Comments Add Comment

आजका पत्रपत्रिका : त्रिवि उपकुलपतिकै संरक्षणमा मेडिकल कलेजमा ठगी

७ चैत, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुको प्राथमिकतामा राजनीतिसँगै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा रहेका बेथितिहरु परेका छन् । त्यस्तै, पूर्वाधार निर्माणमा भइरहेको लापरबाही र स्थानीय तहको बढ्दो मनपरीतन्त्रमाथि पनि पत्रिकाहरुले नजर लगाएका छन् ।

प्रदेश २ सँग केन्द्र सरकारको पुनः खटपट सुरु भएकोलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ ।

कान्तिपुरका अनुसार, प्रदेश २ सरकारले केन्द्रीय योजनाका रुपमा सञ्चालित सागरनाथ वन परियोजना प्रदेश २ ले खोसेपछि केन्द्र सरकार रुष्ट बनेको छ । प्रदेश २ ले उक्त वन परियोजना आफू मातहत लैजाने निर्णय गरेपछि मतान्तर देखिएको हो ।

संविधानको अधिकार सूचीमा केन्द्रीय योजना संघ मातहत हुने उल्लेख छ । तर, प्रदेश २ ले अलग तर्क पेश गर्दै उक्त केन्द्रीय योजना आफू मातहत ल्याएको छ ।

शैक्षिक शुल्कका नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थी/अभिभावकलाई ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयकै उपकुलपति तीर्थराज खनियाँले संरक्षण दिने गरेको अर्को खबर पनि कान्तिपुरमा छ ।

कान्तिपुरका अनुसार, पटकपटक विद्यार्थी/अभिभावकले उजुरी गर्दा पनि ती कलेजविरुद्ध कारबाही गर्न उनले चासो देखाएका छैनन् । जसका कारण मेडिकल कलेजले विद्यार्थीबाट असुल्ने रकमको दर बढाउँदै लैजाने मौका पाएका छन् ।

विद्यार्थीको उजुरी र त्रिविकै अनुगमन निर्देशनालयले गरेको छानबिनमा अघिल्लो शैक्षिक सत्रमै मेडिकल कलेजले विद्यार्थीबाट लाखौं शुल्क उठाउँदै आएको पाइएको छ ।

फागु पूर्णिमाको उल्लास झल्काउने तस्वीर छापेको अन्नपूर्णले कांग्रेस महामन्त्री शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्मबारे जनमत संग्रह गर्नुपर्ने भनेर व्यक्त गरेको भनाइलाई अन्नपूर्णले स्थान दिएको छ । कर्मचारी रिझाउन स्थानीय तहले मनपरी तलब वृद्धि गरेको अर्को खबर पनि अन्नपूर्णमा छ । समाचार अनुसार मनपरी बढेपछि मन्त्रालयले बेरुजु देखाउने चेतावनी दिएको छ ।

मानव स्वास्थ्यमाथि खेलबाड गर्दै भइरहेको गुणस्तरहीन औषधिको बिक्री–वितरणसँग सम्बन्धित खबर राजधानीमा छ । राजधानीका अनुसार, भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम रुपमा छ्याप्छयाप्ती बिक्री हुने गरेका छन् । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको राजधानीको ठहर छ ।

रोहिंग्यालाई तेस्रो मुलुक पठाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेकोदेखि सांसद् शान्ता चौधरीले एसईई परीक्षा दिन लागेकोसम्मका खबर राजधानीको पहिलो पृष्ठमा छन् ।

नागरिकमा विप्लव समूहविरुद्ध प्रहरीले आक्रामक अपरेसन चलाएको खबर छ भने गोरखापत्रले जनताको जलविद्युत्त कार्यक्रम सुरु भएको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment