+
+
Shares

चोभार गल्छीमा भइरहेको विवाद के हो ? (फोटो/भिडिओ)

बागमती सभ्यता विकास समिति भन्छ- व्यवस्थित मात्रै बनाउन खोजेका हौं

कतिपय यसको पुरातात्विक महत्व सम्झाउँदै मास्न नहुने भनिरहेका छन् भने सरकारी निकाय प्रतिरक्षामा छन् । यद्यपि, यसलाई लिएर विभिन्न शंका-उपशंका आमजनमानसमा यथावत रहेको देखिन्छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असार १८ गते २२:०१

१८ असार, काठमाडौं । काठमाडौं उपत्यकाको एकमात्र प्राकृतिक निकास चोभार गल्छी यतिबेला चर्चामा छ । कारण, बागमती नदीसहित उपत्यकाका सबै खोला–नदीहरूलाई दक्षिण पठाउने यो खोँचमा रहेका पाँचवटा ठूला ढुंगा र अन्य गेग्रेन हटाउन लागिएको ।

सरकारले उक्त कामको जिम्मेवारी नेपाली सेनालाई दिइसकेको छ ।

तर, सरकारले गर्न लागेको यो कामप्रति स्थानीयहरू आक्रोशित भएका छन् । स्थानीयहरूका अनुसार, जग नै भत्काएपछि यहाँको पुरातात्विक महत्वलाई नै ध्वस्त पार्छ ।

गल्छीको प्रवेशद्धार नजिकै रहेका पाँच ठूला ढुंगा, नदीमा थुप्रिएका फोहोर र गेग्रान, कीर्तिपुर साइडमा गएको पहिरो, डाउनस्ट्रिमतिरको नदीको कटान जोखिमलाई मध्यनजर गर्दै उक्त काम गर्न लागिएको तर्क सरकारी पक्षको छ ।

शहरी विकास मन्त्रालय अन्तरगतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख प्रकाश अर्यालका अनुसार नदीको बीचमा रहेका केही ढुंगा झिक्ने तयारी गरिएको हो ।

यो विषयमा सांस्कृतिक अधिकारकर्मी लगायतले विरोध जनाउन थालेपछि पक्ष/विपक्षमा बहस भइरहेका छन् ।

कतिपय यसको पुरातात्विक महत्व सम्झाउँदै मास्न नहुने भनिरहेका छन् भनेसरकारी निकाय प्रतिरक्षामा छन् । यद्यपि, यसलाई लिएर विभिन्न शंका-उपशंका आमजनमानसमा यथावत रहेको देखिन्छ ।

यसरी विवाद हुनुको मुख्य कारण हो- यसको पुरातात्विक महत्व । दुई विशाल चट्टानहरूको बीचमा बनेको यो प्राकृतिक संरचना हजारौं वर्ष पुरानो हो ।

किम्वदन्तीलाई मान्ने हो भने, मञ्जुश्रीले यो गल्छी काटेर उपत्यकाको ताललाई बस्तीमा रुपान्तरण गर्न काटेकी थिइन् । त्यसपछि यहाँबाट पानी निकास हुन थालेसँगै काठमाडौं उपत्यकाको ताल बस्तीमा परिवर्तन भएको थियो ।

काठमाडौंलाई बस्नयोग्य बनाउन पनि गल्छीको ठूलो भूमिका रहेको चर्चा भइरहन्छ । चोभार गल्छी केवल भौगोलिक संरचना मात्र होइन, यो काठमाडौंको सांस्कृतिक, ऐतिहासिक, र भौगर्भिक सम्पदा पनि हो ।

त्यसैले पछिल्लो समय यो गल्छीलाई काटेर चौँडा बनाउने सरकारी योजना रहेको भन्दै हल्ला भएपछि विवादमा तानिएको हो ।

गत वर्ष असोज १० देखि १३ सम्म परेको अविरल वर्षाबाट काठमाडौंका बस्ती डुबेपछि यससम्बन्धित बहस सुरु भएको थियो । त्यतिबेला वर्षाले बागमती नदीमा पानीको सतह बढ्दा नख्खु, कुलेश्वर, बल्खु, र थापाथली क्षेत्र डुबानमा परे । यो डुबानको कारण चोभार गल्छी साँघुरो भएको भन्दै जेठ १४ मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले गल्छीमा अवरोध हटाउने निर्णय गरेको थियो ।

निर्णय थियो– ‘पुन: उक्त प्रकारको क्षति हुन नदिन नेपाली सेनाबाट सहयोग लिई चोभार गल्छीमा रहेको अवरोध हटाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिने ।’

यो निर्णयमा नेपाली सेनाको सहयोगमा अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिने उल्लेख थियो, जुन मनसुनपूर्व तयारीको कार्ययोजनामा पनि समेटियो ।

तर, ‘अवरोध हटाउने’ भन्नाले गल्छी नै काट्ने कि अरू केही हो भन्ने स्पष्ट नहुँदा स्थानीयमा आशंका बढ्यो । यसले आन्दोलनकै अवस्था सिर्जना गर्‍यो । यही कुरा अस्पष्ट हुँदा सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको हो ।

बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख प्रकाश अर्यालका अनुसार अहिले सञ्जालदेखि स्थानीयस्तरमा चर्चामा ल्याइएका कुरा भ्रम हुन् ।

गल्छी भत्काउने उद्देश्यले नभई जोखिम व्यवस्थापन गर्न यो काम गर्ने तयारी अघि बढेको उनी बताउँछन् । ‘हामीले प्राविधिक अध्ययनमार्फत चारवटा मुख्य विषय देख्यौं,’ आर्यालले भने, ‘त्यसै अनुसार काम थालिएको हो ।’

त्यस्तै, नदीका गेग्रानले पनि बाढीको समयमा जोखिम बढाउन सक्छन् । कीर्तिपुर साइडमा गएको पहिरोका कारण नदी किनार कटान हुनसक्ने भएकाले तारजाली जडान गरेर संरक्षण गर्ने योजना बनाइएको छ ।

डाउन स्ट्रिमतिरको नदी कटानको जोखिमले त्यो क्षेत्रमा पनि आवश्यक संरक्षण गर्ने योजनामा रहेको उनले जानकारी दिए ।

आर्यालका अनुसार यो काम स्थानीय सरकारको सिफारिस र २०७९ सालको बाढीपछि उठेका चिन्तालाई मध्यनजर गर्दै गरिएको हो ।

‘त्यहाँको १८ नम्बर वडामा बालुवा थुपारेर जमिनमाथि उठाइएको, डुबानको समस्या बढेको, अनि ढल निकासको सुधार गरिनुपर्छ भन्ने स्थानीयको माग थियो,’ उनले भने, ‘त्यस्तै, कीर्तिपुर नगरपालिका–६ को सिफारिसपछि पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरणमार्फत निर्णय भएको र आवश्यक परे नेपाली सेनाको सहयोगमा काम अगाडि बढाउने योजना बनाइएको हो । तर, यसलाई भ्रम फैलाउने काम भए । गल्छी नै फोर्न लाग्यो भने, जुन सत्य होइन । त्यहाँ पछिल्लो समय उत्पन्न जोखिम (माथि उल्लेखित) हटाउने भनिएको हो ।’

तस्वीर/भिडिओ : विकास श्रेष्ठ/अनलाइनखबर

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?