब्बल मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment