Comments Add Comment

सञ्चारउद्यमी सिंघानिया हत्याका योजनाकार अझै फरार

Chandra-deep-Yadav-1

राजकमल सिंह

चैत १८, जनकपुर । सञ्चारउद्यमी अरुण सिंघानियाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका चन्द्रदीप यादवसहित पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

धनुषा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी धनुषा भरतपुर २ का ३६ वर्षीय चन्द्रदीप यादवलाई सार्वजनिक गरेको हो । प्रहरीले जनकपुरको वकिल टोलबाट बुधबार बिहान चन्द्रदीपलाई पक्राउ गरेको थियो ।

पत्रकार सम्मेलनमा मध्यमाञ्चल क्षेत्रका प्रहरी नायव महानिरीक्षक पशुपति उपाध्यायले हत्याको अनुसन्धान पुरा भइनसकेको र प्रमुख योजनाकार अझै फरार रहेको बताए । ‘सिंघानियाको हत्याबाट क-कसलाई फाइदा होला, आर्थिक पाटो समेत अनुसन्धानमा जोडिन जान्छ’ उनले भनेका छन् ।

Chandra-deep-Yadav

सिंघानिया हत्यामा कन्ट्रयाक्ट किलर प्रयोग भएको प्रहरीले बताएको छ । चन्द्रदीपको बयानको आधारमा अनुसन्धान अझै अगाडी बढ्ने र रामविनोद पक्रिएपछि हत्याको यथार्थ कारण आउने बताए ।

सिंघानिया हत्यामा चन्द्रदीपसँगै सदभावना पार्टीका केन्द्रीय सदस्य रामविनोद यादव पक्राउ नपर्दा अनुसन्धान ठप्प भएको थियो ।

चन्द्रदीपका भाइ रविन यादवसहित महिला साथी कल्याणी देवी यादव, सुन्देश्वर ठाकुर र रामसुन्दर यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु चारैजना चन्द्रदीपले सञ्चालन गरेको जनतान्त्रिक टाईगर जनशक्ति पार्टीको कार्यकर्ता हुन् ।

पत्रकार सम्मेलनमा मध्यमाञ्चल क्षेत्रका प्रहरी नायवमहानिरीक्षक पशुपति उपाध्यायले चन्द्रदीप पक्राउ पर्नुलाई सिंघानिया हत्याकाण्डको अनुसन्धानमा ठूलै सफलता बताए ।

तर, अनुसन्धान अझै बाँकी रहेको र प्रमुख अभियुक्त अझै फरार रहेको बताए । चन्द्रदीपलाई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजेन्द्र यादव हत्याका योजनाकार बताइएको छ ।

१७ फाल्गुन २०६६ होलीको दिन जनकपुरको शिवचौकमा हत्या गरिएका सञ्चारउद्यमी अरुण सिंघानियाको हत्याको ६ वर्ष बितिसक्दा अझै अनुसन्धानले पूर्णता पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment